काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल श्रीलंकको बाटोमा कुनै पनि हालतमा नभएको निष्कर्श निकालेको छ । परिसंघले अर्थतन्त्रको तथ्यांक विश्लेषण गर्दा नेपाल श्रीलंकाको स्थितिमा नरहेको र त्यस्तो स्थिति पनि आउने संकेत नरहेको पत्ता लगाएको हो ।
उपलब्ध तथ्यांक र विगतको परिदृष्यको विश्लेषण गर्दा नेपाल अहिले आर्थिक संकटको स्थितिमा नरहेको र संयमित भएर कार्य अघि बढाउनुपर्ने अवस्थामा रहेको परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दाबी गरे ।
नेपालका उद्योगी आर्थिक संकटको सामाना गर्नुपरेको छ । कर्जा पाएको छैन, आयात गर्न पाएका छैनौं, कर्जाको माग पूर्ति गर्न सक्ने स्रोत छैन, अग्रवालले भने, तर हाम्रो निष्कर्श के छ कि हामी संकटको अवस्था छैन, प्यानिक हुनुपर्ने आवश्यकता लागेन । तर, सबै ठीक भन्न सकिन्न । सचेत हुनुपर्ने र बिग्रन दिनु नहुने स्थितिमा छ ।
उनका अनुसार अर्थतन्त्र खुम्चिने क्रममा रहेनपनि अर्थतन्त्रको यथार्थ स्थितिले सजग रहनु पर्ने संकेत गरेको छ ।
परिसंघका उपाध्यक्ष अनुज अग्रवालले अर्थतन्त्रको तथ्यांक प्रस्तुत गर्दै अर्थतन्त्र खराब स्थितिमा नरहेको निष्कर्श परिसंघको रहेको सुनाए ।
मिस इन्फरमेसनले गलत सन्देश गएको छ, अग्रवालले भने, तथ्यांकले कुनै पनि हालतमा संकटमा छैन भन्ने प्रमाण प्रस्तुत गरेको छ ।
अग्रवालले नेपाल र श्रीलंकाको जीडीपीको आकार दोब्बर अन्तर रहेको, जीडीपीको तुलनामा राष्ट्रिय ऋणमा ठूलो अन्तर रहेको, नेपालको विदेशी मुद्रा सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त तर श्रीलंकको १ महिनाका लागि पनि नभएको तथा मुद्रास्फीति नेपालमा ७ र श्रीलंकामा २५ प्रतिशत रहेको तथ्य प्रस्तुत गर्दै नेपाल र श्रीलंकालाई तुलनै गर्न नमिल्ने बताए ।
यी तथ्यांकले नेपाल र श्रीलंकाबीच तुलना गर्न नमिल्ने तथ्य उजागर गर्छ, अग्रवालले भने, यसकारण पनि असहज र अत्यासलाग्दो वातावरण सिर्जना गर्ने गरी तुलना गर्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्