Shikhar Insurance
National Life

गाउँ गाउँमा स्थानीय तहको चुनाव लाग्यो, मतदाता रिझाउन घरदैलोमा पार्टीहरु

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २०, शुक्रबार ११:५१
Hyundai
NCELL
NIMB

खोटाङ । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी अस्तित्वमा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रमुख प्रतिपक्षी दल एमालेले फागुन १७ गते सचिवालय बैठक बसेर चुनावी रणनीति तय गरेको छ । एमालेको चुनावी रणनीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा इन्चार्ज तथा सहइन्चार्जका साथै विभिन्न विभाग गठन गरेको छ । एमालेले विसं २०७४ मा भएको निर्वाचनमा पाँच स्थानीय तहमा जित हात पारेको थियो । गृहजिल्ला भएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा पहिलेको तुलनामा यो स्थानीय चुनावमा दुईवटा स्थानीय तहमा थप जित हात पार्ने दाबी गरे ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गत शनिबार एकैचोटि जिल्लाका १० वटै स्थानीय तहमा चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गरेको थियो । अभिमुखीकरण कार्यक्रमको अनुगमनमा जिल्ला तथा प्रदेशस्तरका नेता खटिएका थिए । जिल्ला सभापति विष्णुकुमार राई, पूर्वपर्यटनमन्त्री सर्वधन राई, पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठलगायत नेता निर्वाचनलाई लक्षित गरेर भूगोलमा खटिएका छन् । चुनावलक्षित पालिकास्तरीय कार्यक्रममा पालिकास्तरकै नेताहरू जुटेका छन् ।

अघिल्लो निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये चारवटामा कांग्रेसले जितेको थियो । अबको निर्वाचनमा थप पालिकामा जित हात पार्न कांग्रेस लागिपरेको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी तयारी थालेको छ । अघिल्लो निर्वाचनमा एउटा स्थानीय तहमा मात्र जित हात पारेको माओवादी केन्द्रका केन्द्रीय नेता गाउँ पसेका छन् ।

माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, दुर्गाजयन्ती राईलगायत नेता दौडधुपमा छन् । सबै स्थानीय तहको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी सङ्गठन निर्माण तथा चुनावी अभियानमा लागिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कार्कीले बताइन । माओवादी केन्द्रले जिल्लाका हरेक स्थानीय तहमा सङ्गठन विस्तारसँगै जनवर्गीय सङ्गठन पुनःगठन गरेको छ । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक स्थानीय तहमा १५० सदस्यीय वाइसीएल नेपालको पालिकास्तरीय समिति बनाइएको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुटेको केन्द्रीय सदस्य कुलप्रसाद फुँयालले बताए । आगामी चुनावमा आफ्नो पार्टी एक्लैले जित्न नसक्ने भएपछि अरू दलसँग मिलेर चुनाव लड्ने योजना रहेको पूर्व सांसदसमेत रहेका केन्द्रीय सदस्य फुँयालले बताए ।

एकीकृत समाजवादीले जिल्लाका १० मध्ये नौ स्थानीय तहमा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गरिरहेको छ । रावाबेँसी गाउँपालिकामा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गर्न बाँकी रहेको र उक्त स्थानीय तहमा चाँडै स्थापना गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष जलशेर राईले बताए ।

जनता समाजवादी पार्टी पनि सङ्गठन विस्तारमा जुटेको छ । देशमा चौथो दलको अस्तित्वमा रहेको जनता समाजवादी पार्टी जिल्लामा चुनावी तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्