काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रागिरी पुगेका छन् । चन्द्रागिरी हिल्स रिसोर्टमा पुग्ने देउवा पहिलो काँग्रेसी प्रधानमन्त्री हुन् ।
कम्युनिष्ट व्यवसायी चन्द्र ढकालले लगानी गरेको चन्द्रागिरीमा नेपाली काँग्रेसबाट बनेका कुनै प्रम पुगेका थिएनन् । देउवा केवलकारमा नभएर हेलिकप्टरमा चन्द्रागिरि पुगेका हुन् ।
देउवालाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गरेका थिए ।
देउवा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्न त्यहाँ पुगेका हुन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।
सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्