सर्लाही । चक्रघटा गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ । उक्त गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधिन भवन शिलान्यास गरेका छन् । सङ्घीय सरकारको ‘एक स्थानीय निकाय एक आधारभूत अस्पतालको अवधारणा’अन्तर्गत अर्थमन्त्रालयबाट प्राप्त १९ करोड आठ लाखको लागतमा अस्पताल निर्माण हुन लागेको अध्यक्ष यादवले बताए ।
स्थानीय सरकार निर्माण हुँदा पालिकाको स्वास्थ अवस्था एकदमै नाजुक हुनाका साथै सञ्चालनमा रहेका सरकारी स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, औषधिलगायत सामग्रीको चरम अभाव र पुरानो भवन मर्मत गर्नुपर्ने अवस्थामा रहेको उनकाे भनाइ थियो ।
आफूहरुले चुनाव जितेलगत्तै आफूले पालिकामा पाँच वटा ‘स’ (सडक, शिक्षा, स्वास्थ, सञ्चार र सिँचाइ) को सुधार गर्ने प्रतिबद्धता जनाएकामा चक्रघट्टा बजारबाट जोडिने हरेक वडाका सडकलाई कालोपत्रे गरिएको, एक वडा एक स्वास्थ्यचौकीको अवधारणाअन्तर्गत बाँकी वडामा आधारभूत स्वास्थ्यचौकी निर्माण र कर्मचारी नियुक्ति गरी आमनागरिकलाईस्वास्थ्य क्षेत्रमा पहुँचको सुनिश्चिता गरेको गाउँपालिका अध्यक्ष यादवले बताए ।
उक्त गाउँपालिकामा पाँच आधारभूत स्वास्थ्यचौकी र चार स्वास्थ्यचौकी निर्माण गरी सञ्चालनमा ल्याइएको जनाइएको छ । नौवटा वडामध्ये वडा न ४ सुन्दरपुर, वडा न ८ औहरी र वडा न ९ खोरियामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ भने वडा न २ भेल्हीमा भवन निर्माण गरी उद्घाटनको तयारी रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहले बताए ।
उक्त अस्पताल भवन निर्माणका लागि स्थानीय जगदिशप्रसाद यादवले पाँच कट्ठा र प्रदीपराय यादवले पाँच कट्ठा जग्गा दान गरेका छन् । प्रेरा एक्सिस एसियन जेभीले भवन निर्माणका लागि ठेक्का पाएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्