काठमाडौं । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई समावेश गरेको आरोपबाट क्लिन चिट पाएसँगै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । श्रोतका अनुसार जनार्दन शर्मालाई पुनः मन्त्री बनाउन प्रधानमन्त्री देउवादेखि सत्ता गठबन्धनका सबै नेताहरु सहमत छन् ।
शर्मालाई मन्त्रीमा पुनः नदोहोर्याउँदा उनी दोषी थिए भन्ने सन्देश जाने र त्यसले गठबन्धनलाई निर्वाचनमा नोक्सानी पुग्ने निष्कर्षमा शिर्ष नेताहरु पुगेका छन् । प्रधानमन्त्री देउवाले पनि शर्मालाई दोहोर्याएर आफु नेतृत्वको सरकारमाथि लागेको आरोपको ठाडो खण्डन गर्ने सोँच बनाएका छन् ।
शर्मालाई आगामी साताभित्रै अर्थमन्त्रीका रुपमा पुनः सपथ ग्रहण गराउने तयारी छ । माओवादी केन्द्रभित्र जनार्दन शर्माका राजनीतिक प्रतिष्पर्धी ठानिएका बर्षमान पुनले समेत शर्माले चाहेमा उनी पुनः अर्थमन्त्री बन्न सक्ने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् ।
त्यसो त शर्माको विकल्पमा माओवादीको स्थायी कमिटी सदस्य शक्ति बस्नेतलाई अर्थमन्त्री बनाउन सकिनेबारे पनि छलफल भएको छ । अर्कातिर देव गुरुङ वा नारायणकाजी श्रेष्ठका नाममा पनि छलफल भएको छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शर्माको विकल्पमा दिनुपर्ने भएमा बस्नेतकै नाम अघि सार्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्