काठमाडौं । कोरोनाका कारण सुस्ताएको पदयात्रा पर्यटनले गति लिन थालेसँगै यस क्षेत्रमा लाग्ने व्यवसायी उत्साहित बनेका छन् । पछिल्ला दिनमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा स्थापित बन्दै गएका अन्नपूर्ण आधार शिविरको पदयात्रा होस वा मर्दी हिमालको पदयात्राका लागि दैनिक ठूलै सङ्ख्यामा पदयात्री जाने गरेका छन् ।
पछिल्ला दिनमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि पदयात्राका लागि आउन थालेसँगै पदयात्रा मार्गका व्यवसायीमा उत्साह थपिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले बताए ।
समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्राका लागि युरोपियन, इटालियनलगायत स्थानका विदेशी पर्यटक आउन थालेको उनले बताए । पछिल्ला समयमा कोरोना सङ्क्रमणको दर घट्दै गएको र जनजीवन सामान्यावस्थामा फर्किंदै गरेको अवस्थामा फागुनको अन्तिम सातादेखि नै पर्यटकको चाप बढ्दै गएको उनले जानकारी दिए ।
उनका अनुसार पदमार्गअन्तर्गतका होटेल सबै स्थानमा खुली पर्यटकको सेवामा लागेका छन् । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्णको काखमा गरिने गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रामध्ये पर्छ ।
सर्वप्रथम सन् १९५० जुन ३ मा फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम (८,०९१) को सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । सो सफलतासँगै सन् १९५३ मे २९ मा सर्वप्रथम तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गका योजनाकार कर्णेल जिम्मी रवर्टस (बेलायत) हुन् । उनले सन् १९६५/६६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गबारे दैनिकी लेखेका थिए । समुद्र सतहदेखि चार हजार १३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पहिलो यात्री एरिक सिप्टन (१९६६) हुन् । उनले गरेको पदयात्रासँगै यस क्षेत्रको पदयात्रामा आकर्षण बढ्दै गएको हो । तथ्याङ्कानुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पदयात्राका लागि नै आउने गर्छन् । त्यस्तै १० प्रतिशत हिमाल आरोहण र २० प्रतिशत अन्य पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गर्छन ।
आजभन्दा चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी बस्नुपर्थ्यो । पछिल्लो तीन दशकयता पदयात्रा मार्गमा पर्याप्त होटल नरहे पनि यहाँका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा हाल २६ होटेल सञ्चालनमा रहेकोमा पछिल्ला समयमा ती होटेलको क्षमता विस्तारसँगै नयाँ होटेल खोल्ने क्रम पनि सुरु भएको छ ।
उक्त क्षेत्रमा स्थानीय सरकार, पर्यटन व्यवसायीसहित सरोकारवालाबीच सहमति कायम गरी अन्य १० वटा होटेल थप्ने निर्णय गरिएकोमा दुई तीन वटा होटेल बनिसकेको र अन्य बन्ने क्रममा रहेको स्थानीय समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डनुसार यसअघि यहाँका २६ होटेल प्रत्येकमा छ कोठाका दरले १५६ कोठा रहेका थिए ।
संयोजक गुरुङका अनुसार अन्नपूर्ण आधार शिविर र यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न अन्नपूर्ण सेञ्चुरी समितिले वार्षिकरुपमा अन्नपूर्ण म्याराथनसमेत आयोजना गर्दै आएकोमा विगत दुई वर्षयता कोरोना कहरले प्रभावित बनाएको छ । प्रत्येक वर्ष जुन ३ (अन्नपूर्ण डे) का अवसरमा गरिने म्याराथनमा विदेशी धावकसमेत सहभागी बन्ने गरेका छन् ।
पदयात्रा मार्गकै देउरालीको पूर्वतर्फको पहाडमा अवस्थित गौतम बुद्धको आकृति, दोभान र हिमालयका बीचमा अवस्थित अतिप्राचीन पूजनीयम बराह र त्यहाँबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्ता स्थललाई थप व्यवस्थित गर्दै लैजाने गरी स्थानीयले प्रयास थालेका छन् । पदमार्गमा पर्ने धार्मिक पर्यटकीय महत्वको पुजनीयम् बराहको मन्दिर बनाउने काम भइरहेको छ ।
पदयात्रा पर्यटनमा पछिल्ला समयमा बढ्दै गएको पर्यटकको आकर्षणले आफूहरूलाई थप उत्साहित बनाएको बताउँदै सचिव गुरुङले यसलाई आफूहरूले शुभ सङ्केतका रुपमा लिएको बताए । कोरोना कहर पछि पर्यटको आगमनलाई बढाउन आफूहरूले होटेलको मेनुका आन्तरिक पर्यटकका लागि ३० प्रतिशतसम्म छुट दिएको उनको भनाइ छ ।
अन्नपूर्ण आधार शिविरको पदमार्गसँगै कास्कीकै अर्को महत्वपूर्ण मर्दी हिमाल पदमार्गमा पनि पर्यटकको चाप बढ्दै गएको युवा पर्यटन व्यवसायी सुदीप गौतमले जानकारी दिए ।
मर्दी हिमालमा पदयात्राका लागि पछिल्ला दिनमा दैनिक १०० भन्दा बढी सङ्ख्यामा पर्यटक आउने गरेको जनाउँदै उनले पदयात्रा पर्यटनमा सकारात्मक सङ्केत मिलेको र यसले व्यवसायीमा उत्साह थपेको बताए ।
प्रतिक्रिया दिनुहोस्