Shikhar Insurance
National Life

भृकुटीमण्डपस्थित जुत्ता चप्पल मेलामा बढ्यो चहलपहल, जेठ ९ सम्म चल्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १९:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । सस्तो, आरामदायी र टिकाउ भएको कारण पछिल्लो समय नेपालमा स्वदेशी जुत्ता चप्पलहरु ग्राहकहरूको रोजाइमा पर्न थालेको छ । गत वैशाख १५ गतेदेखि भृकुटी मण्डपमा जारी जुत्ता चप्पल व्यापार प्रबर्द्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड नै लाग्ने गरेको छ । स्थानीय तह निर्वाचनले केही दिन प्रभावित बनाएको व्यापार मेलामा चुनाव सकिए लगत्तै ग्राहकहरू बढ्न थालेका छन् ।

मेलामा भेटिएका ग्राहक अनिल खड्का र निराजन भण्डारीले नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएको कारण नै आफूहरूलाई मन पर्ने बताए । नेपालमै सबै बर्गका लागि ब्राण्डेडदेखि सामान्य जुत्ता चप्पल उत्पादन हुने भएको कारण नेपाली कम्पनीको जुत्ता चप्पल नै प्रयोग गर्दै आइरहेको उनीहरूको भनाई छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सामान्य दिनमा दैनिक १५ लाख रुपैयाँ बराबरको कारोबार भइरहेको व्यापार मेलामा हालसम्म करिब एक लाख २५ हजारभन्दा बढी ग्राहकहरू आइसकेको फुटवयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताए । चुनाब सकिएपछि ग्राहकहरु बढेको उनले बताए ।

आफ्नो उत्पादनलाई ब्राण्डिङ गर्ने र स्टक क्लियरिङ गर्ने उद्देश्यले मेलामा सहभागी भएको विएफ डिएयर हिलका डाइरेक्टर सुजन उपाध्यायले ग्राहकहरूले समर सुज, स्कुल सुज, स्र्पोट्स सुज रुचाएको बताए ।

नेपाली उत्पादनलाई प्राथमिकता दिँदै आफ्नो उत्पादन बजारमा ल्याउँदै आइरहेको उक्त कम्पनीले मेलामा राम्रो बिजनेश गरेको बताए ।

लाँलीगुराँस फुटवेयरले क्रसरोड फुटवेयरलाई ब्राण्डिङ गर्दै आइरहेको छ । आफ्नो उत्पादनको प्रचार प्रसार गर्ने, स्वेदशी उत्पादन र प्रयोगमा जोड दिने तथा अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यले जुत्ता चप्पल व्यापार मेलामा सहभागी भएको उक्त कम्पनीले मेलामा प्रतिदिन ५०÷६० हजार रुपैयाँमाथिको कारोबार गर्दै आइरहेको बताएका छन् ।

कम्पनीका प्रमुख कृष्ण फुँयालका अनुसार मेलामा सामान्य उपभोक्तादेखि सरकारी उच्च पदस्थ व्यक्ति, राजनैतिक दलका नेताहरू, उच्च ओहोदाका व्यक्तिहरूसमेत मेला अवलोकनका लागि आउनुले हौसला मिलेको बताउँछन् ।

चुनाव अगाडि व्यापारमा उच्च रूपमा बृद्धि भएपनि चुनावपछि बिक्रीमा केही कमि आएको र चुनावमा गएकाहरू शहर फर्किएसँगै व्यापार पुनः बढ्ने उनको अपेक्षा छ ।

कोशेली फुटवेयरका म्यानेजिङ डाइरेक्टर रविन श्रेष्ठले आफ्नो उत्पादनको ब्राण्डिङ, विज्ञापन, स्टक क्लियरिङका लागि आफ्नो कम्पनी मेलामा सहभागी भएको बताए ।

छालाको जुत्ता विभिन्न डिजाइन र मोडलमा बजारमा ल्याउँदै आइरहेको उक्त कम्पनीले मेलामार्फत छालाका स्कुल सुज, पार्टी सुज र सिजनल सुज उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय बजारमा विभिन्न नयाँ कम्पनीहरू आएका कारण बजारमा प्रतिस्पर्धा उच्च भएको उनको भनाई छ । चुनाव अगाडि व्यापारमा उच्च बृद्धि भएको र चुनावपछि व्यापार घटेको श्रेष्ठको अनुभव छ ।

रोयल फुटवेयरले दैनिक साढे २ लाख बराबरको कारोबार गर्दै आइरहेको सिनियर मार्केटिङ म्यानेजर बलकृष्ण घिमिरेले बताए । उनका अनुसार रोयल फुटवेयरले कम्पनी छुट अफर सहित ग्राहकलाई नेपाली जुत्ता चप्पल उपलब्ध गराउँदै आइरहेको छ ।

फुटवयर म्यानुफ्याक्चर्सर एशोसिएनस अफ नेपालको आयोजनामा सञ्चालित उक्त मेलामा स्वदेशी २२ कम्पनीका करिब सय वटा स्टल छन् भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । १० देखि ७० प्रतिशतसम्म छुटमा विभिन्न डिजाइनका जुत्ता चप्पलहरू खरिद गर्न पाइनेछ ।

मेला जेठ ९ गते सोमबारसम्म चल्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्