Shikhar Insurance
National Life

संकटमा गभर्नरको ढाडसः आत्तिनु पर्दैन, अझै साढे ७ महिनालाई आयात धान्ने विदेशी मुद्रा बाँकी छ

सिंहदरबार संवाददाता
२०७८ चैत्र २५, शुक्रबार १७:३४
Hyundai
NCELL
NIMB

काठमाडौंमा । राष्ट्र बैंकका गभर्नर महाप्रसार अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका छन् । उनले राष्ट्र बैंकले आयोजना गरेको अर्थशास्त्र र वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा सो बताएका हुन् ।

सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक मन्तव्य राख्दै २०७८ साउनयता विप्रेषण आप्रवाह घटिरहे पनि फागुन महिनामा भने विप्रेषण आप्रवाहमा सुधार देखिएको जानकारी दिए । हाल नेपालसँग ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु वा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम रहेको आँकडा उनले प्रस्तुत गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोभिडको प्रभाव घटेसँगै कर्जा विस्तार, बढ्दो आयात र पर्यटन क्षेत्रको आम्दानीमा कमी आएका कारण चालु खाता र शोधनान्तर स्थिति निरन्तर घाटामा रहेको बताए । यसले बाह्य क्षेत्र व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको उनको धारणा थियो । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा व्यापार घाटा करिब २ खर्च ९८ अर्ब रुपैयाँले वृद्धि भएको जानकारी दिए ।

बाह्य क्षेत्रमा उत्पन्न चुनौतीको व्यवस्थापनको निम्ति नेपाल सरकार र राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे जानकारी दिए ।

यस क्रममा बैंकदरको वृद्धि, सुनको आयात कटौती, विदेशी मुद्राको निक्षेप प्रोत्साहन, वैदेशिक सहायता परिचालनलगायतका नीतिगत व्यवस्थाहरू अवलम्बन गरिएको चर्चा उनले गरे ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट भर्खरै ३९ करोड ५९ लाख अमेरिकी डलर विस्तारित कर्जा सुविधा (ईसीएफ), करिब ४७ अर्ब रुपैयाँ बराबरको शून्य ब्याजदरको ऋण स्वीकृत भएको जानकारीसमेत गभर्नर अधिकारीले दिए ।

बाह्य क्षेत्र व्यवस्थापनको निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका कारण बाह्य क्षेत्रको अवस्थामा केही सुधार देखिएको धारणा उनले राखे । तथापि रुस–युक्रेनबीचको जारी द्वन्द्वको अन्त्य र कुल आयातमा ३५ प्रतिशत हिस्सा रहेको उपभोग्य बस्तुको आयातलाई प्रतिस्थापन नगर्दासम्म बाह्य क्षेत्र स्थायित्वमा जोखिम कायमै रहने उनको भनाई थियो ।

बाह्य क्षेत्र व्यवस्थापनलाई सबल बनाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा गभर्नर अधिकारीले राखे ।

उनले भने, “विदेशी मुद्रा आर्जनको स्रोत सीमित र साँघुरो रहेको सानो र खुला अर्थतन्त्र भएको नेपाल जस्तो देशमा पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम राख्नुपर्ने बाध्यता हुन्छ । तसर्थ, बाह्य क्षेत्र समस्याले समग्र अर्थतन्त्र र यसका विभिन्न परिसूचकमा पार्नसक्ने प्रभावलाई मनन गर्दै यसतर्फ  सबैले सोच्न जरुरी छ ।”

केही दिनअघि मात्र अर्थतन्त्र संकटमा रहेको हल्ला फैलिएको थियो । तर, गभर्नर अधिकारीले सार्वजनिक फोरममा बोल्दै नआत्तिन अनुरोध गरेका हुन् ।

बाह्य क्षेत्र व्यवस्थापनलाई सुदृढ तुल्याउन आन्तरिक उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, विप्रेषण आप्रवाह, वैदेशिक लगानी र वैदेशिक सहायतामा वृद्धि गर्नुपर्ने आवश्यकता गभर्नर अधिकारीले औँल्याए ।

सो अवसरमा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले स्वागत मन्तव्य राख्दै तरलताको चाप, उच्च व्यापार घाटा, विप्रेषण आप्रवाह उल्लेख्य मात्रामा बढ्न नसकेका कारण अर्थतन्त्रमा चुनौती देखिएको धारणा राखिन् ।

सम्मेलनको उद्घाटन सत्रमा नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धान फेलो डा. कल्पना खनालले कोभिड–१९, नेपालको अर्थतन्त्र र नीतिगत व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

त्यस क्रममा उनले कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर, यसलाई सम्बोधन गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्था, अर्थतन्त्रको वर्तमान परिसूचक र कार्यदिशाबारे चर्चा गरे ।

उक्त सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञद्वारा आर्थिक, मौद्रिक, बैंकिब, वित्तीय, व्यापार, पुँजी बजार लगायतका विषयमा १७ वटा कार्यपत्रहरू प्रस्तुत भएका छन् । बैंकद्वारा आयोजित अर्थशास्त्र र वित्तसम्बन्धी सम्मेलनको यो चौथो संस्करण हो ।

यसअघि सन् २०१२, २०१५ र २०२० मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएका थिए । कोभिड–१९ संक्रमणको असर कायमै रहेका कारण यस वर्षको सम्मेलन राष्ट्रियस्तरमा आयोजना गरिएको हो ।

सम्मेलनमा डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका सञ्चालक प्रा.डा. श्रीराम पौड्याल, बैंकका कार्यकारी निर्देशकहरू, विभिन्न संघ÷संस्थाका प्रतिनिधि, अनुसन्धानकर्तालगायत करिब सय जनाको सहभागिता रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्