काठमाडौं । पुँजी बजारमा २० करोड रुपैयाँ चुक्ता पुँजी भएका नयाँ ब्रोकर कम्पनीहरु थप हुने भएका छन् । धितोपत्र बोर्डको बजार सञ्चालकको रहेको नेपाल स्टक एक्सचेञ्ज (नप्से) ले असार मसान्तभित्रै नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण प्रक्रिया अघि बढाउने भएको हो ।
बोर्डले एक वर्ष अघि नै नयाँ ब्रोकर थप्नका लागि नेप्सेलाई अध्ययन गर्न भनेको थियो । सोही अनुसार नेप्सेले अध्ययन कमिटी बनाएर ब्रोकर कम्पनीहरुको आवश्यकता अध्ययन गरी प्रतिवेदन तथा कार्यविधि बनाएर अर्थ मन्त्रालय र धितो पत्रबोर्डमा प्रस्तुत गरिसकेको छ ।
नेप्सेले नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरण गर्नका लागि ‘दलाल व्यवसाय इजाजतका लागि सिफारिस छनौट कार्यविधि, २०७९’ को मस्यौदा तयारी गरी बुँदागत छलफल गरिरहेको हो ।
मन्त्रालय र बोर्डको सहमतिमा अहिले नेप्से सञ्चालक समितिले उक्त कार्यविधिमा छलफल गरी रहेको छ । कार्यविधि सञ्चालक समितिबाट पास भएपछि असार मसान्त अगावै नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स वितरण प्रक्रिया थालिने नेप्सेका एक उच्च अधिकारीले बताए ।
उक्त कार्यविधिले बजार आवश्यकता र नेप्सेको सिस्टमको क्षमता अनुसार नयाँ कम्पनीलाई लाइसेन्स वितरण गर्न सकिने भनेको छ । त्यसका कारणले गर्दा तोकिएको पुँजी लगायतका मापदण्ड पुरा गर्ने कम्पनीहरु सबले लाइसेन्स पाउन सक्ने ती अधिकारीको दावी छ ।
‘चुक्ता पुँजी १५ देखि २० करोड रुपैयाँ तोक्ने तयारी हो भने लाइसेन्स शुल्क ५० लाख रुपैयाँ निर्धारण गरिएको छ,’ नेप्सेका ती अधिकारीले सिंहदरबारसँग भने, ‘जनशक्ति व्यवस्थापन, कार्यालयको मापदण्ड, लगानीमा क्रस्र होल्डिङ, सेवा र प्रविधिको प्रयोग तथा गुणस्तर लगायतका मापदण्ड तोकिएका छन्, ती मापदण्ड लगायत कार्यविधिका अन्य बुँदाहरुमा सञ्चालक समितिले छलफल गरिरहेको छ ।’
कार्यविधि फाइनाल हुने बित्तिकै नेप्सेले ब्रोकर लाइसेन्सको आवेदन आह्वान गर्ने उनले जानकारी दिए ।
‘कार्यविधिको छलफल अन्तिम चरणमा पुगेको छ, त्यसमा सञ्चालक समितिले यही साताभित्रै अन्तिम टुंगो लगाउँछ,’ उनले भने, ‘प्राप्त आवेदनमा तोकिएको मागदण्ड पुरा गर्ने कम्पनीहरुलाई सर्टलिस्ट गरी नेप्सेले बोर्डमा सिफारिस गरेपछि ती नै कम्पनीहरुलाई बोर्डले लाइसेन्स वितरण गर्छ ।’
कार्यविधि यसै साताभित्र कार्यविधि पास भएमा असार अन्तिम साता नेप्सेले नयाँ ब्रोकर कम्पनीको लाइसेन्सका लागि आह्वान गर्ने र वितरणको सम्पुर्णका आगामी आर्थिक वर्षको पहिलो त्रैमास भित्र सम्पन्न गरिने उनको भनाइ छ ।
‘आह्वान अर्को सातासम्म हुने सम्भावना छ, लाइसेन्सको सम्पुर्ण काम भने असोज मसान्तसम्म सम्पन्न होला,’ उनले थपे, ‘कार्यविधिमा हालसम्म नयाँ ब्रोकरको संख्या तोकिएको छैन । खुला प्रतिस्पर्धाबाटै प्राप्त आवेदनलाई लाइसेन्स दिन सिफरिस हुन्छ ।’
नेप्सेले सिफारिस गरेको आवेदनमै बोर्डले थप अध्ययन गरी लाईसेन्स वितरण गर्ने ती अधिकारीले जानकारी दिए ।
‘दलाल व्यवसाय इजाजतका लागि सिफारिस छनौट कार्यविधि, २०७९’ अनुसार प्राप्त आवेदनकर्तालाई मौखिक परिक्षा वा अन्तरवार्ता अनुसार नेप्सेले सर्टलिस्ट गर्नेछ । सर्टलिस्टमा परेका आवेदकले नै नयाँ ब्रोकरको लाइसेन्स पाउनेछन् ।
धितोपत्र बोर्डले २०५० सालमा २५ वटा ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको थियो । त्यसपछि २०६४ सालमा २५ वटा थप गरी ब्रोकरको संख्या ५० पुर्याइएको थियो ।
ब्रोकर संख्या ५० पुर्याएको १० वर्षपछि बोर्ड र नेप्से नयाँ ब्रोकर कम्पनी थप्ने प्रक्रियामा लागेको हो ।
प्रतिक्रिया दिनुहोस्