Shikhar Insurance
National Life

११ वाणिज्य बैंकमात्रै दिन सक्छन् कर्जा, क्षमता अनुसार बिजनेस बढाउन राष्ट्र बैंककै नीति बाधक !

दिलु कार्की
२०७९ जेष्ठ २२, आईतवार १४:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकिङ व्यवसायको मुख्य उद्देश्य भनेको निक्षेपकर्तासँग निक्षेप लिएर त्यसमा केही प्रतिशत स्प्रेड राखी कर्जा लगानी गरी नाफा आर्जन गर्ने हो । तर, पछिल्ला केही महिनायता अधिकांश बैंक तथा वित्तीय संस्थाले आम्दानीको मुख्य काम नै बन्द गरेका छन् ।

राष्ट्र बैंकले तोकेको नीति निर्देशन पालना गर्दै बैंकिङ व्यवसाय गर्नु पर्ने बाध्यतामा वाणिज्य बैंकहरुले पनि नयाँ कर्जा रोकेका छन् । राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र एलडी रेसियो सीमा भन्दा माथि पुगेका बैंकहरुले अहिले नयाँ होस् या पुरानो कर्जा ठप्प गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार वाणिज्य बैंकहरुले २० प्रतिशत एलडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउँछन् । हाल १२ वटा वाणिज्य बैंकले मात्र तोकिएको एलडी रेसियो कामय गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

तर, अहिले वाणिज्य बैंकहरुले नयाँ कर्जा ठप्प पार्नुको मुख्य कारण सीडी रेसियोको कारण रहेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय बताउँछन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत् व्यवस्था गरिएको ९० प्रतिशत सीडी रेसियो बैंकहरुले आगामी असार मसान्तसम्म सीमामा ल्याउनु पर्ने बाध्यता छ ।

सीडी मेन्टेन गर्न बैंकहरु कर्जा रोकेर पोटफोलियो म्यानेजमा लागेकै हुन्ः अध्यक्ष उपाध्याय
हाल १६ वटा बैंकको सीडी रेसियो सीमा माथि छ भने ११ वटा वाणिज्य बैंकको मात्र सीडी ९० प्रतिशत तल छ । असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतमा झार्नकै लागि बैंकहरुले कर्जा रोकेको बैंकर्स संघका अध्यक्ष उपाध्यायको भनाइ छ ।

‘दैनिक रुपमा हेर्दा सीडी रेसियो सहज भएका ५/६ वटा वाणिज्य बैंकमात्रै छन्, यी बैंकहरुले पनि पास भइसकेका कर्जामात्र वितरण गरेका होलान्, अब एक ढेड महिना बैंकहरु आफ्नो पोर्टफोलियो म्यानेज गरेर मात्र बस्छन्,’ संघका अध्यक्ष उपाध्यायले सिंहदरबारसँग भने, ‘असारको महिना आउँदैछ, सीडी रेसियो ब्रिज हुन्छ कि भनेर अधिकांश बैंकले आफ्नो पोटफोलियो मेन्टेन गर्नु पर्नेछ, सीडी रेसियो कम्फर्ट (सहज अवस्था)मा ५/६ वटा बैंकमात्र छन्, यो अवस्थामा लगानी वृद्धि कमै हुन्छ ।

राष्ट्र बैंकले तोकेकै समयमा ९० प्रतिशत सीडी रेसियो मेन्टेन गर्नका लागि केही महिना पहिलेदेखि नै वाणिज्य बैंकहरुले ठूलो स्केलमा नयाँ कर्जा लगानी नगरेको उनले जानकारी दिए ।

‘सीडी रेसियो सीमामा भएका बैंकहरुले पनि असारसम्म मेन्टेन गरेनन् भने ९० प्रतिशत कट्छ त्यसैले उनीहरुले पनि कर्जा दिन सक्दैनन्,’ उनले थपे, ‘सीडी रेसियो ८५ प्रतिशत तल नै भएका बैंकहरुले मात्र ठूलोे स्केलमा कर्जा दिन सक्छन् । असारको १ महिना लगानी गरेर त्यसले ठूलोे आम्दानी हुने पनि होइन । सीडी रेसियो कम हुने बैंकहरुले पोटफोलियो किन्नु पनि पर्ने हुन्छ ।’

प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा लगानी पुर्याउन पनि सीडी रेसियो सीमा तल भएका बैंकहरुले अहिले नयाँ कर्जा लगानी रोकको उनको भनाइ छ ।

थप कर्जा लगानी गर्न सक्ने ११ वाणिज्य बैंकहरु
अहिले सीडी रेसियो ९० प्रतिशतमाथि भएका बैंकहरुलाई पनि राष्ट्र बैंकले नियमकिय कारवाही गरेको छैन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये जेठ १५ गनेसम्म १६ वटाको सीडी रेसियो ९० प्रतिशतमाथि छ । तर, राष्ट्र बैंकले आगामी असार मसान्तसम्म सीडी रेसियो सीमामा नल्याए नियमकिय डण्डा चलाउने प्रष्ट पारिसकेको छ । बैंकहरु नियामकीय डण्डाबाट कर्जा सेवा स्थगित गरेर स्रोत संकलन र सीडी व्यवस्थापनमा लागेका हुन् ।

पछिल्ला केही महिनायता बैंकिङ प्रणालीको तरलता चाप कै कारणले गर्दा बैंकहरुले कर्जाको माग अनुसार निक्षेप संकलन गर्न नसक्दा सीडी रेसियो सीमा माथि पुगेको हो । तर, यस्तो संकटबीचमा पनि ११ वटा वाणिज्य बैंकहरु भने ऋणीलाई कर्जा दिन सक्ने अवस्थामा रहेको देखिन्छ । यद्यपि यी बैंकहरुको सीडी सहज भएपनि नयाँ कर्जाको फाइल भने स्थगित नै गरेको स्वयम् बैंकरहरु बताउँछन् ।

सीडी व्यवस्थापन गर्दै कर्जा सजिलै दिन सक्ने बैंक स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, सानिमा, एनआइसी एशिया, राष्ट्रिय वाणिज्य, एनएमबी, माछापुच्छ्रे, लक्ष्मी, एभरेष्ट, मेगा, र नेपाल एसबीआई बैंक हुन् ।

सीडी रेसियो ९० प्रतिशत तल भएका ११ वाणिज्य बैंक भएपनि तत्कालै नयाँ कर्जा दिन सक्ने अवस्थामा भने सानिमा, प्रभु र स्ट्याण्डर्ड चार्टर्ड बैंकमात्र भएको तथ्यांकले देखाउँछ । यी बैंकहरुको सीडी रेसियो ८५ प्रतिशत तल छ भने एलडी रेसियो समेत सीमाभन्दा तल नै रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

‘अहिले ८५ प्रतिशतभन्दा तल सीडी रेसियो भएका बैंकहरुले नयाँ कर्जा दिए भने असार मसान्तसम्म ९० प्रतिशत मेन्टेन गर्न समस्या हुन्छ, अहिलेको क्राइसीसमा बैंकहरुले तत्कालै स्रोत व्यवस्थापन गर्न सक्ने बाटो छैन, त्यसैले यो आवमा बैंकहरुबाट कर्जाको नयाँ फाइल पास हुने देखिँदैन,’ राष्ट्र बैंक स्रोत भन्छ ।

प्राप्त तथ्यांकअनुसार जेठ १५ गतेसम्म एनआईसी एशियाको सीडी रेसियो ८७.७३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८८.२३ प्रतिशत, एनएमबिको ८८.६४ प्रतिशत, माछापुच्छ्रेको ८८.९६ प्रतिशत, लक्ष्मीको ८९.६३ प्रतिशत, एभरेष्टको ८९.६८ प्रतिशत, मेगाको ८९.८८ प्रतिशत र नेपाल एसबीआई बैंकको ८९.८८ प्रतिशत छ । यी बैंकहरुले दिगो स्रोत व्यवस्थापन नगरि नयाँ कर्जा प्रवाह गरे सीडी रेसियो सीमा कट्ने निश्चित देखिन्छ ।

सीडीको कारणले बैंकलाई कर्जा विस्तारमा समस्या छ, स्रोत व्यवस्थापनमा सहयोग गरिरहेका छौंः राष्ट्र बैंक
राष्ट्र बैंकले सीडी रेसियोलाई सीमामा कायम गर्न बैंकहरुलाई भनिरहेको छ । तर, नयाँ कर्जा नै रोकेर सीडी रेसियो सीमामा कायम गर्न सुझाव भने नदिइएको राष्ट्र बैंकका सह–प्रवक्ता नारायण प्रसाद पोखरेलले बताउँछन् । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १९ प्रतिशतको कर्जा वृद्धि लक्ष्य राखेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत चैत मसान्तसम्म १७ प्रतिशतको मात्र वृद्धि भएको हुँदा आगामी असार मसान्तसम्म लक्ष्य हासिल हुने अपेक्षामा गरिएको छ । यद्यपि पछिल्लो समय बैंकहरुले भने तोकिएको सीडी रेसियो कायम गर्नकै लागि कर्जा प्रवाह रोकेको सह–प्रवक्ता पोखरेलको भनाइ छ ।

बैंकहरुले अझै २ खर्ब रुपैयाँ कर्जा दिनसक्ने

‘बैंकहरुले अझै थप कर्जा लगानी गर्दामात्रै निजी क्षेत्रतर्फको कर्जा वृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ, तर असार मसान्त नजिकिँदै गर्दा राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत वा सोभन्दा तल ल्याउन दिएको निर्देशन पालना गर्न सिलिङभन्दा माथि हुने बैंकहरुलाई नयाँ कर्जा विस्तारमा सहजता छैन,’ राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेलले सिंहदरबारसँग भने, ‘तर, राष्ट्र बैंकले सीडी रेसियोलाई सीमामा झार्न र कर्जा वृद्धिको लक्ष्यलाई समेत हासिल गर्न बैंकहरुलाई आश्यक स्रोत सहयोग गरिरहेको छ ।’

राष्ट्र बैंकले निजी क्षेत्रतर्फको वार्षिक १९ प्रतिशत कर्जा वृद्धिको लक्ष्य हासिल हालसम्म ७५ खर्ब रुपैयाँमात्र स्थायी तरलता सुविधामार्फत् स्रोत दिइसकेको छ । सीडी रेसियो सहज हुँदै गएका बैंकहरु नयाँ कर्जा लगानीमा समस्या नहोस् भनेर राष्ट्र बैंकले स्रोत व्यवस्थापनमा सहयोग गरिहेको हुँदा असार मसान्तसम्म १९ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य हासिल हुनेमा राष्ट्र बैंक विश्वस्त रहेको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्