काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २९ वटा सूचीकृत कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेप्से मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको हो ।
जसमध्ये ६ वटा वाणिज्य बैंक, १ वटा फाइनान्स कम्पनी, ५ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ८ वटा निर्जीवन बीमा कम्पनी र २ वटा हाइड्रो पावर कम्पनीहरु छन् । मर्जर तथा प्राप्तिको प्रकृयामा रहेकै कारणले यी कम्पनीहरुको सेयर कारोबार २०७७ साल असोजदेखि नेप्सेले रोक्का गरिरहेको छ ।
कारोबार रोक्का हुने वाणिज्य बैंकमा सिभिल, बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई, मेगा, नेपाल इन्भेष्टमेण्ट र नेपाल बंगलादेश बैंक छन् । नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गरी एकिकृत कारोबार समेत शुरु गरिसकेको छ । तर, नेप्सेमा सेयर फुकुवाको लागि पत्रचार नगरेको हुँदा हालसम्म बैंकको सेयर कारोबार रोक्का भएको हो ।
यस्तै, क्यापिटल मर्चेण्ट एण्ड बैंकिङ प्राप्तिको प्रक्रियामा रहेकै कारणले गत भदौ २० गतेदेखि नेप्सेले सेयर कारोबार रोक्का गरेको छ ।
मर्जर तथा प्राप्तिको सम्झौता गरी समयमै प्रक्रिया पुरा नगर्दा ५ वटा लघुवित्त संस्थाको सेयर कारोबार विगत २ वर्षदेखि रोक्का भएको छ । नाडेप लघुवित्त, घोडीघोडा लघुवित्त र समाज लघुवित्तको २०७७ असोजयता सेयर कारोबार रोक्का छ । साथै, चालु आवमै मर्जर तथा प्राप्तिको सम्झौता गरी प्रक्रियामा रहेका सीवाइसी लघुवित्त र आँधीखोला लघुवित्तको सेयर कारोबार रोक्का छ ।
पछिल्लो समय बीमा समितिले पुँजी वृद्धिको नीति ल्याएपछि तोकिएको पुँजी पुर्याउन बीमा कम्पनीहरु पनि धमाधम मर्जर तथा प्राप्ति भइरहेका छन् । मर्जर तथा प्राप्तिकै कारणले हालसम्म नेप्सेले १५ वटा बीमा कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । जसमध्ये ७ वटा जीवन र ८ वटा निर्जीवन बीमा कम्पनीहरु हुन् ।
जीवन बीमा कम्पनीहरुमा सानिमा, रिलायन्स, ज्योति, सुर्या, गुराँस, प्राइम र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ । निर्जीवन बीमा कम्पनीहरुतर्फ सगरमाथा, लुम्बिनी, सानिमा जनरल, जनरल (जिआइसी), सिद्धार्थ, प्रिमियर, एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का छ ।
यस्तै, रिद्धि हाइड्रो पावर र रैराङ हाइड्रो पावरको पनि मर्जरका कारणले नेप्सेले गत कात्तिक २२ गतेदेखि सेयर कारोबार रोक्का गरेको छ ।
प्रतिक्रिया दिनुहोस्