Shikhar Insurance
National Life

४/१२ नीति कार्यान्वयन गर्दै बैंकले फिर्ता लिए साढे १८ अर्ब बढी सेयर धितो कर्जा

सिंहदरबार संवाददाता
२०७९ असार ३१, शुक्रबार ०९:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले साढे १८ अर्ब रुपैयाँ बढी सेयर धितो कर्जा फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् सेयर कर्जामा ४/१२ को व्यवस्था गरेसँगै सीमाभन्दा माथि गएको कर्जा बैंकहरुले फिर्ता लिएका हुन् ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिएका थिए । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म यस्तो कर्जा १८ अर्ब ६९ करोड २८ लाख रुपैयाँले घटेर ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँमा सिमित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले साउन महिना देखि लागू हुने गरी सेयर धितो कर्जामा ४/१२ करोड नीति लागू गरेको छ । सो यता सेयर धितो राखेर कुनै एक बैंकबाट ४ करोड रुपैयाँ र सम्पुर्ण बैंकिङबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन मिल्छ । भने, सोअघिसम्म तोकिएको सीमाभन्दा बढी सेयर धितोमा कर्जा लिएका ऋणीलाई २०७९ असार मसान्तसम्म फिर्ता गर्न राष्ट्र बैंकले समय दिएको थियो ।

उक्त समय सकिन अब केही दिनमात्रै बाँकी छ । बैंक तथा वित्तीय संस्थाहरुले सीमाभन्दा माथि कर्जा लिने ऋणीहरुसँग धमाधम सेयर धितो कर्जा फिर्ता लिइरहेका हुन् । तर तोकिएका सीमा भित्रै रहेर केही बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो थप प्रवाह समेत गरिरहेका छन् ।

चालु आवको ११ महिनामा वाणिज्य बैंकहरुले मात्र १९ अर्ब २० करोड ७४ लाख रुपैयाँ सेयर धितोमा दिएको कर्जा फिर्ता लिएका छन् । जसमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले र सबैभन्दा थोरै सेञ्चुरी बैंकले फिर्ता लिएको छ । सो अवधिमा एनआइसी एसिया बैंकले ३ अर्ब २ करोड ७९ लाख रुपैयाँ सेयर धितो कर्जा फिर्ता लिँदा सेञ्चुरी बैंकले २४ करोड ९३ लाख रुपैयाँ फिर्ता लिएको हो ।

सो अवधिमा ६ वटा वाणिज्य बैंकहरुले भने सेयर धितो कर्जा थप गरेका छन् । जसमा कृषि विकास बैंकले ८५ करोड, नबिल बैंकले ६३ करोड माछापुच्छ्रे बैंकले ५१ करोड बैंक अफ काठमाण्डूले ४० करोड, नेपाल एसबीआइले ३ करोड ६६ लाख र सनराइज बैंकले ३ करोड २० लाख रुपैयाँ थप सेयर धितो कर्जा दिएका हुन् ।

जेठ मसान्तसम्म सबैभन्दा बढी सेयर धितो कर्जा नबिल बैंकको र सबैभन्दा थोरै नेपाल एसबीआइ बैंकको रहेको छ । गत असार मसान्तसम्म यस्तो कर्जा सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंकको थियो । बैंकले यसअवधिमा १ अर्ब ३१ करोड रुपैयाँले सेयर धितो कर्जा घटाइ सकेको छ ।

यसैगरी, विकास बैंकहरुतर्फ ११ महिनाको अवधिमा ६५ करोड रुपैयाँले सेयर धितो कर्जा घटेको छ । गत असार मसान्तसम्म विकास बैंकहरुले १२ अर्ब ५२ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । जसलाई घटाएर २०७९ जेठ मसान्तसम्म ११ अर्ब ८७ करोड रुपैयाँ कायम गरेका हुन् ।

यस्तो कर्जा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले फिर्ता लिएको हो भने सबैभन्दा थोरै कामना सेवा विकास बैंकले लिएको हो । सेयर धितोमा कर्जा प्रवाह गर्ने विकास बैंकहरुमध्ये ७ वटा बैंकले सो अवधिमा यस्तो कर्जा थप गरेका छन् । जसमध्ये सिन्धुले १० करोड, लुम्बिनीले ९ करोड ५६ लाख, साइन रेसुङ्गाले ६ करोड ७९ लाख, सांग्रिलाले १ करोड १४ लाख, नारायणीले ३१ लाख, ग्रिन डेभलपमेन्टले १९ लाख र शप्तकोशी विकास बैंकले १९ लाख रुपैयाँ सेयर धितो कर्जा थप गरेका हुन् ।

वित्त कम्पनीहरु तर्फ भने गुह्वेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स र श्री फाइनान्स बाहेक सबैले सेयर धितो कर्जा थप गरेका छन् । वित्त कम्पनीहरुले गत असार मसान्तसम्म २ अर्ब ८३ करोड २६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए ।

जसमा ११ महिनाको अवधिमा १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ थप गरी ३ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुर्याएका छन् । सो अवधिमा गुह्वेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले ६९ लाख रुपैयाँ र श्री फाइनान्स ३ करोड २८ लाख रुपैयाँ सेयर धितो कर्जा फिर्ता लिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्