काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष सहित ३ जना सञ्चालकहरुको बैधानिकतामा प्रश्न उठेको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरिद चयन भएका नेपाल लाइफका अध्यक्ष गोबिन्द लाल संघई र सञ्चालकद्धय विवेक अग्रवाल तथा कमलेश कुमार अग्रवालको पद जाने भएको हो ।
समितिले चैत १३ गते बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधन गर्दै एक व्यक्तिले दुई कार्यकाल भन्दा बढी अवधी सञ्चालक बन्न नपाउने व्यवस्था गरेको थियो । तर नेपाल लाइफको २१ औं बार्षिक साधारण सभाले चैत २१ गते नयाँ सञ्चालक निर्वाचित गरेको छ । साधारण सभाबाट निर्वाचित भएको भनिएका अध्यक्ष गोबिन्द लाल संघई र सञ्चालक विवेक अग्रवाल तथा कमलेश कुमार अग्रवालले दुई कार्यकाल पुरा गरिसकेकाले अहिले तेश्रो कार्यकाल सञ्चालक बन्न नपाउने बीमा समितिको निष्कर्ष छ ।
‘बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका भन्दा बाहिर गएर निर्वाचित भएको भनिएका सञ्चालकहरुले मान्यता पाउँदैनन्, संसोधित निर्देशिका जस्ताको त्यस्तै लागु हुन्छ’, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने ।
नेपाल लाइफले भने संस्थापक शेयरधनीका तर्फबाट २०७८ चैत ७ गते प्रकाशित निर्वाचन कार्यक्रम सुरु गरेको, चैत १३ गते संस्थापक संचालकमा उम्मेद्वारी मनोनयन भएको र चैत १४ गते अन्तिम नामावली प्रकाशित गरेर निर्विरोध निर्वाचित गरेको दावी गरेको छ । समितिको निर्देशिका आउनु अघि नै निर्वाचन प्रक्रिया अघि बढिसकेकाले नयाँ सञ्चालक समितिले बैधता पाउने दावी कम्पनीको छ ।
बीमा कम्पनीका सञ्चालकहरुको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । पुरानो निर्देशिकामा एक कार्यकाल सञ्चालक रहेको व्यक्ति पुनः नियुक्त वा मनोनित हुन सक्नेछ भनिएको थियो । तर बीमा समितिले जारी गरेको संसोधित निर्देशकामा यस अघि दुई कार्यकाल नियुक्त वा मनोनित भई काम गरिसकेका सञ्चालकले पुनः अर्काे कार्यकाल सञ्चालक बन्न नपाउने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्