नेपाल धितो पत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश कुमार हमालले फागुन २५ गते ब्रोकर कमिशन घटाउने घोषणा पत्रकार सम्मेलन गरेका थिए । यसअघि २०७७ पुस १० गते बोर्डले ब्रोकर कमिशन घटाएको हो । कमिशन घटाइएको एक वर्ष नबित्दै पुनः घटाउने विषय अध्यक्षमार्फत् उठान भएको छ ।
उहाँले साना लगानीकर्ताको हितका लागि कमिशन लगायत लागत कम गर्ने योजना अघि सारेको उल्लेख गर्नु भएको छ । बोर्डको मुख्य उदेश्य भनेकै साना लगानीकर्ताको हितमा काम गर्ने हो । विश्वभर नै सेयर बजारमा नियामकको उदेश्य साना लगानीकर्ताको हितमा काम गर्ने नै हुन्छ ।
ब्रोकर कमिशन हाम्रो नेपालमा धेरै हक्का विषय भएको महशुस हुन्छ । लगानीकर्ताबाट पनि कमिशसन घटाइनु पर्ने कुरा उठ्ने, नियामकले पनि सोही अनुसारको आवाजलाई सम्बोधन गर्न अध्ययन गछौं भनेर बचन दिने ।
हामीले विश्व बजारमा हेर्ने हो भने १०/२० वर्ष नभइ ब्रोकर कमिशन थपघट गर्ने कुरै उठ्दैन । हाम्रोमा भने वर्षनै पिच्छे कुरा उठ्न थाल्यो । अहिले ब्रोकरको कायम कमिशन विश्वभरमा तुलना गर्ने हो भने सबैभन्दा सस्तोमा पर्न जान्छ । तर, यही कमिशनलाई दक्षिण एशियाकै सबैभन्दा महंगो भन्दै घटाउन अध्ययन गरिने भनिएको छ । त्यो अध्ययन कसले गर्ने हो ? अध्ययन पनि ब्रोकर एसोसिएशनसँग पनि छलफल होला ।
कोभिडको यो २ वर्ष असामान्य अवस्था नै थियो । लकडाउनको बीच डिजिटल क्षेत्रको प्रयोग बढेको थियो । सोही अनुसार सेयर बजारमा धेरै नयाँ सेवाग्राही (लगानीकर्ता) थपिए । त्यसकारणले यो क्षेत्रमा पनि कारोबार राम्रो बढेको थियो ।
तर, पछिल्लो ३/४ महिनाको तथ्यांक हेर्ने हो भने कारोबार धेरै घटिरकेको छ । विगतको वृद्धि भनेको सोझै लक डाउनसँग जोडिएको वृद्धि हो । अब पुनः लकडाउन हुँदैन होला !
यसको यसको अर्थ यस्तै सामान्य ५/६ अर्ब रुपैयाँमै सिमित हुन सक्ने देखिन्छ ।
‘सबै कुरा प्रणालीले गर्छ, मानिसले केही गर्नु पर्दैन भन्ने मानसिकता धेरैको हुन्छ । मानिसलाई भन्दा प्रविधिलाई पाल्नु धेरै महंगो छ ।’
लक डाउनको अवस्थामा बढेको कारोबारले गर्दामात्र घटाइएको कमिशनमा ब्रोकरहरु बाच्न सकेका थिए । आज भोलीको कारोबारमा केही साथीहरु घाटामा जान थालिसकेका छन् । ५० वटा ब्रोकरमा आजभोली १०/१२ प्रतिशत (५/६ वटा) ब्रोकरको कारोबार घाटामा अपडेट भएका छन् ।
यसरी अहिले घाटामा गएका ब्रोकरले विगतको सञ्चितीले धानिरहेका हुन सक्छन् । तर, यही कारोबार मै घाटामा गएको छ भने भालीको दिनमा पनि यस्तै घाटा हुँदा त सञ्चितीले थेग्न सक्दैन ।
कमिशन कसको लागि महंगो भयो ? भन्ने प्रश्न रहन्छ । यहाँ जहिले पनि बजार घट्दा ब्रोकर कमिशन घट्यो भने बजार बढ्छ भनेर यस्ता कुरा उठ्छन् । यहाँ ५/१० पैसा कमाउन आएको लगानीकर्ता कोही पनि देखिन्न । हप्ता/महिना दिनमा दोब्बर कमाउन हेतु सबै लगानीकताको हुन्छ भने कमाएका पनि छन् ।
त्यस्ता लगानीकर्तालाई हामीले १० पैसा कमिशन घटाएर प्रोत्साहन गर्न सक्छौं, बजार बढाउन सक्छौं भन्ने मानसिकता नै जहिले हावी हुन्छ । ब्रोकरको आम्दानी धेरै भयो भने कमिशन घटाउन खोजिनु ताव्विक छैन ।
सिमित कारोबार र प्रविधिको प्रयोगसँगै खर्च भने बढिरहेको छ । खर्च बढिरहने तर कमिशन घटाउने भन्ने हो भने नव नियुक्त अध्यक्ष ज्यूले ल्याउनु भएको धेरै एजेण्डाहरु नै फेल हुन्छन् ।
उहाँले सार्वजनिजक गर्नु भएको हरेक एजेण्डा पुर्ति गर्नुको लागि सबै स्टेक होल्डरको इनकम त हुनुपर्यो । इनकम नै नहुने माहोल भइसकेपछि उहाँको सबै एजेण्डा फेल हुन सक्ने सम्भावना देखिएको हो ।
उहाँले प्रविधिको राम्रो प्रयोग गर्ने, बजारमा साना लगानीकर्ताको लागि धितोपत्र बजार जागरण कार्यक्रम गर्ने, सबैलाई सेयर बजार सम्बन्धी सक्षम बनाउने, ब्रोकरलाई पनि अझ सक्षम बनाउने लगानीकर्ताको सुरक्षाको लागि काम गर्ने भन्ने कुरा अध्यक्ष ज्यू बाट आएका छन् । लगानीकर्ताको सुरक्षा भनेको सेटलमेन्ट ग्यारेन्टी फण्ड नै हो ।
त्यो फण्डमा पनि पैसा राख्न स्टेक होल्डरको आम्दानी हुनुपर्यो । आय स्रोत नै घटाएर यस्ता कोष कसरी सञ्चालन हुन सक्छ ? यो भनेको ‘एकातिर हिड्न खोजेर तर बाटो अर्को समातेको’ जस्तो देखिन्छ ।
बोकर कमिशन स्टेक होल्डरहरुसँग अध्ययन तथा छलफल बिना नै घटाइयो भने उचित उपलब्धि हासिल हुँदैन । यी सबै विषयलाई ध्यानमा राखेर कमिशन घटाउन छलफल होला भन्ने लाग्छ ।
तर, कमिशन घटाउने ठाँउ भने हामीले देखेका छैनौं । ब्रोकर एसोसिएशनको अध्ययनले कमिशन घटाउने ठाँउ देखाउँदैन । बोर्डले गरेको अध्ययनले घटाउने ठाँउ देखिन्नु भएको भए हामीले केही भन्न सक्दैनौं ।
एकातिर ब्रोकरहरुको पुँजी पनि बढाउन पर्छ भनेको छ । नियामकले २ करोड रुपैयाँ भनेपनि औषतमा आज हरेक ब्रोकरको ‘इक्यिूटी इन्भेष्टमेन्ट’ १०/१२ करोड रुपैयाँको हाराहारीमा पुगिसकेको छ । त्यसमा रिटन पनि आउनु पर्यो । रिटन आएन भने पुँजी अर्को क्षेत्रमा पलायन हुन सक्छ ।
ब्रोकरहरुको खर्च अनुसार कमिशन थोरै छ । तर, नेपालमा ब्रोकरको कमिशन बढाउने आँट कसले गर्ला र ?तर, बजारमा तिव्र गतिको विकास चाहने, बजारलाई नयाँ/नयाँ प्रविधि भित्र्याउने, सबैलाई सक्षम बनाउने, लगानकिर्ता सचेतना व्यापक बनाउने हो भने अहिलेको कमिशनले धान्दैन ।
कारोबारको औजारहरु ल्याउने, ‘इन्ट्रा डे’ गराउने, सट सेलिङ/सेभिङ गराउने, सेक्युरिटी दिने, बरोइङ गराउने जस्ता सबै गराएर यही कारोबार औषतमै १०/१२ अर्ब रुपैयाँमा टिकाउन सकिन्छ भने ठिकै हो । तर त्यता तिर भने विगत १२ वर्षदेखि कुरामात्रै गरिरहने काम भने केही नगर्ने तर बजारले बढाएको/घटाएको कारोबार टुलुटुलु हेरे त्यसैको आधारमा ब्रोकर कमिशनको निर्णय गर्नु ठिक होइन ।
ब्रोकर कमिसनको विषयलाई जति हल्का रुपले उठाइन्छ, त्यो भन्दा धेरै विस्तृत रुपमा हेरेर निर्णय लिनु पर्छ ।
(स्टक ब्रोकर एसोसिएशन अफ नेपालको अध्यक्षमा सन्तोष मैनालीले सिंहदरबारसँग गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्