काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले कुनै पनि व्यवस्था हेरफेर नगरी समीक्षा गरेको छ ।
सर्वसाधारण सेयर बजारमा ४/१२ नीति, आयातमा सतप्रतिशत मार्जिन, कर्जा खुकुलो बनाउने तथा नीतिगत ब्याजदर कम गर्ने अपेक्षा गरिरहेका थिए । अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको चरम अभाव छ भने बढ्दो आयातले विदेशी मुद्रा सञ्चिति रित्तिने क्रममा छ ।
समीक्षाले मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनरकर्जा दरहरुलाई यथावत राखेको छ । मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने बताइएको छ ।
मौद्रिक कार्यदिशामा मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने बताइएको छ ।
कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि यस बैंकले प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने विद्यमान नीतिलाई निरन्तरता दिइएको छ भने आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने मौद्रिक नीति समीक्षामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्