Shikhar Insurance
National Life

कौसी खेतीमा रमाउँदै रामपुरका महिला

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १४:२९
Hyundai
NCELL
NIMB

रामपुर । लटरम्म फलेका घिरौँला, करेला, काँक्रा, सिमी जस्ता तरकारीले घरका छत भरिएका छन् । पाँचतला माथिका छतमा हरियाली फलेका तरकारी देख्दा सबैलाई लोभ्याइरहेको छ । आफूमा इच्छा शक्ति र जाँगर भयो भने छतमै हरियाली तरकारी फलाउन सकिने उदाहरण बनेका छन्, पाल्पा रामपुरका महिलाहरु ।

फुर्सद मिल्यो कि छतमा जाने तरकारी गोडमेल गर्ने, पानी हाल्ने कार्यमै समय खर्चने गरेको बताए, बेझाड बजार बस्ने विन्दु श्रेष्ठ । छतमा लटरम्म फलेका तरकारीले मनलाई प्रफुल्लित बनाउने गरेको उनले भने । उनको छतमा सबैजसो तरकारी फलेकै हुन्छ । श्रेष्ठलाई खाली समय त्यसै बिताउन मन लाग्दैन । युट्युब हेरेर छतमा तरकारी लगाउन थालेपछि किनेर खानु नपरेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जमिनमा लगाएको तरकारीको तुलनामा छिटो उत्पादन लिन पाइने, रोग कीरो कम लाग्ने हुँदा व्यवस्थित तरिकाले खेती गरियो भने तरकारी किन्ने पैसा बचत हुने उनको अनुभव छ । आफ्नो जग्गा नभए पनि घरमा खान पुग्ने तरकारी फलाउन सकिन्छ ।

“आलु र दाल मात्रै किने भयो, फरक–फरक खालका तरकारी सबै छतभरि नै लटरम्म फलेका छन्, जमिनमा तरकारी लगाउँदा रोग कीरोले धेरै सताउँथ्यो, गाईवस्तुले खाने समस्याले पिरोल्थ्यो भने छतमा लगाइएको तरकारीमा रोग कीरो कम लाग्ने गरेको पाइएको छ,” उनले भने । उनको छतमा अहिले करेला, घिरौँला, सिमी, काँक्रा, खुर्सानी लगायतका विभिन्न जातका तरकारी छन् । साथै आँप, लिची जस्ता फलफूल, विभिन्न जातका फूलहरु पनि छ । उनले भने, “पाँचौँ तलामाथि छतभरि हरियाली तरकारी फलेको देख्दा सबैजना दङ्ग पर्छन्, घरमा मात्रै नभई छिमेकी, आफन्तलाई पनि बेलाबेलामा दिन पाउँदा रमाइलो लागेको छ, आफ्नै मेहनतको खान पाइएको छ ।”

उनले छतमा तरकारी लगाउन थालेको करिब ८ वर्ष भयो । श्रेष्ठको व्यवसाय देखेर यहाँका अन्य महिलाहरुले पनि छतमा तरकारी फलाउन थालेका छन् । बिहान साँझ खाना पकाउँदा आवश्यक परेका बेला छतमा गएर तरकारी टिप्ने र पकाउने गरिएको बताए, जुनु श्रेष्ठ । उनले तरकारीका अलवा छतमा कुखुरापालन, बट्टाइँपालनसमेत गरेका छन् ।

“तरकारीमा मलका लागि कुखुरा र बट्टाइँ पालिएको छ, चारजनाको परिवारलाई छतमै फलेका तरकारीले पुगेको छ, बजारमा कहिलेकाहीँ नयाँ तरकारी पाइयो भने किनिन्छ नत्र घरमै उत्पादन भएकाले पुगेकै छ,” उनले भने । छिमेकीले छतैभरि लटरम्म तरकारी फलाएको देखेपछि आफूले पनि प्रविधि सिकेर तरकारी खेती थालेको उनले बताए ।

पुष्पा श्रेष्ठले काँक्रा, घिरौँला, सिमी, काउली, बन्दा, प्याज, धनियाँ, खुर्सानी, लौका, गोलभेँडा मात्रै होइन आलु पनि छतमै फलाएका छन् । उनको छतमा सबैजसो तरकारी पाइन्छ । मलका लागि कुखुरापालनसमेत गरेका छन् ।

छतमा निस्केर हरियाली तरकारी फलेको देख्दा नि सबै तनाव हटेर जाने र फुर्सदको समय तरकारी गोडमेल गर्ने, लगाउने गर्दा शरीर स्वस्थ भएको छ भने दिनहुँ ताजा–ताजा तरकारी खान पाइएको उनले बताए । “बजारमा बस्नेहरुलाई करेसाबारी भनेकै छत हो, यसरी तरकारी फलाउन थालेको एक दशक भयो, मेहनत र जाँगर भयो भने तरकारी लगाउन जग्गा नै चाहिँदैन, छतमै आफूलाई खान पुग्ने तरकारी फल्छ,” उनले भने ।

कौसी खेतीसम्बन्धी तालिम लिन पाएमा अझ उत्पादन बढाउन सकिने उनको भनाइ छ । बिना तालिम तरकारी लगाउँदा राम्रै उत्पादन भएको छ भने अब यसलाई विस्तार गर्न प्रविधिको आवश्यक छ ।

रामपुर नगरपालिका क्षेत्रमा मात्रै करिब एक दर्जन घरका छतमा लटरम्म हरियाली तरकारी फलेका छन् । तरकारी किन्ने पैसा बचत भएको छ भने आफूले नै उत्पादन गरेको स्वस्थ ताजा तरकारी खान पाइएको छ ।

कौसी खेती महिलालाई समय बिताउने माध्यम बनेको छ । जग्गाको अभावमा पनि घरायसी प्रयोजनका लागि छतमै तरकारी फलाउन सकिन्छ भन्ने यहाँका महिलाहरु उदाहरणीय बनेका छन् । मेहनत र परिश्रम गरियो भने घरका छतलाई नै करेसाबारी बनाउन सकिन्छ ।
रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्