Shikhar Insurance
National Life

चन्द्रपुरमा दाहालको प्रतिवद्धताः २०० युनिट बिजुली निःशुल्क र ५०० युवालाई रोजगारी

सिंहदरबार संवाददाता
२०७९ बैशाख २१, बुधबार १५:२१
Hyundai
NCELL
NIMB

चन्द्रपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चन्द्रपुरले स्थानीय निर्वाचनको सन्दर्भमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘जनमुखी स्थानीय सरकारः विकास र समृद्घिको आधार’ भन्ने मूल मन्त्रसहित नेकपा एसले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

उक्त प्रतिबद्धता पत्रमा नगरभित्र सबै घरमा बिद्युत पुर्याउने र प्रत्येक घरलाई मासिक २०० युनिट बिद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै एलपि ग्यासको विकल्पमा इन्डक्सन चुलो प्रयोगमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हरेक घरलाई मासिक ५ हजार लिटर स्वच्छ खानेपानी निःशुल्क रुपमा उपलब्ध गराउने, चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न सभाहल निर्माण गर्ने, बागमती र चाँदी नदी किनारमा व्यवस्थित शवदाह गृह एवम् क्रियापुत्री भवन निमार्ण गर्ने, व्यवस्थित बसपार्क सञ्चालनमा ल्याउने, चन्द्रपुर चोक, बजार तथा आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर भित्र औद्योगिक क्षेत्रको स्थापनाका लागि पहल गर्ने र नदी कटान नियन्त्रणको लागि विशेष योजना ल्याउने योजना छ ।

प्रत्येक वडाका लागि कम्तीमा एक–एक जना कृषि र पशु प्राविधिकको सेवा प्रभावकारी रुपमा उपलब्ध गराउने, कृषि तथा पशुजन्य उत्पादनको उचित बजारको प्रधन्ध मिलाउँदै ‘उत्कृष्ट कृषक’ सम्मानको व्यवस्था गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

जमिनको वर्गिकरण गरी आवास योग्य जमिनमा व्यस्थित आवास, शहरीकरण गर्ने, कृषियोग्य जमिनमा सिँचाई, सडक, विद्युत, लगायतको पूर्वाधारको व्यवस्था गर्ने, नगर भित्रका सबै जमीनको नयाँ नापी गराई जमीनमा रहेको विवाद अन्त्य गर्ने, भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवथित वसोवासीहरुको समस्या समाधन गरी लालपूर्जा वितरण गर्ने उल्लेख छ ।

यस भेगकै आकर्षणको रुपमा रहेको ऐतिहासिक पर्यटकीय स्थल नुनथरलाई अझै व्यवस्थित र आकर्षक बनाउन थप पूर्वाधार निर्माण गर्ने र अन्य पर्यटकीय स्थलसंग जोड्ने र पर्यटकीय स्थललाई आसपासका समुदायको जिविकोपार्जनसंग जोडी यसको दिगो विकास गर्न ‘होम स्टे’ सहितको ग्रामीण पर्यटन सम्बन्धी कार्यक्रम संचालन गर्ने योजना अघि सारिएको छ ।

पौराई, जंगे झरना, डाबरी, सहिद स्मृति पार्क, कालापानी पिकनिक स्पोट व्यवस्थित गर्दै चन्द्रपुरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने तथा निजानन्दधान नजरपुर, पौराई ब्रह्मस्थान, कोटीहोम, हात्तीसार लगायतका मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्चहरु जस्ता धार्मिक स्थलहरुको आवश्यक संरक्षण तथा सम्वद्र्धन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । ‘एक सामुदायिक वन, एक वन उद्यम’ कार्यक्रम सञ्चालनमा ल्याउने उल्लेख छ ।

एक टोल एक उत्पादन अभियान तथा ‘एक घर एक उद्यम’, ‘एक गाउँ एक उद्योग’ कार्यक्रम संचालन गर्दै प्रत्येक बर्ष ५०० जना युवाहरुलाई उद्यमशीलता र विषयगत शिपमूलक तालिमका साथै सहुलियत दरमा ऋण उपलब्ध गराई उद्योग व्यवसायमा लगाई रोजगार बनाउने योजना छ ।

त्यस्तै युवा व्यवसायीलाई सहुलियत ऋण उपलब्ध गराउने र गैर आवासीय नेपालीहरुको लागानी भित्र्याउन विशेष योजना बनाउने प्रतिबद्धता पत्रमा समेटिएको छ ।

सार्वजनिक स्थलहरुमा सिसिटिभीको माध्यमद्धारा निगरानी राख्ने, नगरपालिका अन्र्तगतका सार्वजनिक स्थलहरुमा फ्री वाईफाईको व्यवस्था गर्ने, खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक बर्ष खेलाडीलाई सम्मान र पुरस्कारको व्यवस्था गर्ने उल्लेख छ ।

शिपमूलक, प्राविधिक र व्यवसायिक शिक्षालाई जोड दिंदै एक माध्यमिक विद्यालय एक प्राविधिक बिषयको अवधारणा लाई साकार पार्ने, कृषि, स्वास्थ्य, वन, इन्जिनियरिङ र सुचना प्रविधि सेवाहरु सहितको एक वहुप्राविधिक शिक्षालय स्थापना गर्ने, माध्यमिक तहको शिक्षा पूरा गरेका विद्यार्थीलाई सिक्दै र कमाउंदै ९लर्न एण्ड अर्न० कार्यक्रम शुरु गर्ने, प्रत्येक विद्यालयमा नर्सिङ सेवाका साथै स्वास्थ्य परामर्श दिने व्यवस्था गर्ने र सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठन पाठन गर्ने गराउने प्रतिबद्धता पत्रमा लेखिएको छ ।

चन्द्रनिगाहपुर अस्पताललाई आवश्यक पूर्वाधार, उपकरण र दक्ष जनशक्ति सहित ३०० वेडमा स्तरोन्नती गरी स्थानीय स्तरमा बिशेषज्ञ सेवा सहितको आधुनिक स्वास्थ्य सेवा सहज तथा निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख छ ।

आफ्नो पार्टीका उम्मेदवारहरु निर्वाचित भएपछि नगरबासीको सहभागिता तथा स्वामित्व हुने गरी विज्ञहरुको संलग्नतामा चन्द्रपुरको समग्र विकासको दीर्घकालीन योजना तर्जुमा गर्ने र समग्र नगरको भौतिक पूर्वाधार निमाणको गुरुयोजना तयार गरी लागू गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

आफूहरुले निर्वाचित भएपछि पाँच वर्षमा गर्ने कामहरु प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गर्दै ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीमा जोडः हाम्रो राम्रो समृद्ध चन्द्रपुरका लागि कलममा भोट’ भन्ने नारासहित आफूहरु जनताको घरदैलोमा पुगिरहेको चन्द्रपुरका मेयर पदका उम्मेदवार बाबुराम दाहालले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्