काठमाडौं । पछिल्लो समय ‘नेपालको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको’ विषय चौतर्फि चर्चामा छ । यो चर्चाले निजी क्षेत्र, विदेशी लगानीकर्ताका साथै आम नागरिकलाई समेत हतोत्साहित गरिरहेको छ ।
सुचांकहरुसँग चालु आवको अर्थतन्त्रका सुचांकहरुलाई विगतका वर्षहरुको आर्थिक वृद्धिमा तुलना गर्दै सार्वजनिक रुपमै यस सम्बन्धि बहस चलिरहेको छ । साथै अधिकांश सञ्चार माध्यमहरुले प्रकाशनका सामाग्रीमा मूख्य विषय वस्तु रुपमा पनि समेट्न थालेका छन् ।
वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै सञ्चार माध्यममा व्यक्त गरिएका धारणा प्रति अर्थ मन्त्रालयले ध्यान आकृष्ट गरेको छ । अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको जानकारी गराउँदै मुलुकको अर्थतन्त्र सामान्य अवगस्थामै रहेको उल्लेख गरेको छ ।
बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिसकिएको मन्त्रालयलले उल्लेख गरेको छ। अर्थतन्त्र संकटउन्मुख नभएको भन्दै मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्थाको २३ सुचांकहरुलाई प्रस्तुत गरेको छ । मन्त्रालयले २३ वटा बुँदामा मुलुकको अर्थतन्त्रलाई सामान्य अवस्थामा भएको चित्रण गरेको हो ।
आर्थिक वृद्धि तथा कुल गार्हस्थ्य उत्पादन
१. आर्थिक वर्ष २०७६/७७ आर्थिक वृद्धि २/१ प्रतिशतले ऋणात्मक हुन गएकोमा आर्थिक वर्ष २०७७/७८ मा पनि कोभिड–१९ महामारीको दोस्रो लहरको प्रतिकूलताले अर्थतन्त्रमा ७.० प्रतिशतको लक्ष्य अनुरुप उपलब्धि हासिल हुन नसकी केवल ४.० प्रतिशतमा सीमित हुने अवस्था छ।
चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ। कोभिड–१९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्यलाई २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको अवस्था जस्तै उद्योगहरुको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको छ। यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ।
मूल्य स्थिति
२. विगत तीन वर्षको औसत मुद्रास्फीति ५.१८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ। पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण सो को प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकोले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरु अवलम्बन गर्नुपर्ने स्थिति छ।
वैदेशिक व्यापार
३. वस्तु आयातमा भएको उच्च वृद्धिका कारण व्यापार घाटा बढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ। चालु आर्थिक वर्षको चैत्र २५ सम्म वस्तु आयात र निर्यात क्रमशः १४ खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ र १ खर्ब ५९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३३.९ प्रतिशत र ७२.८ प्रतिशतले वृद्धि भएको छ। फलस्वरुप, व्यापार घाटा बढेर १२ खर्ब ९० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। विश्व वजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको छ।
विदेशी विनिमय सञ्चिति
४. २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई २०७८ फागुनमसान्तमा ११ खर्ब ७१ अर्ब कायम हुने देखिएको छ। उक्त सञ्चिति करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ।
विप्रेषण आप्रवाह
५. चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विप्रेषण आप्रवाहमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा द्ध।ढ प्रतिशतले कमी आई ६खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ। यस्तो आप्रवाह फागुन महिनामा मात्र ९१ अर्ब प्राप्त भएको छ। यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।
पर्यटन
६. पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। फलस्वरुप, सन् २०२२ को मार्चसम्म (पहिलो ३ महिनामा) नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ। सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।
वैदेशिक रोजगार
७. चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३६३ प्रतिशतको उल्लेख्य वृद्धि भई २ लाख २६ हजार ७०० पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७४.८ प्रतिशतले घटेको थियो।त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९२ प्रतिशतको उल्लेख्य वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६५.२ प्रतिशतले घटेको थियो
वैदेशिक लगानी
८. चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभाग मार्फत रु।३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशतले बढी हो। २०७८ माघ मसान्तसम्म लगानी बोर्ड नेपाल मार्फत ८२ अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
सार्वजनिक खर्च
९. चालु आर्थिक वर्षको चैत्र २६ गतेसम्म संघीय सरकारको कुल खर्च ७ खर्ब ६८ अर्ब २५ करोड रुपैयाँ (कुल विनियोजनको ४७.०५ प्रतिशत) रहेको छ। यस्तो खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६७२ अर्ब ७८ करोड (कुल विनियोजनको ४५.६२ प्रतिशत) मात्र रहेको थियो। चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतले बढी हो।
१०. कूल खर्च मध्ये चालु खर्च ६ खर्ब ५ अर्ब ६३ करोड रुपैयाँ अर्थात विनियोजनको ५६.८५ प्रतिशत र पुँजीगत खर्च ९७ अर्ब ६६ करोड रुपैयाँ अर्थात विनियोजनको २५.८३ प्रतिशत रहेको छ। त्यस्तै वित्तीय व्यवस्था अन्तर्गतको खर्च ६४ अर्ब ९७ करोड रुपैयाँ अर्थात ३४.२९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४.३८ प्रतिशत, पुँजीगत खर्च २८.०८ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ३३.३३ प्रतिशत मात्र रहेको थियो।
राजस्व
११. आर्थिक वर्ष २०७८/७९ को चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशतले वृद्धि भई ७ खर्ब ५० अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। जुन राजस्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३.५६ प्रतिशत हो। यस अवधिमा कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९३ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब ३५ करोड रुपैयाँ (लक्ष्यको ६४.६४ प्रतिशत) रहेको छ भने गैरकर राजस्व २८.४२ प्रतिशतले बढेर ५९ अर्ब ९९ करोड रुपैयाँ (लक्ष्यको ५३.२६ प्रतिशत) पुगेको छ।
आन्तरिक तथा वाह्य ऋण
१२. चालु आर्थिक वर्षमा २ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिइएकोमा यस आर्थिक वर्षको चैत्र २८ गते सम्ममा १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन भएको छ। हालसम्म १ खर्ब १६ अर्ब बराबरको वाह्य ऋण तथा १३ अर्ब ८८ करोड रुपैयाँ वरावरको वैदेशिक अनुदान गरी जम्मा १ खर्ब २९ अर्ब ८८ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ।
१३. नेपालको सार्वजनिक ऋण वाञ्छित सीमाभित्र नै रहेको छ। २०७८ चैत्र २८ गतेसम्म आन्तरिक ऋण ७३ अर्ब १९ करोड र बाह्य ऋण ८० अर्ब ८० करोड गरी कूल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रहेको छ। जुन नेपालको गत आर्थिक वर्षको प्रारम्भिक कूल गार्हस्थ्य उत्पादनको करिब ४३.४ प्रतिशत हुन आउँछ। कूल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋणको अंश दक्षिण एशिया र समान आर्थिक अवस्था भएको मुलुकको दाँजोमा न्यून नै रहेको छ।
१४.चालु आर्थिक वर्षको फागुनसम्म बाह्य ऋणतर्फ १९ अर्ब १३ करोड र आन्तरिक ऋण तर्फ ५१ अर्ब ३ करोड गरी जम्मा ७० अर्ब १६ करोड रुपैयाँ बराबरको सावाँ र ब्याज भूक्तानी गरिएको छ।
१५. चालु आर्थिक वर्षमा वैदेशिक ऋणको साँवा ब्याज गरी जम्मा ४० अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रतिवद्धता रहेको छ। उक्त रकम कूल वैदेशिक मुद्राको हालको सञ्चिति ११ खर्ब ७१ अर्बको तुलनामा न्यून नै हो।
विकास सहायता प्रतिवद्धता
१६. हालसम्म १ खर्ब २६ अर्बको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ।
मौद्रक एवं तरलता व्यवस्थापन
१७. २०७८ माघ मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निजी क्षेत्र तर्फ निक्षेप संकलन ३.६ प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिमा कर्जा प्रवाह १२.३ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च भएको कारण बैंकिङ्ग प्रणालीको तरलतामा चाप परेको छ।
१८. कर्जा प्रवाह मध्ये माघ मसान्तसम्म सहुलियत दरमा प्रदान भएको पुनर्कर्जा १ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ लगानीमा रहेको छ भने सहुलियतपूर्ण कर्जा १ लाख ४२ हजार ३ सय ४४ ऋणीलाई २ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ प्रवाह भएको छ। कोभिड–१९बाट प्रवाहित उद्यमी तथा व्यवसायीलाई प्रदान गरिएको व्यावसायिक निरन्तरता कर्जा २०७८ माघ मसान्तसम्म १ अर्ब १३ करोड रुपैयाँ स्वीकृत भएको छ।
१९. चालु आर्थिक वर्षको माघ मसान्तसम्म विभिन्न उपकरणहरु मार्फत् ४० खर्ब ८६ अर्ब ४ करोड तरलता प्रवाह भएको छ।
अर्थतन्त्रमा परेको दवाव र जिम्मेवारीबोध
२०. दुई वर्षदेखिको कोभिड–१९ महामारीको प्रतिकूल प्रभावले शिथिल भएको अर्थतन्त्र कोभिड–१९ विरूद्धको खोपको उपलब्धतासँगै विस्तारै सामान्यीकरण बन्दै गएको छ।
२१. वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध उपकरणको प्रभावकारी कार्यान्वयन, विदेशी विनिमय संचिति, विप्रेषण आप्रवाह, उद्योग व्यवसाय संचालनमा बढोत्तरी, कम उत्पादनशीलक्षेत्रमा कर्जा प्रवाह निरुत्साहन, अनुत्पादक क्षेत्रमा आयात निरुत्साहन, सुन आयातमा कटौती, बैंक मार्फत विप्रेषण आप्रवाहमा थप व्याज प्रोत्साहन, वैदेशिक सहायता प्राप्तिको प्रतिवद्धता समेतबाट अर्थतन्त्रको वाह्य दवावको उपयुक्त व्यवस्थापन हुँदै जाने देखिन्छ।
२२. विदेशी मुद्रा संचितिको अवस्था सामान्य नै रहे तापनि यसलाई बढाउन विप्रेषण आप्रवाह बैंक मार्फत गर्ने, विलासी वस्तुको आयात घटाउने, विदेशी लगानीको उपयुक्त वातावरण तयार गर्ने, वैदेशिक सहायताको सोधभर्ना समयमै प्राप्त गर्ने, पुजीगत खर्च बढाउने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने जस्ता विषयमा विश्लेषण तथा विमर्स गरी तदनुसारका नीति निर्माण र कार्यान्वयन गर्न गराउन अर्थ मन्त्रालय अग्रसर रहेको अवस्था छ।
२३. अर्थतन्त्र र आर्थिक परिसूचकहरूका सम्बन्धमा विभिन्न सञ्चार माध्यम र क्षेत्रबाट प्राप्त हुने सुझावको अर्थ मन्त्रालय उच्च प्रशंसा गर्दछ। मुलुकप्रतिको जिम्मेवारीबोध गर्दै अर्थतन्त्रको वर्तमान अवस्थाको सुक्ष्म निगरानी गरी आवश्यकता अनुरूप थप कदमहरू अगाडि बढाइनेछ। यस सम्बन्धमा व्यक्त चासो र चिन्ताका लागि धन्यवाद व्यक्त गर्दै नियमित रूपमा सुझाव उपलब्ध गराइदिनहुन बुद्धिजिवी वर्ग र आम नागरिकमा अर्थ मन्त्रालय हार्दिक अनुरोध गर्दछ।
धन्यवाद।
प्रतिक्रिया दिनुहोस्