एकजना किसानको बारी जंगल छेउमा रहेछ । त्यही जंगलमा एउटा भालु पनि बस्दोरहेछ । किसानले खेती गरेको लुकेर हेर्ने गर्दो रहेछ ।
‘खेती गर्न पाए कति मजा हुँदो हो । दुई चार दिन आयो, खेती गर्यो, पाकेपछी भारी कसेर लग्यो, घरमा राख्यो, बसीबसी खायो । आफूलाइ भने दिनदिनै शिकार नगइ सुख छैन । किसानसँग मिलेर खेती गर्छु र सुबिस्ताले बसेर खान्छु ।’
यस्तै यस्तै कुरा सोचेर भालु बस्दोरहेछ । तर, किसानको अगाडि गएर बोल्ने आँट चाहिँ गर्दो रहेनछ ।
किसान फेरि खेती लगाउन आएछ । यसपटक भने आँट गरेर भालु किसानको छेउमा गएछ । भालुलाइ अकस्मात आफ्नो सामु देखेर किसान पनि आत्तिएछ । भालु पनि आत्तिएछ ।
तैपनि भालुले हिम्मत जुटाएर भनेछ, ‘किसान दाइ, नडराउनुस् म तपाईंलाई तर्साउन आएको हैन । मलाई पनि खेती गर्न मन लागेर आएको हुँ । खेती गर्न के के गर्नुपर्छ ? बताइदिनुस न ।’
किसान अब ढुक्क भएछ र भनेछ, ‘भइहाल्छ नि । सँगै मिलेर गरौं आएको उब्जनी बाँडेर लिउँ । अहिले मुला रोपौं, मुला तयार भएपछि तिमी माथिको लैजाउ, म फेद लैजान्छु । हुन्न त ?’
भालुले ‘हस्’ भनेछ ।
भालुले गोरु नारेर र चपरा फर्काइ-फर्काइ जोतेछ । किसान छेउ भित्तो खन्न लागेछ । जोतेर सकियो । किसानले भालुलाई मुला रोप्न ड्याङ उठाउन लगाएछ । भालुले पनि कोदालो र कोदाली लिएर गजबको ड्याङ बनाइ दिएछ । किसानले मुला रोपेछ ।
मुला तयार भो । किसान र भालु टुप्लुक्क आइपुगे । भालुले जरा (मुला) जति किसानको डोकोमा हालिदिएछ र पात (साग) जति आफ्नो भाग भनेर छुट्ट्याएछ ।
किसान जराको भारी बोकेर गएछ। भालु पातको भारी बोकेर ।
भालु घर पुगेपछि पो चाल पाएछ, आफू ठगिएको कुरा । रिसले मुर्मुरिँदै किसानलाई एकै गाँस पारी दिउँ जस्तो झोक चलेछ । तर, सोचेछ, ‘खेती गर्नु छ अहिले रिसाएर पनि भएन । फेरि कस्ले सिकाउने । आफैंलाई सान्त्वना दिएछ ।’
फेरि अर्को खेती लगाउने याम आएछ किसान बारीमा आयो भालु पनि त्यहिँ पुग्यो ।
भालुले सोधेछ, ‘अब के लगाउने ? ‘
किसान : ‘गहुँ’
भालु : ‘गहुँको जरा मलाई है ?’
किसान : ‘हुन्छ । तिमिले रोजेकै लैजाउ । गोरु नारेर जोत्न थाल, म बीउ हाल्छु’ |
गहुँ छरियो ।
गहुँ पाक्यो । किसानले शर्त अनुसार पात (बाला) जति आफूले लियो र घर गयो । भालु जरा लिएर गयो ।
घर पुगेपछि पो भालुलाई फेरि थाहा भो यसपटक पनि ठगिएछ भन्ने ।
भालुलाइ रिस त धेरै उठेको हो तर सोचेछ, ‘गल्ती मेरै हो । आफूले जान्दै नजानेको कुरा गर्छु भनेर तम्सिन नहुने थियो ।’
सेयरबजारमा पनि भालु जस्ता धेरै छन् जो केही जान्दैनन् । तर, अर्काले कमाएको देखेर आफू पनि कमाउने सपना देख्छन् । तर, त्यसको आधारभूत पक्ष केही बुझ्न चाहँदैनन् ।
केही नबुझी आउँछन्, पैसा खन्याउँछ्न् । खन्याउन हुने हो कि हैन ? लगानी गर्ने बेला हो कि हैन ? केही बुझ्ने प्रयत्न गर्दैनन् । अनि भालुले जस्तो कहिले पात त कहिले जरा लिएर जान्छन् ।
त्यसैले कुनै पनि चिजको उपादेयता बुझ्नुपर्छ । जसरी किसानलाइ बाली कहिले लगाउने ? कहिले गोड्ने ? कहिले मल हाल्ने ? कहिले विषादी हाल्ने ? कहिले बाली पाक्छ ? कसरी थन्क्याउने ? भन्ने राम्रो थाहा हुन्छ, त्यसैगरी सेयरमा लगानी गर्नेलाई पनि कहिले किन्ने ? कहिले बेच्ने? कति नाफा लिने? सब कुरा थाहा हुनुपर्छ । त्यसका लागि बुझ्नुपर्छ, अनि मात्रै सफल लगानीकर्ता बन्न सकिन्छ ।
पुस्तक पढेर लगानीकर्ता बनिने भए मुलुकी ऐन पढेर सबै वकिल भैसक्थे । भालु बन्न धेरै आएकाले बजारलाई पनि बेला न कुबेला भालुले खेद्छ ।
(लेखक ज्योति दाहाल अधिवक्ता तथा सेयर बजारका अध्येता हुन् ।)
प्रतिक्रिया दिनुहोस्