काठमाडाैं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चरम विवादमा फसेको छ । असन्तुष्ट समुहले समानान्तर कमिटी निर्माणको तयारी समेत थालेको असन्तुष्ट समुहका एक नेताले सिंहदरबारलाइ जानकारी दिए । अखिलमा विवादको जरो भने असोजमा सम्पन्न महाअधिवेशन बाट नै भएको तर गत सोमबारको जुम बैठकमा पदाधिकारी घोषिणा गरेपछि भने विवादले चरमोत्कर्ष पार गरेको छ ।
असोजमा सम्पन्न महाधिवेशन बाट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई चयन गरेपनि विवादका कारण अन्य पदाधिकारी चयन गर्न भने सकेको थिएन । यही सोमबार गरिएको उक्त जुम बैठकमा पदाधिकारी घोषणा गरेपछि क्रान्तिकारीमा विवाद झन् चर्किएको हो ।
यो बैठकले केन्द्रीय सदस्य नरहेका समेतलाई पदाधिकारी बनाएकाे छ जुन संगठनको विधान विपरित भएको दाबी गरिएको छ ।
सो जुम बैठकले उपाध्यक्ष, महासचिवसहितका सबै पदाधिकारी पनि चयन गरेको छ । विवादको केन्द्रमा भने उपराष्ट्रपती पुत्र दिनेश पुन रहेका छन् । पुनलाई अखिल क्रान्तिकारीको महासचिवमा चयन गरिएको छ । यसअघि सम्मेलनकै क्रममा पुनलाई माओवादी नेतृत्वले पदाधिकारी घोषणा गर्न चाहे पनि क्रान्तिकारीकै अन्य सदस्यहरुले चर्को विरोध गरेपछि सम्भव भएको थिएन ।
भौतिक रूपमा बैठकमा घोषणा गर्न सम्भव नभएपछि जुममार्फत राखिएको बैठकमा अन्य सहभागीहरुलाई बोल्न नदिन म्युट गरेर एकपक्षीय रूपमा पदाधिकारी घोषणा गरिएको थियो ।
अनेक विवादका बीच क्रान्तिकारीको यही सोमबार जुम एपमार्फत केन्द्रीय कमिटीको भर्चुअल बैठक राखेको थियो । प्रशिक्षण कार्यक्रम भन्दै बोलाइएको उक्त जुम बैठकमा फ्याक्सन इन्चार्ज हितमान शाक्य र क्रान्तिकारी अध्यक्ष पन्चा सिंहले कसैलाई पनि आफ्नो धारणा राख्न नदिई सबैलाई म्युट गरेर पदाधिकारी घोषणा गरेको एक नेताले सिंहदरबार लाई बताए । उनले यस विषयमा अध्यक्ष प्रचण्डलाई भेटेर ध्यानाकर्षण गर्ने तयारी भइरहेको समेत जनाएका छन् ।
उनका अनुसार यदी आफ्ना माग सम्बोधन नगरे समानान्तर कमिटी बनाएर अघि बढाउने तयारी भैरहेको छ । “प्रशिक्षण कार्यक्रम भन्दै बैठक बोलाउने, म्युट गरेर बोल्न नदिने, जबरजस्ती पदाधिकारी घोषणा गर्ने, यस्तो मनमानीले संगठन कसरी चल्छ ?” ति नेताले आक्रोश पोखे ।
जुम बैठकमा केन्द्रीय सदस्य, आयोग सदस्य, केन्द्रीय प्रतिनिधि, प्रदेश पदाधिकारी, प्रदेश सदस्य र जिल्लाका पदाधिकारीलाई बोलाइएको थियो ।
इन्चार्ज शाक्य समूहका नेताहरुलाई जसरी पनि पदाधिकारीमा पार्ने नियतले यो सब गरिएको, यदि चुनाव भएदेखी शाक्य समुहका मानिस नपर्ने देखिएपछि चुनाव नगरी एकपक्षीय रुपमा जुम बैठकमार्फत निर्णय लिइएको हो । अखिलका एक नेताका अनुसार माउ पार्टीको नेतृत्वको यो कदमबाट झण्डै १०० जना केन्द्रीय सदस्य असन्तुष्ट छन्।
उनले झण्डै १६०० को उपस्थिति हुनुपर्नेमा दुई सयदेखि २५० जनासम्मको भर्चुअल उपस्थितिमा एकपक्षीय रुपमा विधि विधानको धज्जी उडाउदै उक्त निर्णय लिइएको बताए ।
प्रतिक्रिया दिनुहोस्