काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले पनि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा ईयु फर्मा टेक्निकल सपोर्टमा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९ चितवनमा रहेको छ ।
कम्पनीले युरोपियन जीएमपी मापदण्ड अनुसार औषधी उत्पादन गर्दै आईरहेको छ । कम्पनीले नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त गरिसकेको छ ।
कम्पनीले औषधी उत्पादक तर्फ आईपीओ जारी गर्ने पहिलो कम्पनीका रुपमा आफुलाई अघि सारेको हो । कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सर्वसाधारणलाई आईपीओ जारी गरेपछि कम्पनी थप शसक्त भएर अघि आउने बताए ।
आईपीओ जारी गर्ने सम्बन्धी समझदारी पत्रमा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्