काठमाडौं । बुक बिल्डिङबाट आईपीओ ल्याउने तयारी गरिरहेको रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता बढाउने भएको छ । देशमै सबैभन्दा बढी रोजगारी दिने उद्योगले दैनिक ८५ टन धागो उत्पादन गर्ने गरेकामा सो उत्पादन क्षमता विस्तार गर्न लागेको हो ।
करिब १० अर्ब रुपैयाँ लगानीमा २५ वर्षदेखि सञ्चालमा रहेको उद्योगका दुई प्लान्टमध्ये सुनसरीको खनारमा रहेको ठूलो प्लान्टलाई विस्तार गर्न लागिएको हो । खनारस्थित प्लान्टमा हाल ७ वटा युनिट सञ्चालमा छन् ।
उद्योगको उत्तरपट्टि रहेको खाली जग्गामा आठौं तथा अत्याधुनिक प्रविधिसहितको युनिट थप गर्न लागिएको मिल्सका प्रमुख कार्यकारी अधिकृत अश्विनी कुमार गुप्ताले जानकारी दिए ।
सातौं र आठौं प्लान्ट करिब साढे ४ अर्ब रुपैयाँ थप लगानीमा बनिरहेको छ । सातौं युनिटमा स्थापित सुविधासम्पन्न र संसारकै सबैभन्दा अत्याधुनिक प्रविधिको मेसिनबाट उत्पादन भइरहेको छ भने आठौं युनिटमा पनि सोही प्रविधि प्रयोग हुने गुप्ताले जानकारी दिए ।
रिलायन्स देशकै सबैभन्दा ठूलो उत्पादनमुदक उद्योग हो । लगानी थपिएसँगै रिलायन्सको कुल पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ ।
नयाँ युनिटको भौतिक संरचना बनिरहेको छ भने मेसिनरी आइपुग्ने क्रममा छन् । आठौं युनिट ६ महिनाभित्रमै सञ्चालमा आउने बताइएको छ ।
रिलायन्स स्पिनिङ मिल्स दैनिक ३ सिफ्टमा चौबिसै घन्टा चल्छ । उद्योग वर्षमा होलि र मजदुर दिवस गरी २ दिनमात्र बन्द गरिन्छ ।
वि.सं. २०५१ मा स्थापना भएर २०५३ सालदेखि सञ्चालमा आएको रिलायन्सको स्थिर पुँजी ६ अर्ब ५ करोड रुपैयाँ हो । उदोगमा पटकपटक गरी १० अर्ब रुपैयाँ लगानी भइरहेको छ ।
औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा स्थापित उद्योगमा १ लाख स्पिन्डल भोर्टेक्ससहित डाइङ र अन्य सहायक प्लान्ट छन् ।
उद्योगले आव २०७७/७८ मा ७५ करोड खुद मुनाफा आर्जन गरेको थियो । जसबाट कर्मचारीले साढे ४ महिनाको तलब बराबरको बोनस प्राप्त गरेका थिए ।
१५ सय ५० महिला सहित ४ हजार जना नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको उद्योग एकै छाता मुनि मुलुककै सबैभन्दा बढी रोजगारी प्रदान गर्ने प्रतिष्ठान हो ।
उल्लेखित श्रमिक मध्ये करिब १५ सय श्रमिक उद्योगले प्रदान गरेको सामुहिक तथा पारिवारिक आवासमा बस्छन् ।
उद्योगले बेल्जियम, थाइल्यान्ड तथा खाडी मुलुकबाट पोलिस्टर, भिसकोस, एक्रेलिकलगायत फाइबरयुक्त कच्चा पदार्थ आयात गरी कम्तिमा ४० प्रतिशत मूल्य अभिवृद्धि गरी विभिन्न किसिमका बजारका माग बमोजिम सिंगल, डबल धागाहरु उत्पादन गर्ने गर्छ ।
यसरी उत्पादित ६० प्रतिशत धागो भारत र २५ प्रतिशत टर्की निर्यात हुने गरेको छ । बाँकी २५ प्रतिशत नेपालमै खपत हुने उद्योगका उपाध्यक्ष महेश कुमार पोखरेलले जानकारी दिए ।
उत्पादन तथा निर्यातको हिसाबमा देशकै ठूलो उद्योगको रुपमा स्थापित रिलायन्सले स्वदेशी उनी धागोको ८० प्रतिशत माग धान्ने गरेको छ ।
उद्योगले गत आवमा करिब ८ अर्ब रूपैयाँको धागो उत्पादन गरेको थियो ।
रिलायन्सले लगानी विस्तारका लागि बुक बिल्डिङमार्फत् आईपीओ जारी गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्