काठमाडौं । मुलुकको निर्वाचनको माहोलमा धकेलिँदै गर्दा राजनीतिक दलहरु भने उद्योगी व्यवसायीहरु फकाउन तल्लिन देखिएका छन् ।
चुनाव खर्चको जोहोदेखि मध्यम वर्गका मतदाताहरुलाई रिझाउन समेत उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने भएकाले चुनावको मुखैमा प्रमुख दलहरु व्यवसायी फकाउन लागिपरेका हुन् ।
फागुन २९ गते नेकपा(एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले व्यवसायीहरुसँग छलफल गरे । छलफलमा उनले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको नेतृत्वसहितका व्यवसायीलाई आमन्त्रण गरेका थिए ।
महासंघका अध्यक्ष शेखर गोल्छा र बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने ओलीको छलफलमा सहभागी थिएनन् । त्यस बाहेक परिसंघका अध्यक्ष बिष्णु अग्रवाल, चेम्बर अध्यक्ष राजेन्द्र मल्ल, महासंघका उपाध्यक्षद्धय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ, महासंघ पूर्व अध्यक्ष भवानी राणा, नेपाल बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान लगायतले ओलीको छलफलमा सहभागी थिए ।
ओलीको छलफलको जाँचोपाँचो पूर्व राज्यमन्त्री मोति दुगड र महासंघका पूर्व अध्यक्ष किशोर प्रधानले मिलाएका थिए । २ घण्टा ४० मिनेट लामो कार्यक्रममा ओलीले ११० मिनेट आफ्ना कुरा सुनाएका थिए ।
ओलीले छलफल गरेको पर्सीपल्ट अर्थात चैत १ गते नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाँच तारे होटलमा व्यवसायीसँग छलफल गरे ।
थापाले पनि समग्र अर्थतन्त्रका परिदृश्य र सम्भावित समाधानका उपायबारे व्यवसायीहरुका धारणा सुनेका थिए । ओलीले पत्रकारलाई प्रवेश दिएका थिए तर थापाले भने आफ्नो छलफललाई सकेसम्म गोप्य नै राख्ने प्रयास गरे । थापाले पनि महासंघ, परिसंघ र चेम्बरसहितका संगठनका नेताहरुलाई नै डाकेका थिए ।
‘ओलीजीसँगको छलफलमा आफ्ना कुरा राखियो, उहाँले प्रधानमन्त्री हुँदा पनि बोलाउनु हुन्थ्यो, कुरा सबैको सुन्नुहुन्थ्यो र काम भने आफुलाई मन लागे अनुसार गर्नुहुन्थ्यो, अहिले चुनावको मुखमा छलफल गरेर के गर्नु र ?’ ओलीको छलफलमा सहभागी एक उद्योगीले सिंहदरबारसँग भने ।
‘ओली सरकारका पालामा हामी सबै भन्दा असुरक्षित भएक थियौं, सबै भन्दा धेरै दुःख पाएका थियौं, चुनावका मुखमा फकाएर के गर्नु ?’, ति उद्योगीले भने ।
मंगलबार पाँच तारे होटलमा काँग्रेस महामन्त्री गगन थापासँग छलफलमा सहभागी अर्का एक उद्योगीले भने तरलता अभाव र त्यसको समाधानका उपायबारे छलफल भएको बताए । ‘अहिले देखिएको तरलता अभाव, ब्याजदर, आयातमा कडाई, शोधनान्तर घाटा लगायतका विषयमा हामीले आफ्ना कुरा राख्यौं’, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सिंहदरबारसँग भने ।
चन्दा र भोट बढाउने उपाय
दुई ठूला दलका शिर्ष नेताहरुले व्यवसायीक समुदायलाई फकाएर निर्वाचनका लागि आवश्यक पर्ने खर्चको जोहोका साथै आफ्नो पक्षमा जनमत बढाउने माध्यमका रुपमा छलफललाई उपयोग गर्ने प्रयास गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्