Shikhar Insurance
National Life

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी, अधिकांश मुलुक मूल्यवृद्धिको मारमा

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १८:०७
Hyundai
NCELL
NIMB

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन् । शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो असर परेको बताएका छन् । फिनल्याण्डमै जन्मिएर विभिन्न स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका २९ वर्षीय अरुण शर्माले फिनल्याण्डका नागरिकसहित नेपाली पनि मूल्यवृद्धिको मारमा परेको बताए ।

सामाजिक सुरक्षा राम्रो भए पनि झण्डै दोब्बर भएको मूल्यवृद्धिले हरेकलाई दुःख दिएको छ । शर्माको परिवार विगत ४० वर्षदेखि फिनल्याण्डमै छ । युएनडिपीको ‘वल्र्ड ह्याप्पीनेस इन्डेक्स’का अनुसार फिनिस नागरिक विश्वका अन्य देशका नागरिकभन्दा खुसी छन् । तर युद्धकै कारण अवस्था फेरिँदै गएको छ । जग्गा र घर खरिद गर्नेभन्दा आर्जन गरेको रकम रेस्टुरेन्ट तथा होटलमा गएर खर्च गर्ने, विभिन्न खेलमा रमाउने संस्कार भएका फिनिस नागरिकको दैनिकीमा परिवर्तन आएको छ । उनीहरुले खर्च कम गर्न थालेका छन् । घुम्ने र रमाउने बानी परेका फिनिस नागरिक बचतमा लागेका छन् । युद्धका नकारात्मक समाचार आउन थालेपछि झन् उनीहरु पहिलेजस्तो रमाउन पनि छाडेका छन् । युद्धका कारण सामाजिक एवं आर्थिक समस्या निम्तिएकाले उनीहरुको संस्कारमा समेत परिवर्तन आउन थालेको देखिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हेल्सिन्कीको ‘डाउन टाउन’स्थित माउन्ट एभरेष्टमा काम गर्दै आएका शर्माले भने, “यहाँका नागरिकले पनि पैसा खर्च गर्न छोडे, बचतमा लागेका छन् । उनका अनुसार दैनिक उपभोग्य वस्तुमा उच्च मूल्यवृद्धि भएका कारण उनीहरु खर्च कटौती गर्दैछन् । सोही कारण फिनिस अर्थतन्त्रमा नै समस्या देखिन थालेको पाइएको छ ।

यहाँको आन्तरिक र बाह्य व्यापारका धेरै असर देखिएको छ । पेट्रोलियम पदार्थको मूल्य दोब्बर भएको छ । ग्यास बिक्री गर्ने कम्पनीले पहिले रुसबाट ग्यास ल्याएर बिक्री गर्दै आएकामा अहिले त्यहाँबाट ग्यास नआएपछि अन्य क्षेत्रबाट आएको ग्यास महङ्गो मूल्यमा बिक्री गरिहेका छन् ।

हेल्सिन्कीको वर्तमान वास्ताविक तथ्य प्रस्तुत गर्दै अरुण शर्माले भने, यही २०२२ फेब्रेवरी २४ देखि मूल्यवृद्धि उच्च भएको छ । यस अवधिमा यहाँ नौ दशमलब ५ प्रतिशतको मूल्यवृद्धि छ । त्यसैगरी पर्यटक आउने सङ्ख्या ह्वात्तै घटेको छ । विगत सात वर्षदेखि हेल्सिन्की बस्दै आएका सागर खरेलले धेरै खर्च गर्ने रुसी पर्यटक फिनल्याण्ड आउन छोडेको बताए ।

महँगीले फिनल्याण्डका सबै क्षेत्रलाई असर गरेको उल्लेख गर्दै उनले भने, दैनिक उपभोग्य वस्तु महँगो भएको छ । तलब बढेको छैन । पहिले थोरै पैसाले धेरै पाइन्थ्यो भने अहिले त्यस्तो छैन । खरेलका अनुसार यहाँको पैसा सस्तो हुँदै गएको छ । युरो र डलर लगभग एउटै छ । पहिला त्यस्तो थिएन ।

विगत १० वर्षदेखि हेल्सिन्की बस्दै आएका मुरारी भण्डारीका अनुसार फिनल्याण्ड र रसियाबीचमा जनस्तरको सम्बन्ध छ । त्यसैले युरोपका अन्य मुलुकभन्दा फिनल्याण्डमा धेरै असर परेको छ । उनले भने, “फिनल्याण्ड र रसियाको सम्बन्ध भनेको नेपाल र भारतको जस्तै हो । सबै क्षेत्रमा असर परेको छ । रसियाबाट पर्यटक आउने गर्थे तर अहिले त्यस्तो छैन ।”

त्यसैगरी फिनल्याण्ड विगत ४० वर्षदेखि बस्दै आएका भक्तिराम भण्डारीले पनि मूल्यवृद्धिका कारण देशमा असर परेको बताए । उनले भने, “दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ । पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ । एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो । यहाँका लागि यो अत्यधिक हो ।”

यहाँका नागरिकले मात्र होइन सरकारले पनि मूल्यवृद्धिको सकस भोग्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तरराष्ट्रिय व्यापार मन्त्री झिल्ले स्किन्नरी बीच मङ्गलबार यहाँ भएको भेटवार्ताका क्रममा पनि मूल्यवृद्धिको विषय प्रवेश पाएको थियो । स्किन्नरीले युक्रेन र रुस युद्धका कारण फिनल्याण्डले खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य उच्च भएर र त्यसले यहाँको सामाजिक एवं आर्थिक समस्या निम्त्याएको बताए ।

फिनिस नेपाली समाजका सचिव नवीन भट्टराईका अनुसार फिनल्याण्डमा ५ हजारभन्दा बढी नेपाली बस्दै आएका छन् । सबैभन्दा बढी हेल्सिन्कीमा छन् । यहाँका नेपालीलाई बेरोजगार बस्न त परेको छैन तर पछिल्लो समय मूल्यवृद्धिको समस्याले भने सताएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्