काठमाडौं । नेपाल राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत कटाउने १८ बाणिज्य बैंकहरुलाई थप कर्जा लगानी नगर्न निर्देशन दिएको छ । २७ बाणिज्य बैंकका सिईओहरुलाई बोलाएर राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत बढी भएका बैंकहरुलाई थप कर्जा प्रवाह नगर्न भनेको हो ।
‘सीडी रेसियो ९० भन्दा बढी भएका बैंकहरुलाई नयाँ ऋण प्रवाह नगर्नु भन्ने मौखिक निर्देशन प्राप्त भयो, सीडी पनि कटाउने, नयाँ ऋण पनि दिईरहने काम तत्काल बन्द गर्नु भनेका छन्’, छलफलमा सहभागी एक बाणिज्य बैंकका सिईओले सिंहदरबारसँग भने ।
राष्ट्र बैंक सुपरिवेक्षण विभागका प्रमुख देव कुमार ढकालले निर्देशनात्मक शैलीमा नयाँ श्रोत व्यवस्थापन नहुँदासम्म सीडी रेसियो कटेका बैंकहरुले नयाँ कर्जा रोक्दा नै राम्रो हुन्छ भनेको ति बैंकरले बताए ।
‘असार मसान्त अघि निक्षेपको नयाँ श्रोत व्यवस्थापन कठिन छ, डिबेञ्चर वा वैदेशिक ऋण मात्रै त्यस्ता विकल्प हुन तर त्यो पनि तत्कालै ल्याउन सकिन्न, त्यसैले नयाँ ऋणमा ध्यान नदिँदा नै राम्रो’ बैंक सुपरिवेक्षण विभागका प्रमुख ढकालको भनाई उदृत गर्दै ति बैंकरले भने ।
राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा बैंकहरुको सीडी रेसियोको अनुगमन गर्दै आएको छ । फागुन मसान्तसम्म १८ बाणिज्य बैंकहरुको सीडी रेसियो सिमा भन्दा माथि छ । ति १८ बैंकहरुलाई फागुनको भन्दा चैतमा सीडी रेसियो घटाउनै पर्ने निर्देशन पनि राष्ट्र बैंकले दिएको छ ।
बाणिज्य बैंकहरुले असार मसान्त अवधी भित्र सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्छ । तर ढेड दर्जन बैंकहरुको सीडी रेसियो हाल ९० प्रतिशत माथि र त्यसमा पनि आधा दर्जनको रेसियो १०० हाराहारी पुग्नै लागेको छ ।
फागुन मसान्तसम्म १८ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । जसमध्ये प्राइम बैंकको सीडी रेसीयो ९९ प्रतिशतमाथि छ । साथै, कुमारी बैंकको ९४.९५ प्रतिशत, सिभिल बैंकको ९४.९५ प्रतिशत र नेपाल एसबीआइ बैंकको ९४.३४ प्रतिशत सीडी रेसीयो कायम थियो ।
यस्तै, फागुन मसान्तसम्म मेगा बैंकको ९३.९२ प्रतिशत, बैंक अफ काठमाण्डूको ९३.८३ प्रतिशत, एनसीसी बैंकको ९३.७४ प्रतिशत र नेपाल बंगलादेश बैंकको ९३.३७ प्रतिशत छ । साथै, सेञ्चुरीको ९२.८३ प्रतिशत, इनभेष्टमेण्टको ९२.५६ प्रतिशत, कृषि विकास बैंकको ९२.३५ प्रतिशत र नबिल बैंकको ९२.१० प्रतिशत सीडी रेसीयो फागुन मसान्तसम्म थियो ।
सो अवधिमा सिटिजन्स बैंकको ९१.९४ प्रतिशत, सनराइजको ९१.९४ प्रतिशत, हिमालयनको ९१.३६ प्रतिशत, एभरेष्टको ९१.२२ प्रतिशत, ग्लोबल आइएमईको ९१.०४ प्रतिशत र सिद्धार्थ बैंकको ९०.३१ प्रतिशत कायम थियो ।
प्रतिक्रिया दिनुहोस्