काठमाडौं । भारतबाट महंगोमा विद्युत खरिद गर्नुपरेपछि नेपाल विद्युत प्राधिकरणले औद्योगीक क्षेत्रमा विद्युत कटौती सुरु गरेको छ ।
विद्युत खरिदका लागि दैनिक हुने खरिद बोलकबोलमा महंगो दररेट प्रस्ताव गर्दा समेत विद्युत नपाएको भन्दै प्राधिकरणले औद्योगीक क्षेत्रहरुमा विद्युत कटौटी सुरु गरेको हो ।
देशका प्रमुख औद्योगीक करिडोरहरु मोरङ–सुनसरी, बिरगञ्ज–सिमरा र भैरहवा क्षेत्रमा एक मेगावाट भन्दा बढी विद्युत उपयोग गर्ने उद्योगीहरुको विद्युत १२ घण्टासम्म कटौती भएको हो ।
मोरङ उद्योग संघठनका अध्यक्ष सुयश प्याकुरेलले मोरङ–सुनसरी औद्योगीक करिडोरमा १२ घण्टासम्म विद्युत कटौती सुरु भएको बताए । ‘औद्योगीक क्षेत्रमा १२ घण्टा विद्युत कटौती हुन्छ भनेर सूचना आईसक्यो’, अध्यक्ष प्याकुरेलले भने ।
बिरगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि प्रसाद गौतमले पनि सो क्षेत्रका उद्योगहरुमा १२ घण्टा विद्युत कटौती सुरु भएको बताए ।
‘अहिले बिरगञ्ज–सिमरा औद्योगीक क्षेत्रका उद्योगहरुमा विद्युत कटौती भएको छ । प्राधिकरणले एक मेगावाट भन्दा बढी विद्युत खपत गर्ने उद्योगहरुलाई बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत दिन सक्दैनौं भनेको छ । त्यसको अर्थ अधिकांश ठूला उद्योग धन्दाहरुमा विद्युत कटौटी गरिएको छ ।’, उपाध्यक्ष गौतमले सिंहदरबारसँग भने ।
उता, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिम प्रसाद न्यौपानेले पनि सो क्षेत्र विद्युत कटौती भैरहेको बताए । ‘नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेको सूचना लिखित नपठाएर मौखिक जानकारी दिएको छ । उद्योगहरुलाई फोन गरेर साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म उद्योग नचलाउनु होला, विद्युत दिन सकिँदैन भनेको छ ।’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेले सिंहदरबारसँग भने ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने उद्योगहरुमा विद्युत कटौतीको समस्या भारतबाट हुने आयातका कारण उत्पन्न भएको बताए । ‘हामीले भारतबाट दैनिक रुपमा बोलकबोल गरेर बिजुली किन्छौं, किन्न पाउँदा उद्योगीलाई दिन्छौं, नपाउँदा छैन भन्छौं, भारत नै उर्जा संकटमा रहेकाले नेपालका लागि अहिलेलाई विद्युतको समस्या यस्तै हो’, प्रवक्ता भट्टराईले सिंहदरबारसँग भने ।
सस्तो महंगो थाहा छैन्, हामीलाई बिजुली चाहिन्छ
सुयश प्याकुरेल, अध्यक्ष मोरङ उद्योग संघठन
अहिले भारतबाट विद्युत किन्न सकिएन भन्ने प्राधिकरणको तर्क छ । कुलमान घिसिङले केहि दिन पहिले मात्रै कुनै पनि हालतमा लोडसेडिङ हुन दिन्न भन्नु भएको थियो । २ दिनमै फेरी १२ घण्टा बिजुली कटौती भनेर खबर आयो । यस्तै अवस्था हो भने उद्योगहरु ठप्प हुन्छन्, बैंकसँग ऋण दिने पैसा छैन्, हामीलाई १२ घण्टा बिजुली नदिने, डिजेल यस्तो महंगो छ । डिजेलबाट उद्योग चलाउन सकिन्न र त्यो पनि अब सहजै पाउने अवस्था देखिएन् ।
रसिया र युक्रेनको लडाईँले गर्दा कच्चा पदार्थको भाउ त्यसै पनि आकासिएको छ । हाम्रा उत्पादन लागत दुई गुणाले बढिसकेका छन् । अहिले चारैतिरबाट समस्या आएको छ । अब सरकारले निकास नदिई हुन्न । प्राधिकरणलाई महंगो परेको हो भने सरकारले जानोस तर हामी उद्योगीलाई बिजुली चाहिन्छ । अहिले मोरङ–सुनसरी क्षेत्रका अधिकांश उद्योगहरुले उत्पादन कटौती थालिसकेका छन् । ३०।४० प्रतिशत क्षमतामा उद्योगहरु चल्न सक्दैनन् ।
प्राधिकरणले १५।२० दिनको योजना बनाएर विद्युत आपूर्तिको काम गर्नुपर्ने थियो । एक हप्ता अघिसम्म कुलमान घिसिङले उद्योग उद्योगमै पुगेर चाहिए जति बिजुली दिन्छु भन्नु भएको थियो । मन्त्रीले इण्डक्सन चुलो बाल्नुस भनेर भाषण गर्ने अनि अहिले यस्तो भन्न मिल्छ ? ११ बजेर ५९ मिनेट जाँदासम्म बिजुलीको समस्या नहुने १२ बजेपछि फेरी अन्धकार रे त्यस्तो पनि हुन्छ ? यसको जिम्मेवारी सरकारले लिनुपर्छ । नेपालमा विद्युत व्यापारमा प्राधिकरणको मोनोपोली छ, हामी अरु कसैसँग विद्युत किन्न सक्दैनौं । अब उद्योगहरु चल्दैनन्, सबै ठप्पै हुन्छन् ।
नेपालमा विद्युतको माग १७ सय मेगावाट जति रहेछ । नेपालको उत्पादन साढे ६ सय मेगावाट जति हुने रहेछ । नेपालले भारतसँग दैनिक करिब ६ सय मेगावाट नै खरिद गर्ने रहेछ । नेपालले भारतसँग दैनिक बोलकबोलबाट, टनकपुरबाट, कोशीबाट बिभिन्न सर्त र समझदारी अनुसारको बिजुली किन्ने गरेको छ । विद्युतको भाउ बढ्यो भनेर उद्योगीलाई दिन सक्दैनौं भन्न मिल्दैन् । मूल्य कति पर्छ भन्ने कुरा सरकारको भयो, हामीलाई विद्युत चाहिन्छ ।
अधिकांश ठूला उद्योगमा १२ घण्टा विद्युत कटौती
हरि प्रसाद गौतम, उपाध्यक्ष, बिरगञ्ज उद्योग बाणिज्य संघ
अहिले बिरगञ्ज–सिमरा औद्योगीक क्षेत्रका उद्योगहरुमा विद्युत कटौती भएको छ । प्राधिकरणले एक मेगावाट भन्दा बढी विद्युत खपत गर्ने उद्योगहरुलाई बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत दिन सक्दैनौं भनेको छ । त्यसको अर्थ अधिकांश ठूला उद्योग धन्दाहरुमा विद्युत कटौटी गरिएको छ ।
भारतसँग खरिद मूल्यमा तालमेल नमिलेर विद्युत कटौती गरिएको भन्ने छ । प्राधिकरणका एमडीले जति नै घाटा लागे पनि आवश्यक मात्रामा बिजुली उपलब्ध गराउँछौं भन्नु भएको थियो । हामीले विश्वास गर्यौं र अहिले पनि हामी आश गरिरहेका छौं । अहिले साढे ४ सय मेगवाट विद्युत भारतबाट आयात हुने गरेको छ ।
हामीले गत मंगलबार अर्थमन्त्रीलाई भेटेर गुनासो गरेका थियौं, मन्त्रीले तुरुन्तै फोन गरेर कुलमान घिसिङलाई समस्या समाधान गर्न भन्नु भएको थियो । उहाँले बुधबार पत्रकार सम्मेलन गरेर समस्या समाधान गर्छाै भन्नुभयो तर फेरी आइतबारबाट विद्युत कटौती सुरु भयो
फोन गरेर बिजुली दिन सक्दैनौं भनेका छन्
भिम प्रसाद न्यौपाने, अध्यक्ष सिद्धार्थ उद्योग बाणिज्य संघ
नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेको सूचना लिखित नपठाएर मौखिक जानकारी दिएको छ । उद्योगहरुलाई फोन गरेर साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म उद्योग नचलाउनु होला, विद्युत दिन सकिँदैन भनेको छ । प्राधिकरणलाई ३८ रुपैयाँको बिजुली किनेर उद्योग किन चलाउने भन्ने लागेको होला । हामी संघमा आवद्ध सबै साथीहरुसँग थप छलफल गर्नेछौं । यसरी विद्युत काटिएपछि उद्योगीहरु निकै ठूलो मारमा परेका छन् ।
अहिले यस्तै हो
सुरेश भट्टराई, प्रवक्ता, नेपाल विद्युत प्राधिकरण
हामीले भारतबाट दैनिक बोल कबोल गरेर विद्युत किन्छौं । हामीले आवेदन गर्दा विद्युत आउँछ की आउँदैन भन्ने ठेगान नै हुन्न । हामीले उच्च दर रेट प्रस्ताव गर्दा पनि विद्युत पाईरहेका हुन्नौं । १० हजार मेगावाट माग भयो र १० हजार मेगावाट नै उपलब्ध भयो भने सबैले विजुली पाउँछन् । नत्र धेरैले पाउँदैनन् ।
कहिले कहिले सबै भन्दा धेरै मूल्य तिर्छु भन्दा पनि विद्युत पाइँदैन् । हामीले बिड गरेका हुन्छौं, बिजुली पाइन्छ की पाइँदैन भन्ने चाँही साँझ ५।६ बजे तिर मात्रै थाहा हुन्छ । विद्युत पर्यो भने सबै उद्योगीलाई दिन्छौं । परेन भने उद्योगहरुलाई उत्पादन कटौती गर्न भन्छौं । अहिले राती विद्युत दिन समस्या भैरहेको छ । आज बिड गरेका हुन्छौं बिद्युत नपर्दा दिन सक्दैनौं ।
हामीले सबै जसो उद्योगहरुलाई हुँदा बराबर दिन्छौं । कटौती गर्दा पनि सोही अनुसार कटौती गर्छाै । दैनिक विद्युत किन्ने व्यवस्थाका कारण यो समस्या दैनिक रुपमा कसरी आउँछ भनेर एकिन गर्न सकिन्न । हामीले अहिले २० रुपैयाँ भारुमा विद्युत किनिरहेका छौं । दिनभर विद्युत दिएका छौं । राती मात्रै दिन नसकेका हौं । अरु बेला पनि उद्योगहरु चौबीसै घण्टा त कहाँ चलेका हुन्छन् र ?
प्रतिक्रिया दिनुहोस्