बलेवा । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पुर्याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा एक घर एक धारा’कार्यक्रम अगाडि बढाइएको छ । ७ सय घरधुरी रहेको वडामा झण्डै ५ सय घरमा एक घर एक धारा’ सञ्चालनमा आइसकेको गाउँपालिकाले जनाएको छ । साविक दगातुम्डाँडा गाविस वडा नं ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा खानेपानी योजना सम्पन्न भएको छ ।
साविकका वडा नं ६ र ७ मा पनि पानी पुर्याउने काम अन्तिम चरण पुगेको छ । बडिगाड गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)सँगको सहकार्यमा घर घरमा पानी पुर्याउने अभियान चलिरहेको हो । नेवाले ८ र ९ मा काम सम्पन्न गरिसकेको छ भने वडा नं ६ को हाँडीखोलामा यसै महिनादेखि काम सुरु गरेको छ । साविकको ६ र ७ मा गण्डकी प्रदेशको बहुवर्षे कार्यक्रम अन्र्तरगत खानेपानी आयोजना सञ्चालनमा छ ।
जिमस्सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी अयोजनाको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । हाँडीखोला खानेपानी अयोजनामा कामको सुरुआत भएको छ ।
निर्माण सम्पन्न भएका उक्त आयोजनाको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरेपछि पानी वितरण सुरु भएको छ । जिमी सक्न्यार खानेपानी आयोजनाबाट ३ विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी अयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी अयोजनाबाट ६० धारा निर्माण गरी साविक वडा नं ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको नेवाका सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिए ।
उनका अनुसार जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयवासीको तीन लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरी कूल १ करोड २४ लाख ३८ हजार ४१२ मा सम्पन्न भएको हो । बडिगाड वडा नं १ बेतनीमा खानेपानी मुहान रहेको सो आयोजनामा १२ वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छ,भने २६ हजार ९११ मिटरमा खाने पानि पाइप विछ्याइएको छ ।
यस्तै, नेवाको २९ लाख ३४ हजार ५७३ बडिगाड गाउँपालिकाको ५ लाख ८३ हजार ७२९, स्थानीयवासीको एक लाख ५६ हजार ६०० र जनश्रमदान १३ लाख ६ हजार २६० गरी कूल ३८ लाख ११ हजार १६२ लागतमा लफरे सिरसिरे खानेपानी आयोजना समेत सम्पन्न भएको छ । लफरे सिरसिरे खानेपानी अयोजनाको मुहान वडा नं १ को सिरसिरेमा रहेको छ,भने चारवटा ट्याङ्की निर्माण गरी ५९ धारामा खानेपानी पुर्याइएको छ ।
त्यस्तै, १५ लाख ९९ हजार २ सय २२ नेवा, बडिगाडको ५ लाख, समुदायको २ लाख ३६ हजार र जनश्रमदान ४ लाख ९१ हजार ७०५ गरी कूल २८ लाख २६ हजार ९२७ को लागतमा राक्से बडहरे खानेपानी आयोजना सम्पन्न भएको छ । बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाको लागि चारवटा ट्याङ्की निर्माण गरिएको छ । जसबाट ६० धारामा खानेपानी पुगेको छ । राक्से बडहरे खानेपानी आयोजनाको लागि सात हजार ५६० मिटर लामो पाइपलाईन निर्माण गरिएको छ ।
साविक दगातुम्डाँडा गाविस– ६ र ७ का चार सय घरधुरी लाभान्वित हुने गरी प्रदेश सरकारमार्फत खर्वाङ दनियाँ लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको समितिका अध्यक्ष डिप्लोमा खरेलले बताए ।
सबै काम सकिएको र सिओडी मेसिन जडानपछि पानी वितरण गरिने छ । तर, उक्त लिफ्टिङ अयोजनाले साविकको वडा नं ६ हाँडिखोलालाई समेटेको छैन । जसको लागि नेवाले हाँडिखोलामा खोपानी अयोजना निर्माण गर्न पहिलो चरणको सबैको काम सकिसकेको छ । बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बडिगाड– २ मा खानेपानी आयोजना सम्पन्न भए पनि यसले पालिकाको ‘एक घर एक धारा’ कार्यक्रमलाई सफल बनाउने काम गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्