काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारका विज्ञ भन्दै बजारबारे जथाभावी बोल्नेहरुमाथि लगाम कस्ने भएको छ । विज्ञका नाममा बजारबारे जथाभावी बोल्नेहरुले बजारलाई अस्थिर बनाएको निष्कर्षसहित बोर्डले त्यस्ता विज्ञहरुलाई नियमनको दायरामा ल्याउने योजना अघि सारेको हो ।
नवनियुक्त बोर्ड अध्यक्ष रमेश कुमार हमालले सेयर बजारका विज्ञका रुपमा बजारबारे सार्वजनिक धारणा राख्ने र परामर्श दिनेहरुले अनिवार्य अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्न लागेको हुन् ।
सो व्यवस्था लागु भएमा सेयर बजार बढ्छ या घट्छ, कुन कम्पनीको अवस्था कस्तो र कुनमा लगानी गर्दा ठिक हुन्छ भनेर अन्य लगानीकर्तालाई सुझाव दिनेहरुले बोर्डबाट विज्ञताको प्रमाणपत्र लिनुपर्नेछ ।
अध्यक्ष हमालले सेयर बजारका विषयमा विज्ञता हासिल गरेका व्यक्तिले दिएको परामर्शले मात्र सही मार्गदर्शन हुने भन्दै आफ्नो कार्यकालमा त्यस्तो प्रकारका विज्ञता हासिल सम्बन्धी कार्यक्रम नै सञ्चालन गर्ने बताए ।
‘मेरो कार्यकारलमा पहिलो प्राथमिकता क्यापिटल मार्केट इन्स्टिच्युट शुरु गरेर मार्केट सर्टिफिकेसन प्रोगाम शुरु गछौं,’ अध्यक्ष हमालले भने, ‘ब्रोकर र ब्रोकर एजेन्ट बन्न कस्तो सर्टिफिकेसन चाहिन्छ, मर्चेन्ट बैंकको सिइओको सीएफओ बन्न कस्तो सर्टिफिकेसन चाहिन्छ ? मार्केटको इको सिस्टममा काम गर्ने सम्पुर्ण प्रोफेसनलहरुको सर्टिफीकेसन प्रोग्राम क्यापिटल मार्केट इन्स्टिीच्युटबाट दिन्छौं ।’
सेयर बजारमा आवद्ध भएर जुनसुकै काम गर्नका लागि पनि विज्ञता हासिल गरी प्रमाणपत्र लिएको हुनु पर्ने उनको भनाइ छ । क्यापिटल मार्केट इन्स्टिच्युटबाट यस्तो प्रकारका तालिमको खाका तयारी गरी सर्टिफिकेट वितरण गरिने पनि उनले जानकारी दिए ।
‘बाहिर तिर डक्टर, वकिल, इन्जिनियर, रियल सेक्टरको एजेन्ट लगायत बन्न सबै ठाँउमा सर्टिफिकेट खोज्छन्, सर्टिफिकेशन गरेपछि मात्र उनीहरुलाई त्यो काम गर्न दिइन्छ, यो भनेको लगानीकर्ताको हितको लागि हो । लगानीकर्ताको हित गर्छु भन्न सजिलो छ, तर कसरी गर्ने भन्ने टुल्स चाहिन्छ ।’
लगानीकर्ताहरुको हितका लागि सेयर बजार सम्बन्धी काम गर्ने एजेन्ट होस् या ब्रोकर सबैलाई सर्टिफिकेसन जरुरी हुने सो प्रोग्राम शुरु गर्न लागिएको उनको भनाइ छ ।
उनले बजारमा लगानीकर्ताको गुनासो व्यवस्थापन गर्न अटोमेसन सिस्टम बनाउने पनि बताए । यस्तै लगानीकर्ता संरक्षणको लागि सेटलमेन्ट ग्यारेन्टी फन्ड लगायतका कार्य अगाडी बढाउने उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्