काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभारमा निर्माण भएको सुक्खा बन्दरगाह उद्घाटन गरेका छन् । ९ महिनाअघि निर्माण सम्पन्न बन्दगाहको उद्घाटन मंगलबार गरिएको हो ।
वीरगञ्जबाट सामान बोकेर आएको डिजिटल लकिङ लगाइएको कन्टेनरको बन्दरगाहमा भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिएको हो ।
चोभारमा अत्याधुनिक आईसीडी/सीएफएस (इनल्यान्ड कन्टेनर डिपो / कन्टेनर फ्रेट स्टेसन) अर्थात् सुख्खा बन्दरगाह तयार भएको हो । डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चेर करिब ३ वर्षमा तयार सुख्खा बन्दरगाह सञ्चालनमा आएको हो ।
चोभारस्थित हिमाल सिमेन्टको कारखाना रहेको स्थानमा सुख्खा बन्दरगाह निर्माण भएको हो । बन्दरगाह सञ्चालनमा आएसँगै राजधानीका लागि आयात भएका मालसामाग्री सीमाबिन्दुमा रहेका भन्सारमा जाँच पास नगरीकनै सीधै सुख्खा बन्दरगारमा आएर सबै काम गर्न सकिनेछ । यसैगरी निर्यात हुने सामाग्री पनि यही बिन्दुमा आवश्यक प्रक्रिया पुरा गरी निर्यात हुन सक्छन् । यो बन्दरगाहले वैदेशिक र आन्तरिक व्यापार दुवैमा सहजीकरण हुनेछ ।
यो संरचना नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत निर्माण भएको हो । समितिको अगुवाइमा मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमै अत्याधुनिक संरचना तयार भएको हो ।
विश्व बैंकको ऋण लगानीमा बनेको यो बन्दरगाह निर्माणमा १ अर्ब ५४ करोड रूपैयाँ खर्च भएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । चिनियाँ–नेपाली कम्पनीहरूको ज्वाइन्ट भेन्चर शान्शी–आशिष जेभीले बन्दरगाह निर्माण गरेको हो । बन्दरगाहमै भन्सार कार्यालय र भन्सार क्वारेन्टाइन पनि छन् ।
बन्दरगाह अन्य भन्सार बिन्दु झैं हुनेछ । निर्माणाधीन काठमाडौं–तराई(मधेश) द्रुतमार्ग लक्षित गरेर यहाँ बन्दरगाह बनाइएको छ । यो सुख्खा बन्दरगाहले लागत घटाएर व्यापार सहजीकरण गर्ने बताइएको छ ।
बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाडौं सुख्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना, स्थानीय अवरोध, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइले निर्माण ढिला भएको हो ।
सुख्खा बन्दरगाह नेपालको भन्सारमा नौलो प्रयोग हो । अब सीमा नाकामा गरिने भन्सार जाँचपास यही बन्दरगाहमा हुनेछ । बन्दरगाह सञ्चालनमा आएपछि राजधानी आसपासका लागि भित्रिने मालबाहक सवारी वीरगञ्ज वा भैरहवामा लामो प्रक्रियाका लागि रोकिनुपर्दैन । ती सामान सीधै काठमाडौं आउन सक्छन् । सीमामा आइपुगेका कन्टेनर बाटोभर ट्र्याक भइ बन्दरगाह आइपुग्नेछन् । सो सिल चोभारस्थित काठमाडौं आईएसडी/सीएफएसमा खोलिने र आवश्यक प्रक्रिया पुरा गरिनेछ ।
बन्दरगाहमा ५ सय ट्रक र त्यतिनै सङ्ख्यामा कन्टेनर अट्नेछन् । बन्दरगाहमा भन्सार भवन, क्वारेन्टाइन भवन, सुरक्षाकर्मीको भवन, गोदामलगायत संरचना छन् । यस्तै सामान परीक्षण गर्ने ठाउँ, २ वटा ५४ मिटर लम्बाइ र २४ मिटर चौडाइका गोदाम निर्माण गरिएको छ ।
बन्दरगाहमा वैदेशिक व्यापार र आन्तरिक व्यापारका लागि आएका मालवस्तु राख्ने छुट्टाछुट्टै ठाउँ छुट्याइएको छ । साथै निर्यातकर्तालाई पनि नाकासम्म पुग्नुपर्ने झमेला हटेको छ ।
कूल २२० रोपानी क्षेत्रफलमा फैलिएको बन्दरगाह काठमाडौं तराई–मधेश द्रूतमार्ग निर्माण भई सञ्चालनमा आएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । त्यसका लागि पछाडिपट्टि गेट बनाउन सकिनेछ । बाग्मती नदीमा पुल बनाएर द्रुतमार्गबाट कन्टेनर सीधै बन्दरगाहमा प्रवेश पाउनेछन् । यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं रेल, केरूङ–काठमाडौं रेलबाट आएका सामान पनि सीधै चोभार लैजान सकिन्छ । त्यसपछि बन्दरगाहलाई विस्तार गरिनेछ ।
२०७५ मै काम सुरु गर्ने भनिएपनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७५ माघ ३ गते शिलान्यास गरेका थिए । बन्दरगाह १८ महिनामा निर्माण सम्पन्न हुने बताइएको थियो ।
निर्माण शुरू गर्दा स्थानीयवासीको विरोधले ६ महिना काम रोकिएको थियो । कोरोनाको दुई लहरले थप ८ महिना काम प्रभावित भयो । बन्दरगाहका ३ वटा मुख्य गेट, ३ वटा सवारी साधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ । कन्टेनर यार्ड र पार्किङ यार्डसहित अन्य संरचना बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्