काठमाडौं । निर्वाचन आचारसंशिता लागेको भन्दै वैशाख १७ गते तय भएको भन्सार एजेन्टको परीक्षा रोकिएको छ । कोरोना महामारी र अदालती झमेलाले पार पाएसँगै भन्सार एजेन्टको परिक्षा १७ गते हुने भनिएकामा निर्वाचन आयोगले भन्सार विभागलाई पत्र लेख्दै परिक्षा सञ्चालन नगर्न भनेको हो ।
आयोगले बुधबार निर्णय गर्दै निर्वाचन सम्पन्न नभएसम्म परिक्षा सञ्चालन नगर्न भनेको छ ।
वैशाख १७ गते शनिबार दिउँसो २ बजेका लागि परीक्षा तय गरिएको थियो । भन्सार विभागका अनुसार उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो ।
यसअघि गत फागुन २६ गते उच्च अदालत पाटनले तत्काल परीक्षा सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । जसकारण फागुन २८ गतेका लागि तय भएको परीक्षा स्थगित भएको थियो । गत चैत १३ गते उच्च अदालत पाटनले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिए पछि मध्य वैशाखमा परिक्षा गर्ने निर्णय गरिएको थियो ।
परिक्षा मिति तोकेर भन्सारले निर्वाचन आयोगलाई चैत २० गते जानकारी गराएकामा आयोगले हिजोमात्र यसबारे निर्णय लिएको हो ।
१७ गतेका लागि तय भएको परीक्षाको केन्द्र टुंगो लाग्न बाँकी नै । यसअघि सबै प्रक्रिया पुरा गरेर पनि अन्तिममा परिक्षा रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्