Shikhar Insurance
National Life

‘संस्कृति र प्रकृति’को संरक्षण गर्दे खड्कवार होमस्टे

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १३:५४
Hyundai
NCELL
NIMB

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१३ मा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास (होमस्टे) संस्कृति र प्रकृतिको संरक्षणमा जुटेको छ । बाँके निकुञ्जसँगै जोडिएको खड्कबारमा संस्कृति र प्रकृति’को संरक्षण र विकासका लागि घरबासले अभियान सञ्चालन गरेको व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर रानाले बताए ।

उनका अनुसार, खड्कवारलाई घरबासको माध्यमबाट नगर तथा सहरीक्षेत्रमा चिनाउन र यस ठाउँको विकास र समृद्धिका लागि सञ्चालन गरिएको हो । खड्कवार नजिकै हात्तीसार रहेकाले हात्ती सफारिका लागिसमेत उपयुक्त रहेकोले आन्तरिक पर्यापर्यटन तथा पर्यटकका लागि उचित गन्तव्य भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थारु, जनजाति, बाहुन क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाच देखाइने गरिएको अध्यक्ष रानाले बताए । स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र स्थानीय कुखुरा तथा खसीको मात्रै प्रयोग गरिनु खड्कवार घरबासको विशेषता हो ।

खड्कवार संस्कृति र प्रकृतिको संरक्षणसँगै आर्थिक रुपमा सबल बनाउन आवश्यक समन्वय गर्दै आएको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए।

बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन आफूहरू लागिपरेको भन्दै उनले भने, “निकुञ्जभित्र आवश्यक संरचना निर्माण भइसकेको अवस्थामा अब यहाँ धेरैभन्दा धेरै पर्यटकलाई पाटेबाघलगायत दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउन हामी आह्वान गरिरहेका छौँ । यहाँ आउने पर्यटकको रोजाइँमा खड्कवार घरबास हुनेछ ।”

तीन वटा घरबाट करिब ५ वर्षअघि सुरु गरिएको घरबास अहिले ७ घरमा सञ्चालन भएको छ । कोभिड अघि धेरै चहलपहल हुने गरेको खड्कवारमा अहिले पनि आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जले पर्यटन प्रवद्र्धनमा समन्वय गर्दै आएको छ । निकुञ्जमा पर्यटकको आगमन भए पनि सन्तोषजनक रूपमा बढ्न नसकेकाले पर्यटन प्रवद्र्धन गर्ने रणनीतिका साथ काम थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले जानकारी दिए ।

उनका अनुसार, निकुञ्जमा अहिले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक गतिविधि सञ्चालन भइरहेका छन् । खड्कवार घरबासमा घुम्न आउने पर्यटकलाई निकुञ्जमा ल्याउन आवश्यक समन्वय र सहकार्य भइरहेको छ । बाँके राष्ट्रिय निकुञ्जमा घुम्न पैदलमार्ग, हात्ती सफारी, बास बस्न घरबास राप्ती नदीमा जलविहारलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयार अवस्थामा छन् ।

कोहलपुर नगरपालिका–१३ का वडाध्यक्ष ओमप्रकाश ओलीले खड्कवार घरबास बाँकेकै पर्यापर्यटनको प्रभावकारी गन्तव्य बन्दै गएको बताए । वडा कार्यालयले बाँके निकुञ्जमा पर्यटन प्रवद्र्धनसँगै १३ नं. वडालाई हरित वडाका रूपमा अगाडि बढाएर खड्कवार घरबासको प्रचारप्रसारमा आवश्यक समन्वय गरेको उनको भनाइ छ ।

खड्कवार घरबासलाई प्रकृति र संस्कृतिको संरक्षणसँगैको अभियानमा अगाडि बढाउन आवश्यक सबै संरचना निर्माणका लागि आर्थिक स्रोतको अभाव रहेको घरबास सञ्चालक रानाले बताए। कोहलपुर नगरपालिकाले विद्युत् ऊर्जाको लागि सौर्य उर्जा खरिदमा सहयोग गरेको छ ।

यसैगरी खड्कवारमा सामुदायिक घरबास सांस्कृतिक भवन निर्माणमा पनि नगरपालिकाले सहयोग गरेको छ । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले आन्तरिक पर्यटनका लागि खड्कवारमा प्रचुर सम्भावना रहेकाले व्यवस्थित रुपमा होमस्टे सञ्चालन गर्नसके गाउँमै रोजगारीको सिर्जना हुने बताए ।

कोहलपुर नगरपालिकाले समेत आर्थिक सहयोग गरिरहेकाले घरबासलाई व्यवस्थित, मर्यादित र सुरक्षित रुपमा सञ्चालन गर्न तथा पर्यटकको आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने नगरप्रमुख रावतको सुझाव छ ।
रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्