Shikhar Insurance
National Life

नेपाल र उत्तर प्रदेश जोड्ने डबल सर्किट प्रशारण लाइनको ६०% काम सकियो

सिंहदरबार संवाददाता
२०७८ चैत्र ६, आईतवार १७:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सकिएको छ ।
रुपन्देहीको मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्य लिई धमाधम काम भइरहेको छ ।
२८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ वटा टावरमध्ये ४४ वटाको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरणहरु आयोजनास्थलमा ल्याइसकिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ । टोलीले नेपाल र भारतबीचको विद्युत व्यापारका लागि यो लाइन महत्वपूर्ण रहेकोले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५माघमा पोखरामा सम्पन्न छैटौं बैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया,भारत) सबस्टेसनमा जोड्ने निर्णय गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताए ।

‘नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्वपूर्ण छ’, घिसिङले भने, ‘लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबीचको विद्युत व्यापार थप सहज र विस्तार हुने छ ।’

करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी रहेको छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमा विन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ ।

भारतर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३/४ वटा टावर निर्माण गर्नु पर्ने आयोजनाका प्रमुख हरि पाण्डेले बताए । उक्त कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको पाण्डेले उल्लेख गरे ।

बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत रहेको छ ।

१८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ वटा टावरमध्ये ५५ वटा निर्माण सम्पन्न भएको छ । १० किलोमिटर तार टांगिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ ।

मैनहिया सबस्टेसनमा राखिने १३२/३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये १ वटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सबस्टेसन २ महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्