काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश कुमार हमालमाथि बौद्धिक सम्पति चोरीको आरोप लागेको छ । बोर्ड अध्यक्षका लागि हमालसँगै अन्तिम प्रतिस्पर्धामा रहेका एक उम्मेदवारले हमालमाथि आफ्नो बौद्धिक सम्पति चोरेको आरोप लगाएका हुन् ।
हमालले पत्रकार सम्मेलनमार्फत् अघि सारेका अधिकाँस योजनाहरु ती प्रतिस्पर्धीले ‘आफ्ना भनि दावी’ गरेका हुन् । गत फागुन ५ गतेको मन्त्रिपरिषद बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनले फागुन ८ गते पद भार ग्रहण गर्ने क्रममा आफ्ना भावी योजनाहरु पत्रकारसम्मेलनमार्फत् सार्वजनिक गर्ने र सोही कार्ययोजनालाई आफ्नो कार्यकालमै पुर्णता दिने प्रतिबद्धता गरेका थिए ।
उनले आफ्ना भावी योजना अध्यक्षको कार्यकाल सम्हालेको १७ दिनपछि गत फागुन २४ गते सार्वजनिक गरेका थिए ।
उनले पत्रकार सम्मेलनमार्फत् आफ्नो कार्यकालभित्रै बोर्डको भवन शिल्यान्यास, ‘इन्ट्रा डे’ कारोबार, जनशक्ति व्यवस्थापन, ‘क्यापिटल मार्केट इन्स्टिच्युड’को स्थापना, विज्ञका लागि सर्टिफिकेशन प्रोग्राम, धितोपत्र बजार सम्बन्धि साक्षरता कार्यक्रम, साना लगानीकर्ताको संरक्षणका लागि ऐन संशोधन तथा लगात र ब्रोकर शुल्क घटाउने, बजारको विविधिकरण (बण्ड) मार्केट, ग्राहक गुनासोको सहजीकरणका लागि गुनासो एप बनाउने लगायतका योजनाहरु सुनाएका थिए । यी योजना आफ्ना कार्यकाल भित्रै पूरा गरिसक्नेमा भने हमाल आफै विश्वस्त थिएनन् । उनले सार्वजनिक गरेका योजनामा अध्ययन तथा छलफल नै शुरु गर्न बाँकी रहेको उल्लेख गरे ।
हमालले काठमाडौंको ५ तारे होटलमा २५/३० जना पत्रकारहरुलाई बोलाएर सुनाएको भावी एजेण्डा अधिकाँश आफुले बोर्ड अध्यक्ष छनौट समितिमा दिएको प्रस्तुतिकरणमा समावेश गरिएको बुँदा रहेको डा. गोपाल भट्टको दावी छ । डा. भट्ट राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक हुन् भने उनी पुँजी बजारका विज्ञका रुपमा समेत परिचित छन् ।
राष्ट्र बैंकमा उनलाई बौद्धिक व्यक्तित्वका रुपमा लिईन्थ्यो । बैंकिङ क्षेत्रमा मात्र उनले ३ दशकको अनुभव बटुलिसकेका छन् ।
बोर्ड अध्यक्ष छनौट समितिले आवेदन दिएका १५ जनामध्ये ५ जनाको नाम ‘सर्ट लिस्टिङ’ गरेको थियो । जसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, डा. गोपाल भट्ट र रमेशकुमार हमाल थिए । बोर्ड अध्यक्ष छनौट समितिमा फागुन १ गते ‘सर्ट लिस्टिङ’ मा पर्ने ५ जनाको प्रस्तिुतिकरण र अन्तरवार्ता लिएर प्रस्तुतिकरणको आधारमा छनौट समितिले डा. भट्ट, पोखरेल र हमालको नाम मन्त्रिपरिषदमा सिफरिस गरेको थियो ।
‘खास गरी कम्पनीको सेयर मूल्य र त्यसको मूल्यांकनको बारेमा बोल्नेहरुका लागि क्यापिटल मार्केट इन्स्टिच्युटबाट सर्टिफिकेशन प्रोग्राम ल्याउनु पर्छ भन्ने मेरो बिशेष योजना थियो । यो मेरो बौद्धिक सम्पती हो । जुन कुरा अहिले मेरो जानकारी बिना नै बाहिर आएको छ, यसलाई बौद्धिक सम्पती चोरी भयो भन्न मिल्ने/नमिल्ने ?’
आफुले लामो समयको अध्ययन र मेहनतपछि तयार पारेको प्रस्तुतिकरणमा समावेश बिषय अहिले नव नियुक्त अध्यक्ष हमालले आफ्नो योजना भन्दै सार्वजनिक गरेको भन्दै डा. भट्टले आपक्ति जनाएका हुन् ।
‘मैले प्रपोजलमा १० वटा मुख्य ‘मेजर रिर्फम पोइन्ट’ राखेको छु, त्यसभित्र पुँजी बजारको क्षमता वृद्धिको लागि ‘क्यापिटल मार्केट इन्स्टिच्युट’ हुन पर्छ भनेको थिँए, अहिले त्यही कुरा अध्यक्ष ज्यूले आफ्नो योजना भनेर सार्वजनिक गर्नु भएको छ,’ डा. भट्टले सिंहदरबारसँग भने, ‘क्यापिटल मार्केट इन्स्टिच्युटबाट लाइसेन्स लिएकाहरुमात्रै ब्रोकर, मर्चेन्ट ब्रोकर लगायत क्यापिटलमा काम गर्ने सबैलाई ट्रेनिङ दिने र ट्रेनिङ लाइसेन्स लिएकाहरुलाई मात्र पुँजी बजारमा काम गर्न पाउनु पर्छ भनेर भन्दा सबैले नयाँ तथा राम्रो योजना भन्नु भएको थियो ।’
भट्टले आफ्नो प्रस्तुतिकरणमा नयाँ ब्रोकर र नयाँ स्टकलाई लाइसेन्स दिने विषय सारेको प्रस्तुतिकरणको आधारमै अहिलेका अध्यक्षले आफ्ना भावी कार्य योजना भन्दै सार्वजनिक गरेको उनको दावी छ ।
‘जे–जे कुराहरु मैले आफ्नो प्रस्तुतिकरणमा राखेको थिए त्यो सबै अहिले आइरहेका छन्, क्यापिटल मार्केट इन्स्टिच्युटबाट ब्रोकर, मर्चेन्ट बैंकरलाई लाइसेन्सिङ र विज्ञहरुलाई दिने तालिम, लाइसेन्सको बारेमा म बाहेक अरु ४ जनाले आफ्नो प्रस्तुतिकरणमा नराखेको सोही बेला अन्तरवार्ता लिनेहरुले नै भन्नु भएको थियो,’ उनले थपे, ‘अहिले अध्यक्षले सुनाउनु भएको भावी योजनामा ‘सर्ट सेलिङ, इन्साइडर ट्रेडिङ्गको विषयमा कसरी नियमन गर्ने विस्तृतमा भनेको थिँए ।’
भेञ्चर क्यापिटल फर्महरुलाई धितोपत्र बजारले ल्याउन नियामकिय सहजिकरण गर्ने नीति ल्याउने लगायत विषयहरुमा आफुले लामो समयसम्म अध्ययन गरेर यर्थात र तथ्यपरक तथा प्रभावकारी प्रस्तुतिकरण बनाएर अध्यक्ष बन्नको लागि दावेदारी दिएको उनको दावी छ । तर, आफ्नो बौद्धिकताको प्रयोग नगरी अहिलेका अध्यक्ष हमालले आफ्नो प्रस्तिुकरणका विषयलाई ‘भावी योजना’ भन्दै बौद्धिक सम्पती चोरी गरेको उनको आरोप हो ।
बोर्ड अध्यक्ष हमाल भन्छन्–भावी योजना आफ्नै प्रस्तुकरणको आधारमा सार्वजनिक गरेको हुँ
यता, बोर्ड अध्यक्ष हमाल भने आफुले कसैको बौद्धिक सम्पतीको चोरी नगरेको बताउँछन् । पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएका भावी कार्य योजना आफ्नै प्रस्तुतिकरणमा समावेश गरिएका विषय भएको उनको दावी छ ।
‘अहिलेको भावी कार्य योजनामा मैले छनौट समितिलाई पेश गरेको एजेण्डाहरु नै परेका नै हुन्, मैले अरुसँग कपि गर्नु आवश्यकता नै छैन् । बौद्धिक चोरीको आरोप पुर्णतः मेरो अनादर गरेको नै भयो,’ बोर्ड अध्यक्ष हमालले सिंहदरबारसँग भने, ‘मैले पहिलो र दोस्रो पटक मन्त्रालयमा बुझाएको प्रस्ताव तपाइहरुले पनि हेर्न सक्नु हुन्छ, दुवै प्रस्तावमा अहिले सार्वजनिक गरेको एजेण्डा समेटिएका छन् ।’
उनले आफुले केही कार्ययोजना भने अध्यक्ष भएपछि अध्ययन गरेर राखेको हमालले सुनाए ।
‘ब्रोकर सम्बन्धि गरेको व्यवस्था अहिले अध्ययन भएपछि आएको कुरा हो तर सेवोनको क्षमता वृद्धि, क्यापिटल मार्केट इन्स्टिच्युट खोलेर योग्य भएकाहरुलाई मात्र बजारमा सेवा दिन पाउने व्यवस्था गर्नलाई सर्टिफिकेशन प्रोग्राम शुरु गर्ने मेरो आफ्नो योजना हो, तर यो योजना अरुले पनि आफ्नो प्रस्तुतिकरणमा राखेको हुन सक्छ । यो नयाँ कुरा त हैन नि ? यो कुनै सफ्टवेयर बनाएको कुरा त हैन, यसअघि भएका अध्ययनले देखाएका कुरा हुन् । त्यो कुरा हामीले लागु गर्नु पर्छ भन्ने कुरा एक जना व्यक्तिले मात्र लेख्न पाउने त हैन होला ?’ हमालले प्रतिप्रश्न गरे ।
धितोपत्र बजारको विकास र विस्तारका लागि आफु अध्यक्ष भएमा गर्ने कामहरुको प्रस्ताव कै आधारमा थप अध्ययन गरी अहिले कार्ययोजाना बनाइरहेको उनको दावी छ ।
डा. भट्टले बोर्ड अध्यक्ष बन्न दिएको प्रस्तुतिकरण र भावी योजना
डा. भट्टले आफ्नो प्रस्तुतिकरणमा क्यापिटल मार्केटको ग्रोथ गर्नका लागि विभिन्न उपायहरु उल्लेख गरेका थिए । नेपालको धितोपत्र बजार सानो भएको उल्लेख गर्दै यसको विविधिकरणका उपायहरु उनले अघि सारेका थिए ।
राष्ट्र बैंक र बीमा समितिले मात्र अहिलेको ‘फोर्स क्यापिटल मार्केट बनाएको भन्दै उनले यसलाई ‘भोलिन्टरी’ बनाउने योजना सुनाए । धितोपत्र बजारमा कम्पनी बाध्यताले नभएर स्वोच्छा वा नीतिगत प्रावधानले आउने वातावरण बनाउने योजना उनको थियो । उद्योग, व्यापार लगायतका सम्पुर्ण रियल सेक्टरका ५० करोड रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनी सबैलाई पब्लिकमा सेयर जारी गर्ने पर्ने नीति ल्याउने भट्टको योजना थियो ।
यस्तै, पुँजी बजारको विकास र विस्तारको लागि धितोपत्र औजारहरु बढाउने पर्नेमा ‘बण्ड, डेरिभेटिभ इन्स्टु«मेन्ट’ कुन तबरबाट कसरी ल्याउने उल्लेख गरेका थिए । उनले कमोडिटीसँगै इन्डेक्स डेरिभेटिभ र इन्ट्रेस्ट डेरिभेटिभसम्म नेपालमा ल्याउन सकिने बताएका थिए ।
साथै, स्टक ब्रोकरलाई लाइसेन्स सोझै धितोपत्र बोर्डले बाँड्ने नभएर नेप्सेले सिफारिस गरेकालाई मात्र ब्रोकर बनाउनु पर्ने उनले योजना अघि सारेका थिए । भोलकिो दिनमा नयाँ स्टक एक्सचेञ्ज आएपनि उनीहरुले सिफारिस गरेका ब्रोकरलाई मात्रै बोर्डले लाइसेन्स दिनु पर्ने उनको बुझाइ छ ।
निजी क्षेत्रको नयाँ स्टक एक्सचेञ्ज ल्याउँदा सकेसम्म विदेशीहरुको सहकार्यमा ल्याएर विदेशी लगानी र प्रविधि नेपाल भित्र्याउनु पर्ने हुन्छ । नयाँ स्टक आउँदा अहिले भइरहेको कम्पनीहरुलाई नभएर नयाँ कम्पनीहरुलाई सूचीकृत गर्ने लक्ष्य राखेर आएमा मात्र बोर्डले लाइसेन्स दिनु पर्ने उनको सुझाव थियो । यसले गर्दा नयाँ किसिमका कम्पनीहरु बजारमा आउने र धितोपत्र बजार प्रतिस्पर्धी हुने उनको बुझाइ छ ।
उनको बौद्धिक सम्पतीको चोरी बोर्ड अध्यक्ष हमालले मात्र नभएर अर्थमन्त्री जर्नादन शर्माले समेत गरेको उनको दावी छ ।
गत साता अर्थमन्त्रालयले पुँजी बजार सम्बन्धी वर्तमान अवस्थाबारे पत्रकार सम्मेलन गरी बोर्ड अध्यक्ष डा. रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीसँग छलफल गरेको थियो ।
‘हाम्रो प्रस्तुतिमा समावेश गरिएका एजेण्डाहरु विभिन्न ठाँउमा छरपस्ट नै छन्, विज्ञहरु कहाँ, छनौट समिति, मन्त्रालय सबै ठाँउमा पुग्छन्, अर्थ मन्त्री जर्नादन शर्माले समेत आफ्नो प्रस्तुतिकरणका विषय समावेश गरेर सोही अनुसार काम गर्न बोर्ड अध्यक्ष र नेप्सेका सिईओलाई निर्देशन दिएको भनेर बाहिर आइसकेको छ । मैले प्रस्तुतिकरणमा समावेश गरेको विषय त उनीहरुको लागि खुराक भयो ।’
मन्त्री शर्माले बोर्ड अध्यक्षका लागि ५ जनाले दिएको प्रस्तुतिकरणलाई अध्ययन गरेर हमाल र कार्कीलाई ११ बुँदे निर्देशन दिएको आफ्ना समकक्षी तथा मन्त्रालयकै कर्मचारीहरुले बताएको डा. भट्ट बताउँछन् ।
अर्थमन्त्री जनादर्न शर्माले दिएका मुख्य ११ निर्देशनहरू
१. कोभिड १९ को महामारीबीच पूँजी बजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पूँजी बजार संचालन भएको छ भन्ने अध्ययन गर्ने ।
२. पुँजीबजारबाट कसरी पूँजी निर्माण गर्न सक्छौं रु कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं रु भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पूँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।
३. २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।
४. लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पूँजी बजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको लागी आवश्यक बजारको विकास गर्नुपर्छ ।
५. सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।
६. अटोमेसन अक्सन शुरु गर्ने । अक्सन बजार लिलामीबाट शुरुमा बिक्री हुन नसकेका सेयर र खरिद बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।
७. ब्रोकरलाई सक्षम बनाउन सब–ब्रोकर मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ बर्ष भयो ।
८. अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छ । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।
९. उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा ट्रेडेट फाण्डको शुरुवात गर्ने ।
१०. ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने ।
११. सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने । पूँजी बजार सम्बन्धी जनचेतना, पूँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।
प्रतिक्रिया दिनुहोस्