काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेको छ । लगानीकर्ताबीच बजार बियरिस ट्रेन्डमा गएको गाइगुइँ सुनिन थालेको छ । लगानीकर्ता संघका नेताहरु अनौपचारिक रुपमा यसलाई स्वीकार्न तयार भइसकेका छन् ।
यस्तोमा नेपाली व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाई गुहारेर एक विशेष कार्यक्रम अघि सारिएको छ । एफएनसीसीआईले परिपक्व पुँजीबजार सम्मेलन नामको एक दिने सम्मेलन आयोजना गरेको छ ।
नेपालको पुँजी बजारले अर्थतन्त्रको वास्तविकता चित्रण गर्दैन भन्ने आम मान्यता छ । बढ्दा खुसी हुने घट्दा दुःखी हुने लगानीकर्ताको मानसिकता छ । पुँजीबजार बढ्न घट्नु पनि पर्छ भन्ने व्यक्ति सबैको आखाँको तारो बन्छ ।
विश्व बजारमा अभ्यासमा ल्याइएको पुँजीबजारका केही औजार नेपाली बजारमा नआउँदा सेयर बजार परिसूचक घट्दा लगानीकर्ता मन खिन्न बनाउँछन् । लगानीकर्तामध्ये जाने बुझेका हरु आजको दिनमा बजार बढ्नका लागि घट्नुपनि पर्छ भन्न थालेका छन् । घट्दा पनि कमाउने औजार ल्याइनुपर्छ भन्ने माग गर्न थालेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको नियामक र मौद्रिक नीति निर्माता नेपाल राष्ट्र बैंक सेयर बजारको नियामक नभएपनि उसलले अख्तियार गर्ने मौद्रिक नीतिले बजारलाई प्रभाव पारिरहन्छ ।
शुक्रबार एफएनसीसीआई मुख्यालय टेकुमा आयोजित सम्मेलनमा मुख्य वक्ताका रुपमा पुगेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि सेयर बजारका विषयमा केही तितोमीठो बोलेका छन् । उनले बजार अझै परिपक्व भइनसकेको यथार्थ विश्लेषण गर्दै बजारलाई अर्थतन्त्रको ऐना र ब्यारोमिटर बन्ने शुभकामना दिए ।
शुक्रबारको कार्यक्रममा के भने मिश्रले ? पढौं उनको भनाइ, जस्ताको तस्तैः
पोलिनेसन भन्ने सुन्नुभएको छ ? फूलको एन्ड्रोसियम र गाइनासियम मिल्ने प्रक्रियालाई पोलिनेसन भनिन्छ । पोलिनेसन भएपछि मात्र फल लाग्छ ।
पोलिनेसन हुन परिकपक्वता चाहिन्छ । अर्थात् फल लाग्न परिपक्व हुनुपर्छ ।
मैले जोड्न खोजेको के भने, पुँजी बजार राष्ट्रको अर्थतन्त्रको ऐना हो । ब्यारोमिटर हो । थर्मोमिटर हो । ह्वाटएभर केके मिटर भन्छौं । तर, पुँजी बजारमार्फत् अर्थतन्त्र कुन दिशामा गइरहेको भन्ने हेर्न सुरुमा परिपक्वता आवलश्यक हुन्छ । त्यसपछि मात्र पोलिनेसन हुन्छ ।
हामीलाई फल लगाउनु छ । परिपक्व पुँजी बजार सम्मेलन भन्ने टपिक नै साह्रै रिलेभेन्ट र महत्वपूर्ण छ भन्ने मलाई लाग्यो । नेपाल धितोपत्र बोर्ड अध्यक्षले ‘हामी छौं’ भनिदिनु भएकाले म ढुक्क भएको छु ।
देउताको तस्विर नजिकै ‘चिन्ता नगर्नु म छु’ लेखेको छ भने सो तस्बिरलाई हेर्दा जसरी ढुक्क महसुस हुन्छ, बोर्ड अध्यक्षको कुरा सुनेपछि समस्यामा पर्नबाट जोगाउने कोही त रहेछ भन्ने आभाष भएको छ ।
परिवक्वकताबारे थेउरिटिकल कुरा पनि गरौं ।
परिपक्वता कसरी आउँछ ?
सेयरमा ५१ लाख डिम्याट खाता रहेछन् । उहाँहरुमा इन्फरमेसनबारे म्याचुरिटी हुन जरुरी छ । खाता संख्या त्यो भन्दा बढी हुनुपर्छ । सक्रिय लगानीकर्ताको संख्या बढाउनुपर्छ । यो एक प्रकारको म्याचुरिटी हो ।
दोस्रो, टेक्नोलोजिकल म्याचुरिटी हुनुपर्छ । नेप्सेले पनि टेक्नोलोजिकल म्याचुरिटीको कुरा गरेको छ । एसएमईको छुट्टै प्लेटफर्म बनाइरहेको भन्ने जानकारीमा आइसकेको छ ।
तेस्रो, पोलिसीवाइज म्याचुरिटी । यहाँ धितोपत्र बोर्डको कुरा आउँछ । नेपाल राष्ट्र बैंकको पनि केही भुमिका होला ।
चौथो, ट्रान्जेक्सनवाइज म्याचुरिटी । हामीले टी प्लस वान, टी प्लस जिरोको कुरा गर्छौं । यो विषयमा परिपक्वता हुनुपर्छ ।
सेयर बजारमा इन्क्लुजनको कुरा पनि आउँछ । हामीकहाँ सेक्टरवाइज डिफिरेन्सिएसन छ । कुनै सेक्टर हाइली कन्सन्ट्रेटेड छ । त्यसको सेयर मूल्य सामान्य दरले बढेपनि नेप्से इन्डेक्समै ठूलो प्रभाव पार्छ । कुनैको सयौं कारोबार हुँदा पनि इन्डेक्सलाई फरक पार्दैन ।
परिपक्वता कतातर्फ जान आवश्यक हुन्छ भने बजारबाट पैसा निकालेर पनि वा स्टक वा बोन्ड जारी गरेर व्यवसाय चलाउन किन नसक्ने ? अर्को महत्वपूर्ण कुरा हो ।
अर्को विषय हो, इथिकल म्याचुरिटी । हामीले जान्नुपर्ने, बुझ्नुपर्ने र सम्झनुपर्ने विषय यीनै हुन् ।
हामीले परिपक्व पुँजीबजारको विषयको कुरा गर्दै गर्दा उल्लेखित ५—६ थरिका परिपक्वता हासिल गर्र्यौं भने पोलिनसेन हुन सक्छ ।
यदी पोलिनेसन भएन भने फल फल्दैन ।
फिजिक्समा प्रिन्सिफल अफ असिलेसन भन्ने हुन्छ । सिम्पल पेन्डुलमको सिद्धान्त पनि हो । नेपाल र विश्वको इतिहास हेर्दा पनि यो सिद्धान्तले काम गरेको छ । तलमाथि हुन्छ तर फर्केर सोही बिन्दुमा आइपुग्छ ।
असिलेट गरिरहँदा कति मात्रामा गुमाइरहेका छौं ? भन्ने बुझ्न जरुरी हुन्छ ।
बजार पुँजीकरण ४२ खर्ब घटेर ३६ खर्बमा आएर फेरि ३८ खर्बमा पुग्यो । असिलेसनमा सबैभन्दा बढी प्रभावित को ? भनेर हेरौं ।
यो विषय इन्क्लुजन, टेक्नोलोजी, टेक्नालोजी चलाउन जान्ने मान्छेको कुरा हो । साढे ५१ लाखमभ्ये कति जनाले स्वचालित किसिमबाट सेयर किनबेच गर्न सक्छन् भन्ने कुरो हो ।
यी सबै कुरालाई प्याकेज बनाएर डिल गर्न कठीन हुन्छ । त्यसैले हामीले एकपछि अर्को गर्दै क्रमशः सबै विषयमा परिपक्व बन्नुपर्छ ।
यहाँ विदेशी मुद्राको अभाव सम्बोधन गर्न चालिएको कदमबारे पनि कुरा भए । महत्वपूर्ण कुरा के हो भने नेपाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपाली नागरिकले नेपालमा खाता खोल्न पाउने र डलरमै फिर्ता लैजान पाउने व्यवस्था गरेका छौं । यो एक किसिमको अफर हो किनकी डलर डिपोजिट गर्दा नेपालमा दिइने ब्याज अन्तभन्दा निकै बढी हो ।
पैसाको फ्लो बढ्न थालेपछि तरलता पर्याप्त हुँदै जान्छ । र हामी सहज स्थितिमा पुग्र्दै जाने छौं ।
यो फोरमबाट नेपालमा रेमिट्यान्स पठाउनेलाई सम्मान गर्न चाहन्छु । पर्यटनबाट बढीमा डेढ खर्बमात्र विदेशी मुद्रा आउँछ भने रेमिट्यान्सबाट करिब १० खर्ब प्राप्त हुनछ । व्यवसायी साथीहरुलाई पनि रेमिट्यान्स पठाउनेलाई सम्मान गर्नुहुन अनुरोध छ ।
शुभकामना छ, पुँजी बजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको काम गरोस् । र, आर्थिक स्थितिमा टेवा प्रदान गर्न सकोस् । यो सम्मेलनबाट आएका सुझाव हामीलाई नीति बनाउन काम लागोस् । अध्ययनमा काम लागोस् ।
प्रतिक्रिया दिनुहोस्