Shikhar Insurance
National Life

सूचनाको हक र सकारात्मक सोचसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ असार १८, शनिबार १८:५१
Hyundai
NCELL
NIMB

भक्तपुर । ‘सूचनाको हक र सकारात्मक सोच’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भक्तपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा सञ्चारकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारी समेत गरी करिब ७० जना सहभागी भएका थिए । कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने उल्लेख गर्दै त्यसलाई अध्ययन गर्ने र सकारात्मक रुपले ग्रहण गर्नसक्ने अवस्थामा मात्रै यसको वास्तविक रुपमा यसको उपलब्धि देखिने बताए । सूचनाको हक लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै पोखरेलले २०४७ सालको प्रजातन्त्रको मुख्य कमजोरी सूचनाको हकको प्रत्याभूति गर्न नसक्नु रहेको बताए ।

२०६२/६३ को जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएलगत्तै २०६४ सालमा सूचनाको हकसम्बन्धी ऐन आउनु नयाँ व्यवस्थाको महत्वपूर्ण पक्ष भएको उनले बताए । सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायलाई २० बुँदे ढाँचामा ३/३ महिनामा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै थप सूचनाका लागि सम्बन्धित व्यक्तिले जहिलेसुकै सूचना माग गर्नसक्ने उल्लेख उनको भनाइ छ ।

त्यसरी सूचना नपाएमा सूचना आयोगमा पुनरावलोकन उजुरी दिनसक्ने व्यवस्था रहेकोले यसलाई प्रयोग गरेर सार्वजनिक क्षेत्रलाई पारदर्शी बनाउन सहयोग गर्न सकिने उनले बताए । सो कार्यक्रममा सकारात्मक सोचसम्बन्धी विषयमा रमण भट्टराई नेपालीले प्रस्तुती दिएका थिए ।

उनले सकारात्मक सोचाइका लागि शरीर र मन दुवैबाट सकारात्मक उर्जा सिर्जना गर्नुपर्ने उल्लेख गरे । कुनै पनि व्यक्तिले प्रत्येक दिन सकारात्मक क्रियाकलाप र व्यवहारलाई निरन्तरता दिने हो भने त्यस्तो व्यवहार बानीको रुपमा परिणत हुने उल्लेख गर्दै उनले यसले दीगो रुपमा सकारात्मकताको विकास गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले सूचनाको हक कार्यान्वयनमा नगरपालिका यसअघिदेखि नै प्रतिवद्ध रहेको र यो निरन्तर रहने बताए । उनले सूचनाको हकसँगै जोडिएर आएको ‘सकारात्मक सोच’ विषयक प्रस्तुतीले सकारात्मक ढंगबाट सूचनाको आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले सञ्चारकर्मीको व्यवसायिक क्षमता विकासमा काम गरिरहेको उल्लेख गर्दै त्यसैको निरन्तरतास्वरुप कार्यक्रमको आयोजना गरिएको बताए । त्यस्तै, सकारात्मक सोचको विकासले व्यक्तिगत र सार्वजनिक जीवनमा महत्वपूर्ण भूमिक खेल्ने उल्लेख गर्दै सूचनाको हकसँग यो विषय परिपूरक रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकीले एउटै विषयलाई सोच्ने तरिका फरक फरक हुनसक्ने भन्दै आधा गिलास पानीलाई ‘आधा गिलास भरी’को रुपमा बुझ्न कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चा‌ैलागाईले पनि सकारात्मक सोच र मानव कल्याण समाजका बारेमा प्रष्ट पारेकी थिइन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्