काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा क्रमशः फिर्ता आउन थालेको छ । स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएको हो ।
त्यसयता वाणिज्य बैंकहरुमा १३ अर्ब रुपैयाँ निक्षेप थप भएको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । बैखाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । जसमा जेठको ६ गतेसम्म ७ अर्ब रुपैयाँ र १३ गतेसम्म १३ अर्ब रुपैयाँ गरी वाणिज्य बैंकहरुमा कुल ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको हो ।
स्थानीय तहको चुनावी माहोल वैशाख पहिलो हप्तादेखि नै सुरु भएको थियो । चुनावी माहोल सुरु भएदेखि बैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुबाट ७ अर्ब रुपैयाँ बढी निक्षेप बाहिरिएको थियो ।
प्रणालीबाट बाहिरिएको निक्षेपसँगै अहिले प्रणाली बाहिरबाट चुनावमा खर्च भएको पैसा समेत बैंकिङ प्रणालीमा आउन थालेको देखिन्छ । यसले गर्दा बैंकहरुलाई राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थापन सहज हुँदै गएको देखिन्छ । वैशाखको पहिलो सातासम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९२ प्रतिशतमाथि थियो । प्रणालीमा निक्षेप थप हुँदै गएपछि जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुले औसत सीसी रेसियो घटाएर ९०.४० प्रतिशत कायम गरेका छन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई आगामी असार मसान्तसम्म सीसी रेसियो ९० प्रतिशत तल कायम गर्न निर्देशन दिएको छ । गत वैशाख मसान्तसम्म आधाभन्दा बढी वाणिज्य बैंकहरुको सीडी रेसियो सीमामाथि छ । चुनावमा भएको खर्च बैंकिङ प्रणालीमा फिर्ता आउन थालेसँगै बैंकहरुलाई तोकिएको सीडी रेसियो व्यवस्थापन गर्न सहज भएको हो ।
यस्तै, जेठको १३ गतेसम्म वाणिज्य बैंकहरुले थप ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वैशाख ३० गतेसम्म कुल ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब रुपैयाँ पुर्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस्