Shikhar Insurance
National Life

सहज र सर्वसुलभ हुँदै विद्युतीय भुक्तानी कारोबार

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १६:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय कारोबारमा वृद्धि भएको हो ।

सो आवमा विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआरमार्फत भुक्तानीलगायतको प्रयोगका साथै कारोबार रकमसमेत बढेको छ । सार्वजनिक तथ्याङ्कानुसार गत आवमा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित भुक्तानीको प्रयोग उच्च दरले बढेको देखिन्छ । अघिल्लो आवका तुलनामा गत आवमा क्यूआर कोडको प्रयोग गरी कारोबार सङ्ख्या चार सय प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो आवमा क्यूआर कोडको प्रयोग गरी ४२ लाख ८१ हजार ९ सय ९४ पटकमा १४ अर्ब ५२ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । जसमा अघिल्लो आवको समीक्षा अवधिमा यसको प्रयोग ८ लाख ५५ हजार ५ सय ६६ पटकमा ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबर मात्रै भएको थियो ।

त्यस्तै गत आवमा प्रिपेड कार्डका माध्यमबाट ५७ हजार ९ सय ४२ पटकमा ४५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा २ सय ३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो कार्डको प्रयोगबाट १७ हजार दुई सय ३१ पटकमा ७ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो ।

उपलब्ध विवरणअनुसार प्वाइन्ट अफ सेलको प्रयोग ८४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अघिल्लो आवमा ६ लाख ३५ हजार ५ सय ९९ पटकमा २ अर्ब ६६ करोड ५० लाख रुपैयाँको कारोबार भएकामा गत आवमा ११ लाख ७३ हजार ५ सय ४८ पटकमा ५ अर्ब १८ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै कारोबारमा क्रेडिट कार्डको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ८३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ लाख २४ हजार २ सय ४३ पटकमा ८५ करोड ९० लाख रुपैयाँको कारोबार भएकामा गत आवमा २ लाख २७ हजार ९ सय २० पटकमा १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।

मोबाइल बैंङ्किङमार्फतको कारोबार सङ्ख्या ५० प्रतिशतले वृद्धि

केन्द्रिय बैंकको पछिल्लो विवरणानुसार मोबाइल बैंकिङको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ५० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ करोड ३७ लाख ९ सय ९३ पटकमा ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएकामा गत आवमा २ करोड ५ लाख ६४ हजार ३ सय ८ पटक मोबाइल बैङ्किङको प्रयोग गरी १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै डेबिट कार्डका माध्यमबाट गत आवमा १ करोड ११ लाख २७ हजार ६ सय ८३ पटकमा ८३ अर्ब २० करोड रुपैयाँको कारोबार भएको देखिन्छ । अघिल्लो आवमा यसको प्रयोग ७४ लाख ६५ हजार ४ सय ३९ पटकमा ६६ अर्ब ४१ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो, जुन प्रयोगका आधारमा अघिल्लो आवको भन्दा ४९ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकका अनुसार एटिएमको प्रयोग गत आवमा अघिल्लो आवका तुलनामा ४६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एटिएमको ६९ लाख १९ हजार एक सय ९९ पटक प्रयोग भई ६४ अर्ब ३८ करोड ९० लाख रुपैयाँ कारोबार भएकोमा गत आवमा १ करोड १ लाख ६९ हजार ३ सय ३१ पटकमा ७९ अर्ब ४५ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै समीक्षा अवधिमा कनेक्ट आइपिएस्को प्रयोग ३३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३२ लाख ४ हजार ८ सय ४५ पटक कनेक्ट आइपिएस्प्रयोग गरी २ खर्ब ३७ अर्ब ७५ करोड २० लाख रुपैयाँको कारोबार भएकोमा गत आवको समीक्षा अवधिमा ४२ लाख ७० हजार ९९ पटकमा ३ खर्ब ६९ अर्ब २२ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

यसैगरी रियल टाइम ग्रु सेटलमेन्ट (आरजीटीएस) प्रणालीमार्फत भएको भुक्तानीको सङ्ख्या ३७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५९ हजार ६ सय ५५ पटक यसको प्रयोग भएको थियो भने गत आवमा यस्तो प्रणाली ८१ हजार ८ सय १७ पटक प्रयोग भई ४३ खर्ब ४९ अर्ब ५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको विवरण सार्वजनिक भएको छ ।

त्यस्तै अघिल्लो आवका आधारमा यस आवमा ई –कमर्स ३२ प्रतिशतले, वालेट २९ प्रतिशतले, ब्रान्चलेस बैंङ्किङ १६ प्रतिशतले, आइपिएस १३ प्रतिशतले र इसिसिको ३ प्रतिशतले प्रयोग बढेको विवरण सार्वजनिक भएको छ । वालेटमार्फत गत आवमा १ करोड ६२ लाख ६ हजार ३ सय ६५ पटकमा १७ अर्ब ७५ करोड २० लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।

त्यस्तै गत आवमा शाखा रहित बैंकिङ अन्तर्गत ६९ हजार ४ सय ६५ पटकमा १ अर्ब ५० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । विवरणअनुसार गत आवमा आइपिएस माध्यमबाट १३ लाख २२ हजार १ सय ७४ पटकमा २ खर्ब ७५ अर्ब ७५ करोड २० लाख रुपैयाँ, इसिसि माध्यमबाट १४ लाख ८६ हजार ५ सय ५१ पटकमा ८ खर्ब ५० अर्ब ६४ करोड ९० लाख रुपैयाँको कारोबार देखिन्छ ।

इन्टरनेट बैंकिङ्को प्रयोगदर घट्यो तर कारोबार रकम भने बढ्यो

सार्वजनिक विवरणानुसार अघिल्लो आवका आधारमा गत आवमा इन्टरनेट बैंकिङका माध्यमबाट भुक्तानी भएको सङ्ख्यमा कमी आएको देखिएको छ । अघिल्लो आवमा ३ लाख २९ हजार ५ सय २३ पटक इन्टरनेट बैंकिङको प्रयोग भएकामा गत आवमा ३ लाख १८ हजार ५ सय ९८ पटक यसको प्रयोग भएको छ ।

यता कारोबार रकमका आधारमा भने यसको प्रयोग १३ प्रतिशले बढेको छ । अघिल्लो आवमा यस्तो प्रणाली बाट १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकामा गत आवमा १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबरको भुत्तानी भएको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार अघिल्लो आवका आधारमा गत आवमा क्यूआरकोडमा आधारित भुक्तनीको प्रयोग उच्च दरले बढेको देखिन्छ ।

वित्तीय साक्षारता र प्रविधिको पहुँचमा भएको वृद्धिले विद्युतीय भुक्तानीमा सर्वसाधारणको सहभागिता बढेको जानकार बताउँछन् । विद्युती भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण मुलुकमा विद्युतीय भुक्तानी कारोबार उल्लेख्य बढेको केन्द्रीय बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्