काठमाडौं । बैंक तथा वित्त कम्पनीले सेयर धितो राखेर दिएको पौने १० अर्ब रुपैयाँ कर्जा लगानी फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्त कम्पनीले सेयर धितोमा राखेर दिएको ६ महिनामा ९ अर्ब ८८ करोड रुपैयाँ कर्जा फिर्ता लिएका हुन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितोमा दिएको कर्जालाई तोकिएको सीमामा ल्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको नीति ल्याएर २०७९ असार मसान्तसम्मको समय तोकेको हो । निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले एक ऋणीलाई ४ करोड रुपैयाँसम्ममात्र सेयर धितोमा कर्जा दिन पाउँछन् भने एक ऋणीले बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र यस्तो कर्जा लिन मिल्छ ।
यदी तोकिएको सीमाभन्दा बढी सेयर धितोमा कर्जा प्रवाह भएको भए ०७९ असार मसान्तसम्म फिर्ता लिनु पर्ने बाध्यता बैंक तथा वित्तीय संस्थालाई हो भने ऋणीले फिर्ता दिनु पर्ने बाध्यता छ । केन्द्रीय बैंकले गत साउन २९ गते मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको थियो । उक्त समयसम्म बैंक तथा वित्त कम्पनीहरुले कुल १ खर्ब ८ अर्ब ५१ करोड १५ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाले माघ मसान्तसम्म यस्तो कर्जा ९८ अर्ब ६२ करोड ६० लाख रुपैयाँमा सीमित गरेका छन् । सेयर धितोमा प्रवाहित कर्जा एक वर्षभित्र तोकिएको सीमामा ल्याउने पर्ने बाध्यता भएसँगै बैंक तथा वित्त कम्पनीले ६ महिनामै पौने १० अर्ब रुपैयाँ फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
तोकिएकै समयमा सीमा भित्र कर्जा ल्याउन बैंकलाई राष्ट्र बैंकको ताकेता, नविकरणको रोइलोमा लगानीकर्ता
बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितोमा कर्जा दिएको भए २०७८ साउन २९ मा सीमामा ल्याइसक्नु पर्ने हुन्छ । यद्यपि तोकिएको सीमाभन्दा कम कर्जा दिएका बैंकहरुले भने धितो मुल्यांकनको आधारमा थप सेयर कर्जा दिन पाउँछन् ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा दिएको निर्देशन बैंकहरुले पालना नगेको निगरानी गरिरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
‘दिइएको निर्देशनको पालना बैंक र ऋणी दुवैले गर्नै पर्छ, यसमा केही सहुलियत हुँदैन,’ प्रवक्ता भट्टले सिंहदरबारसँग भने, ‘अहिले बैंकहरुलाई क्रमिक रुपमा सीमा भित्र कर्जा ल्याउन समय दिइएको छ, सो पालना भएनभएको सम्बन्धित बैंक सुपरिवेक्षणले फिल्ड सुपरिवेक्षणको क्रममा हेरिरहेको छ । सीमाभन्दा माथि गएका कर्जा नघटाउका बैंकहरुलाई घटाउन भनिरहेका हुन्छौं ।’
२०७९ असार मसान्तसम्म राष्ट्र बैंकले दिएको निर्देशन पालना नगर्ने बैंक तथा वित्तीय संस्था लगाएत ऋणी ऐन कानुन उल्लघंन गर्दा पर्ने कारबाहीमा पर्ने उनको भनाइ छ ।
सेयर धितो राखेर बैंक तथा वित्त कम्पनीबाट बजार मूल्य वा १८० दिनको भारित औषत मूल्य मध्ये जुन कम हुन्छ त्यसको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ । उक्त व्यवस्थामा रहेर गत असार मसान्तसम्म ८ हजार ५६४ जनाले बैंक तथा वित्त कम्पनीबाट कुल १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिएका थिए ।
जसमध्ये ८ हजार ५३ जनाले ४ करोड रुपैयाँभन्दा कम सेयर धितोमा कर्जा लिएका हुन् । गत असार मसान्तसम्म सेयर धितोमा कर्जा लिनेमध्ये ३ सय ९९ जना ऋणीलाई मात्र तोकिएको समयमा बैंकमा कर्जा सेटलमेन्ट गर्नु पर्ने बाध्यता छ । सीमाभन्दा माथि कर्जा लिएका ऋणीले २०७९ असार मसान्त वा कर्जा नविकरणको समयमा सीमामा ल्याइसक्नु पर्ने राष्ट्र बैंकको निर्देशन हो ।
ठूलो पमिाणमा सेयर धितो लिएरका ऋणीलाई एक पटकसम्म कर्जा नवीकरण गर्न दिनुपर्ने नेपाल इन्भेष्टस फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।
‘अहिले बैंक ताकेता लगाइ रहेका छन्, करोडौं कर्जा लिएर लगानी गरिसकेकाहरुलाई सेटलमेन्ट गर्न समस्या परिरहेको छ,’ फोरममा पूर्व अध्यक्ष रौनियारले सिंहदरबारसँग भने, ‘एक पटकलाई राष्ट्र बैंकले नवीकरण गर्न पाउने मौका दिनु पर्छ नभए तोकिएको समयमा सीमा भित्र कर्जा सेटलमेन्ट गर्न सम्भव देखिँदैन ।’
राष्ट्र बैंकले बैंकहरुलाई एक पटकका लागि ६ महिनासम्मको लागि सेयर धितोमा गएको कर्जा नवीकरण गर्न दिएमात्र ऋणीले सहज तबरले ऋण फिर्ता दिन सक्ने उनको भनाइ हो ।
‘बैंकले त राष्ट्र बैंकको निर्देशन पालना गर्न जसरी भएपनि ऋण उठाउनै पर्छ, सीमाभन्दा माथि गएको कर्जालाई एक पटकसम्म नवीकरण गर्न पाउने व्यवस्था गरिदिनु पर्यो भनेर राष्ट्र बैंकमा भनिरहेका छौं,’ उनले भने ।
असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीले प्रवाहित सेयर धितो कर्जामा १० जना ऋणीले ५० करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म सेयर धितोमा कर्जा लिएका थिए । ठूलो परिमाणमा सेयर कर्जा बैंकमा फिर्ता गर्दा बजारमा नकारात्मक प्रभाव देखिन थालेको ती नै ऋणी लगानीकर्ताहरुको भनाई छ ।
यी हुन् ठुला लगानीकर्ताः जसले बैंकबाट सेयर धितोमा अर्ब बढी ऋण लिएर बजारमा लगानी गरे
वाणिज्य बैंकले दिए ८२ अर्ब बढी सेयर धितो कर्जा, १७ वाणिज्य बैंकले फिर्ता लिँदा ९ वटाले थपे
सीमाभन्दा बाहिर सेयर धितो कर्जा दिएका बैंक तथा वित्त कम्पनीले क्रमशः कर्जा फिर्ता लिइरहेका छन् । तर, सीमाभन्दा कम कर्जा दिएकाहरुले बैंक वित्त कम्पनीहरुले भने राष्ट्र बैंकको निर्देशन पछि समेत कर्जा थप गरिरहेका छन् ।
राष्ट्र बैंकले साउन २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जा तोकिएको सीमामा ल्याउन भनेपछि माघ मसान्तसम्म १७ वटा बैंकले घटाएका छन् । बाँकी ९ वटा वाणिज्य बैंकले भने साउन मसान्तमा दिएको कर्जामा माघमसान्तसम्म थप गरेका छन् ।
साउन मसान्तसम्म वाणिज्य बैंकहरुले ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । जसलाई घटाएर माघ मसान्तमा ८२ अर्ब ४४ करोड ७६ लाख रुपैयाँ कायम गरेका छन् । यसबीच वाणिज्य बैंकहरुले ९ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ कर्जा फिर्ता लिएका हुन् ।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस मसान्तसम्म यस्तो कर्जा प्रवाह नगरेकोे तथ्यांकले देखाउँछ । तर, माघ महिनामा नेपाल एसबीआई बैंकले ६८ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेको छ । सेयर धितोमा कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरुमा माघ मसान्तसम्म सबैभन्दा बढी ग्लोबल आइएमई र सबैभन्दा थोरै कृषि विकास बैंकले प्रवाह गरेका छन् ।
ग्लोबल आइएमईले माघ मसान्तसम्म ७ अर्ब ४८ करोड १२ लाख रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ३ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ग्लोबल पछि नबिल बैंकले ७ अर्ब १२ करोड ८२ लाख रुपैयाँ सेयर धितो लिएर कर्जा प्रवाह गरेको छ । यसबाहेक ९ वटा बैंकले ३ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म बाँकी १५ वटाले २ अर्ब रुपैयाभन्दा कम सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।
साउन मसान्तमा दिएको सेयर धितो कर्जामा सबैभन्दा बढी एनआएसी एशिया र सबैभन्दा थोरै सानिमा बैंकले घटाएका छन् । सो अवधिमा एनआईसी एशियाले २ अर्ब ३७ करोड ८८ लाख रुपैयाँले घटाएर २ अर्ब २२ करोड १६ लाख रुपैयाँ र सानिमा बैंकले ९ करोड ९६ लाख रुपैयाँले घटाएर २ अर्ब ४ करोड ६८ लाख रुपैयाँ कायम गरेका हुन् ।
एनआइसी एशियापछि सबैभन्दा सेयर धितो कर्जा घटाउने बैंक सिद्धार्थ हो । बैंकले माघ मसान्तसम्म १ अर्ब ४२ करोड १७ लाख रुपैयाँ घटाएर ४ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ कायम गरेको छ । साथै सो अवधिमा सिटिजन्स बैंकले १ अर्ब २४ करोड ९० लाख रुपैयाँले घटाएर ४ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ४ करोड २४ लाख रुपैयाँले घटाएर १ अर्ब ३९ करोड ७५ लाख रुपैयाँमा सिमित गरेको छ । यसबाहेक १३ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा कम सेयर धितो कर्जा घटाएका हुन् ।
विकास बैंकहरुले फिर्ता लिए ८९ करोड रुपैयाँ बढी सेयर धितो कर्जा
चालु आर्थिक वर्षको माघ मसान्तसम्म विकास बैंकहरुले कुल १२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले साउन मसान्तमा प्रवाहित सेयर धितो कर्जालाई सीमा ल्याउन निर्देशन दिएपछि ८९ करोड ३९ लाख रुपैयाँ सेयर धितो कर्जा फिर्ता आइसकेको तथ्यांकले देखाउँछ ।
सञ्चालनमा रहेका १७ विकास बैंकहरुमध्ये १३ वटा विकास बैंकहरुले मात्र सेयर धितोमा कर्जा प्रवाह गर्ने तथ्यांकले देखाउँछ । यसरी सेयर धितोमा कर्जा प्रवाह गर्ने विकास बैंकहरुमध्ये ८ वटाले ७५ लाख रुपैयाँदेखि ४६ करोड ४४ लाख रुपैयाँसम्म कर्जा फिर्ता लिएका छन् ।
सो अवधिमा ५ वटा विकास बैंकले भने ३० लाख रुपैयाँदेखि १४ करोड ११ लाख रुपैयाँसम्म सेयर धितो कर्जा थप गरेका छन् । सेयर धितोमा कर्जा प्रवाह गर्ने १३ विकास बैंकहरुमध्ये माघ मसान्तसम्म मुक्तिनाथ विकास बैंकले र सबैभन्दा कम ग्रिन डेभलपमेन्ट बैंकले गरेका हुन् ।
वित्त कम्पनीहरु ७३ करोड बढीले सेयर धितो कर्जा थप गरी ३ अर्ब १८ करोड रुपैयाँ दिए
राष्ट्र बैंकले २०७८ साउन २९ गते मौद्रिक नीतिमार्फत् ४/१२ करोड रुपैयाँको सीमा लगाएको हो । उक्त समयसम्म वित्त कम्पनीहरुले ३ अर्ब १८ करोड ३५ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए ।
माघ महिनासम्म आइपुग्दा वाणिज्य बैंक र विकास बैंकहरुले यस्तो कर्जा फिर्ता लिइरहँदा वित्त कम्पनीहरुले भने ७३ करोड १९ लाख रुपैयाँले थप गरी ३ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ कायम गरेका छन् ।
सञ्चालनमा रहेका १७ वटा वित्त कम्पनीहरुमध्ये यस्तो कर्जा १४ वटाले मात्र प्रवाह गर्छन् । सेयर धितोमा कर्जा प्रवाह गर्ने वित्त कम्पनीहरुमध्ये २ वटाले साउन मसान्तको भन्दा माघ मसान्तमा घटाएका छन् भने १२ वटाले थप गरेका हुन् ।
माघ मसान्तसम्म सबैभन्दा बढी मञ्जुश्री फाइनान्सले ७१ करोड ३९ लाख रुपैयाँ र सबैभन्दा कम सेन्टल फाइनान्सले ३६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्