यो आर्थिक वर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन । कोभिड को त्रासले जति बिगार्छ सोचेका थियौ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन । मुद्रास्फितिको दर २ गुणा भन्दा बढिले बढेर ६ प्रतिशतको हाराहारीमा पुगेको छ । थोक मूल्यको मुद्रास्फिति १० प्रतिशतले भन्दा बढिले बढ्यो ।
कर्जा वृद्धिदरको एक तिहाइ पनि निक्षेपको वृद्धिदर हुन सकेन। स्थानीय सरकारको खाताको ८० प्रतिशतसम्म रकमलाई बैंक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यबस्था गर्दा समेत सवा खर्ब रुपैयाँ निक्षेप वृद्धि पनि हम्मे हम्मे भयो। बैंकहरुको सीडी रेसीयो ९१ प्रतिशतको हाराहारी छ ।
व्यापार घाटा ३८/४० प्रतिशतले बढेको छ । बैदेशीक मुद्रा संचिति घट्दै गएर साढे ६ महिना सम्मको वस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ । दुई लाखभन्दा बढि थप नेपाली नागरिकहरु बैदेशीक रोजगारमा जांदा पनि रेमिटेन्स ६ प्रतिशतको हाराहारीले घटेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५५ प्रतिशतभन्दा बढिले वृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ । सरकारले पुर्ववत् पुँजीगत खर्च गर्न सकेनन् ।वैदेशिक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन । वैदेशिक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।
सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा १०० अर्ब रुपैयाँभन्दा थप रकम जम्मा भएको छ । यसले तरलतामा थप चाप परेको छ ।
ब्याजदरमा बृद्धि भएको छ । नयाँ कर्जा पाउनै मुस्किल, पाइहाले पनि १३ प्रतिशतभन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ। यसले उद्यमशिलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ।
देशको अर्थतन्त्रका सुचकांकहरु जस्तै रहे पनि नेपालीहरूको वैदेशीक यात्रा राम्रै बढेको छ। देशमा भन्दा विदेशमा सम्भावना बढि देखिदा काम गर्न या पढ्न भनेर विदेशीने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च ९२ प्रतिशतको हाराहारीले बढेर ३६ अर्ब रुपयाँमाथि पुगेको छ।
पुँजीबजार प्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक २०/२२ अर्ब रुपयाँ कारोबार रकम पुगेको बजार घटेर २/३ अर्ब रुपैयाँ दैनिक कारोबारमा सिमित भएको छ। यसले लगानीकर्ताहरुमा निराशाससँगै पुँजी पलायन को समेत आशङ्का गरिएको छ।
तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिदै समाधानका बारेमा सोचिएन । यस पटकको तरलता अभाव प्रणालीगत हो र छिटै अनि सहजै समाधान हुदैन भन्ने मेरो धारणा शुरुवात मै थियो ।
यस पटक अर्थतन्त्रका सुचकांकहरु सबै तिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थीति छ । अहिले कसले कसलाई दोष दिएर आफु चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन, समाधानका उपायहरुमा लाग्नुपर्छ अनि होस्टेमा हैसे गर्नु पर्छ ।
आत्तिनु पर्ने होईन र सम्हालिएर हिँड्नु पर्ने स्थीति चै छ । समय मै एउटा टास्क फोर्स (राजनैतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दिर्घकालीन समाधानका उपायमा काम गर्न जरुरी छ ।
(मनोज ज्ञवाली नबिल बैंकको महाप्रबन्धक हुन्, प्रस्तुत विचार उनले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।)
प्रतिक्रिया दिनुहोस्