काठमाडौं । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार पूर्णत सुरक्षित रहेको दावी गरेका छन् । केबलकार बिचमै रोकिएर यात्रुहरु आत्तिएको र केबलकार नै असुरक्षित रहेको सन्देश फैलिएपछि कम्पनीका अध्यक्ष ढकालले शुक्रबार चन्द्रागिरीको टप स्टेशनमा पत्रकार सम्मेलन नै गरेर कुनै असुरक्षा नरहेको बताएका हुन् ।
“यो केबलकारको प्रविधि अर्थात् उत्पादक अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो । यो विश्वकै सबैभन्दा सुरक्षित कम्पनी हो र हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ । यो प्राविधिक विषय हो र पूरैरुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प छन् । त्यस्तै सङ्कट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन ।”
गोण्डोलामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला’ देखाउँदै ढकालले भने, “यो प्रविधि हो, पूरै सुरक्षित छ, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन ।” हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकियो तर त्यहाँ समाचार भएन भन्दै उनले यो एक नियमित प्रक्रिया नै हो तर हामीकहाँ समाचार नै बन्नु विडम्बना भएको बताए ।
चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्काले भने, “मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहन्छ, यसमा यात्रु आत्तिनु पर्दैन, तत्काल नभए केही समयमा समस्या समाधान गरेर केबलकार सञ्चालन गरिन्छ ।”
केही दिनअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेका बेला केबलकार रोकिएको समाचार आएको थियो । त्यस बखत केहीबेर केबलकार रोकिएपछि गोण्डोलामा मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो । उनले हरेक डिब्बामा झ्याल रहेकाले नियमित अक्सिजन आपूर्ति भइरहेको बताए । फेरि केबलकारका माथिल्लो बटम स्टेसन नै दुई हजार तीन सयमात्र उचाइमा रहेकाले त्यहाँ अक्सिजनको कमी हुने अवस्था पनि नरहेको प्राविधिकको भनाइ थियो ।
विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो । यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगलत अध्ययन गराई, केबलकारमार्फत टप स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो ।
अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराए । “पहिलो विद्युत्बाट सञ्चालन हुन्छ, विद्युत् गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमरजेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत जति पनि यात्रु गोण्डोलामा हुनुहुन्छ, उहाँहरुलाई सकुसल अवतरण गराउने समयसम्ममा नै काम गर्छ ।”
उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्करुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिकरुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको जानकारी दिए ।
केबलकारका इलेक्ट्रिोनिक इञ्जिनीयर सरोज चापागाईं केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरे । उनले भने, “यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिकरुपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षितरुपमा सञ्चालनमा आउँछ ।”
“हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ, र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ । यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत मानिसलाई अवतरण गराउँछौँ, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौँ र माथिका यात्रुलाई माथि रिसोर्टमा पनि लैजान्छौँ”, उनले थपे ।
केबलकारका संस्थापक सञ्चालक अम्बिकाप्रसाद पौडेलले पनि केबलकारमा सुरक्षा सम्बन्धी कुनै जोखिम नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्