काठमाडौं । नियमनको ‘लुप होल’ खोज्दै निर्देशन विपरित कारोबार गर्ने १४ वाणिज्य बैंक कारवाहीमा परेका छन् । यी वाणिज्यलाई नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा प्रभु, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, हिमालयन, नेपाल एसबिआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा, सेन्चुरी, स्ट्याण्डर्ड चार्टर्ड र एनएमबि बैंक रहेका छन् । यी मध्ये नेपाल बैंक २ पटक राष्ट्र बैंकको सुपरिवेक्षणिय कारवाहिहमा परेको हो ।
केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुलाई गरिएको कारवाहीको विवरण प्रकाशित गरेको छ । विभागका अनुसार पहिलो त्रैमासमा कुनै पनि वाणिज्य बैंक कारवाहीमा परेका छैनन् भने दोस्रो त्रैमास अर्थात् असोज मसान्तदेखि पुस मसान्तसम्म १४ वटा वाणिज्य बैंकले तोकिएको नियम मिचेर कारोबार गर्दा कारवाहीमा परेका हुन् ।
जसमध्ये राष्ट्र बैंकले प्रभु बैंकलाई तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्दा १ लाख ८० हजार ४ सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराएको छ ।
यस्तै, नेपाल बैंकले संस्थागत मुद्दती निक्षेपमा तोकिएको नियम विपरित बढी ब्याज दिएको थियो । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई बोलाए सचेत गराएको छ । साथै, बैंकले एटलस इन्जिनियरिङ कन्स्ट्रक्सनको खाता रोक्का राख्ने निर्देशनलाई समेत पालना गरेको थिएन । जसमा समेत बैंकका सीइओ अधिकारीलाई सचेत गराइएको उल्लेख छ ।
यसैगरी, ब्याजदर नीति उल्लंघन गर्नेमा राष्ट्रिय वाणिज्य बैंक, नबिल, हिमालयन, नेपाल एसबिआई, एनसीसी, नेपाल बंगलादेश, सिटिजन्स, सनराइज, मेगा र सेन्चुरी बैंक रहेका छन् । यी बैंकहरुले ३ महिनासम्म संस्थागत मुद्दतीको ब्याजदर परिवर्तन गर्न नपाउने नियम उल्लंघन गरेका हुन् । यसरी नियम विपरित ब्याजदर परिवर्तन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले दोस्रो पटक गल्ती नदोहोर्याउन बैंकका सीइओहरुलाई सचेत गराएको थियो ।
साथै, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बैंक र एनएमबि बैंक समेत ब्याजदर नीति उल्लंघन गर्दा कारवाहीमा परेका छन् । यी बैंकहरुले निक्षेपमा राख्नु पर्ने ५ प्रतिशतको ब्याजदर अन्तर (स्प्रेडदर) कायम गरेका थिएनन् । यसरी नियम उल्लंघन गरेको राष्ट्र बैंकले औल्याएपछि यी बैंकहरुले दोस्रो पटक यस्तो गल्ती नगर्ने प्रतिवद्धता गरेको उल्लेख गरिएको छ । राष्ट्र बैंकले यी सबै बैंकहरुको सीइओलाई बोलाएर सचेत गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्