काठमाडाैं । ग्वार्खाे ‘फ्लाई ओभर’ को काम आगामी भदौदेखि सुरुआत गरिने भएको छ । सरकारको लगानीमा पहिलोपटक सो ‘फ्लाई ओभर’बनाउन लागिएको हो । वैदेशिक लगानीमा यसअघि नागढुङ्गा सुरुङमार्ग आयोजनाअन्तर्गत ‘फ्लाई ओभर’ को निर्माण अघि बढाइएको थियो ।
गत आवमा नै ठेक्का भइसकेको निर्माण कम्पनी आफैँले ‘डिजाइन’ गरेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । निर्माण कम्पनीले तयार गरेको ‘डिजाइन’ प्रतिक्रियाका लागि सरकारलाई पेश गरिएको केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) सौरभ बज्राचार्यले बताए ।
सरकारले दिएको सुझाव समेटेर पुनः डिजाइन आउने र यसपछि निर्माणमा जाने भएको छ । डिजाइन स्वीकृत भएपछि निर्माणमा जाने र त्यसको डेढ वर्षमा सम्पन्न गरिने उनले बताए । यसको अवधि दुई वर्ष रहेकामा चार महिना सकिएर २० महिना बाँकी छ ।
उनले भने, “तयारीका लागि अहिलेसम्म समय तालिकाभन्दा ढिला छैन ।” डिजाइन आएपछि केन्द्रले २१ दिनभित्रमा डिजाइन स्वीकार गर्नुपर्ने उनले बताए । विभागीय प्रक्रिया पूरा गरेर केन्द्रले साउनको अन्तिमसम्ममा स्वीकृति दिनेछ ।
उनले भने, “भदौबाट नै कम्पनीले भौतिक काम सुरु गर्न सक्नेछ ।” ‘फ्लाई ओभर’ लम्बाइ, चौडाइ, उचाइलगायतका विषयमा यसअघि नै केन्द्रले खाका बनाएको छ । सामान्यतया ती कुरा परिवर्तन नभएरभित्रको केही कुराजस्तै डन्डी कति हाल्ने, कङ्क्रिट कति हाल्ने भन्ने कुरा डिजाइनमा उल्लेख हुने छ ।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाई ओभर’ निर्माण गर्ने उल्लेख गरेको छ । तीन वटै ‘फ्लाई ओभर’ का लािग रु एक अर्ब ३४ करोड चाहिन्छ । अर्थ मन्त्रालयबाट त्यो रकमका लागि सहमति आएपछि ठेक्का प्रक्रियामा जान सकिने उनले बताए ।
चालु आवको बजेटमा तीनै वटाका लागि रु २५ करोड छुट्टाइएको छ । साउन अन्तिमसम्ममा बहुवर्षीय ठेक्का लागि सहमति आएपछि ठेक्कामा जान सकिने सिडिई बज्राचार्यले बताउनुभयो । सरकार आफैँले इपिसि (इञ्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्