काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफु नेतृत्वको मन्त्रालयलाई असहयोग गरेको आरोप लगाएका छन् ।
शुक्रबार राष्ट्र बैंकले नै आयोजना गरेको अर्थशास्त्र तथा वित्त सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले गभर्नर अधिकारी नेतृत्वको राष्ट्र बैंकबाट अपेक्षाकृत सहयोग प्राप्त नभएको संकेत गरेका हुन् ।
‘अहिलेको अर्थतन्त्रमा समस्या आउला की भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’ उनले भने, ‘कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर छ, तिनको सपना पुरा हुँदैन ।’
मन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने बताए । ‘हाम्रो ऋण र उत्पादनको अवस्था, बिदेशी लगानी, ऋण सहायता लगाायतका तथ्यांक हे¥यौं भने श्रीलंकासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने बिषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतंकित बनाउने काम गरिरहेका छन् । त्यसको तपाई हामी सबै मिलेर खण्डन गर्नुपर्छ’ उनले भने । तर नेपाल राष्ट्र बैंकले नेपाली अर्थतन्त्रबारे अफवाह फैलाउनेहरुको खण्डन नगरेको मन्त्री शर्माको आरोप थियो ।
उनले क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायतका कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको बताए । तर राष्ट्र बैंकले रोकथामका लागि कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाई थियो । ‘प्रविधिको विकासबाट आउने चुनौतीबाट त्रसित हुने होइन । यसको दुरुपयोग हुन नदिने गरी हामीले कदम चाल्नुपर्नेमा ध्यान दिनुपर्छ’ उनले भने ।
अर्थतन्त्र यतिबेला दबाबमा रहेको बताउँदै उनले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्ने खाँचो रहेको बताए । काम गर्ने परम्परागत शैली लाई परिवर्तन गरेर मात्रै अर्थतन्त्रमा सुधार ल्याउनसक्ने उनको भनाई थियो । मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको बताए ।
बैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने बिषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनले जानकारी दिए । कोभीड १९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्