काठमाडौं । नेपालले पुँजी बजारको इतिहासमा संसारमै नयाँ रेकर्ड कायम गर्ने भएको छ । संसारभर साताको पाँच दिन सेयर कारोबार हुने नियम छ तर नेपालले भने ६ दिन सेयर बजार खुला गरेर नयाँ रेकर्ड बनाउन लागेको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सेयर लगानीकर्ताहरुकै माग अनुसार हप्ताको ६ दिन बजार खोल्ने गरि छलफल भैरहेको छ ।
सरकारले असार १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेपछि नेप्सेले शुक्रबार सेयर बजार खोल्ने निर्णय गरेको थियो । सरकारले आइतबार बिदा दिने निर्णय एक महिना नपुग्दै फिर्ता गरि साउन १ गतेबा पुरानै अवस्थामा फर्काउँदैछ ।
सरकारले शुक्रबार आधा कार्यालय समय र शनिबार साप्ताहिक बिदा दिने पुरानै व्यवस्थामा फर्किने निर्णय गरेपनि पुँजी बजार भने अब शुक्रबार पनि खोल्ने तयारी भएको हो । असार १ गते अघिसम्म आइतबारदेखि बिहिबारसम्म सेयर कारोबरा हुन्थ्यो । असार १ गतेदेखि भने सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुँदै आएको थियो ।
अब भने आइतबारदेखि शुक्रबारसम्मै बजार खुलाउने तयारी गरिएको हो । ‘लगानीकर्ताका नेताहरुले नै आएर ६ दिन बजार खुला गरौं भन्नु भएको हो, त्यसै अनुसार नेप्सेमा पनि छलफल भैरहेको छ’, नेप्सेका प्रवक्ता पराजुलीले सिंहदबारसँग भने । हप्तामा ६ दिन कारोबार खोल्ने सम्बन्धी अन्तिम निर्णय नभए पनि सोही दिशामा छलफल अघि बढेको पनि उनले जानकारी दिए । बीचमा अन्यथा केहि नभए साउनदेखि हप्तामा ६ दिन नै सेयर कारोबार खुला हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्