काठमाडौं । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको भन्दै आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिमार्फत करको दरमा तलमाथि गरिएको आरोप लगाए ।
प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर सांसद भट्टराईले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको आरोप लगाएका हुन् । उनले अर्थमन्त्रीले संसद्को बैठकमा त्यसबारेमा जानकारी गराउनुपर्ने माग गरे ।
यसो भनेका थिए योगेश भट्टराईले
राजश्वका दर, भन्सार र करका दरहरुबारे हामीले कतिपय कुराहरु उठाउँदै आएका थियौं । हामीले भनेका थियौं विद्युतिय गाडीमा अन्तशुल्क किन लगाईयो ? किन भन्सार बढाईयो ? स्वास्थ्य बीमाको जिम्मा निजी कम्पनीलाई किन दिने भनियो ? फलाम र फलामजन्य वस्तुको बिषय र जुत्ता चप्पल र स्यानिटरी प्याडको कुरा उठेको थियो । जेठ १४ गते मध्यरातमा भन्सार र करका दरहरु कसरी हेरफेर भयो ? मध्यरातको १२ बजे अमूक व्यक्तिले मन्त्रालयका उच्च पदस्थहरुको बीचमा गएर बजेट कसरी बनाए ?
नेपालको संसदीय इतिहासमा यस्ता कुरा उठेका थिए । मन्त्रीको विदेशमा डलर खाताको विषय पनि उठेको थियो । संसदमा कुरा उठेपछि सम्बन्धित मन्त्रीले राजीनामा दिएको इतिहास हामीसँग छ । बेलायतको संसदमा पनि त्यस्तै इतिहास थियो । अर्थमन्त्रीले बजेट भाषण गर्न जाँदा चुरोट खाईरहेका अर्का माननीयलाई ‘अहिले त चुरोट खानुस न’ भनेका थिए । बजेट भाषणमा चुरोटको कर बढ्यो, त्यसरी बजेट भाषाण अघि नै कर बढ्ने संकेत गरे वापत ति अर्थमन्त्रीले राजीनामा दिनु परेको थियो । अब हाम्रो देशमा यो लागु हुन्छ की हुन्न सभामुख महोदय ।
हामीले विद्युतिय गाडी र स्यानीटरी प्याडका विषयमा पनि कुरा उठायौं । मन्त्रीको च्याम्बरमा राति १२ बजे तहल्का मच्चायो किन ?
हामीले सपथ खाएका छौं की पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गर्दैनौं । बजेट बनाउँदा यो झन लागु हुन्छ । माननीय र अरु कसैलाई पनि मन्त्रालयमा प्रवेश दिईएको हुन्न । बजेट बनाउँदा राष्ट्रघात भएको छ । मन्त्रीज्यूले स्पष्टीकरण दिनुपर्छ । मन्त्रीले मात्रै होइन प्रधानमन्त्रीको भनाई पनिप आउनुपर्छ । सत्तारुढ र विपक्षीसहित सिंगो संसदको ध्यानाकर्षण हुनुपर्छ भन्न चाहान्छु ।
प्रतिक्रिया दिनुहोस्