काठमाडौं । लामो समयसम्म मर्जरको पाइपलाइनमा रहेको नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकको डिमर्जरको प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैंकले यी दुवै बैंकको संयुक्त मर्जर कमिटीलाई पत्र पठाएर मर्जरको ‘अपडेट’ माग गरी डिमर्जरको प्रक्रिया थालेको हो ।
हिमालयन र नेपाल इन्भेष्मेण्ट बैंकले गत वैशाख ३० गते आपसमा मर्जर गर्ने सहमति गरेर अनुमतिका लागि राष्ट्र बैंक पुगेका थिए ।
जसअनुसार राष्ट्र बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृत दिएको थियो । सैद्धान्तिक स्वीकृति पाएको ३ महिना भित्र एकीकृत कारोबारका लागि प्रक्रिया अघि बढाउनु पर्ने व्यवस्था छ । तर, यी बैंकले ६ महिना बित्तिसक्दा समेत आवश्यक प्रक्रिया पूरा गरेनन् ।
हिमालयन बैंकको वार्षिक साधारण सभाले इन्भेष्टमेण्ट बैंकसँग मर्जर हुने प्रस्ताव पारित नै नगरेपछि बहुप्रतिक्षित बिगमर्जर गत पुस ३० गते भाँडिएको थियो ।
कानुनतः कुनै पनि कम्पनीको वार्षिक साधारण सभामा उपस्थितिको ७५ प्रतिशतले सहमति नदिएसम्म पेश गरिएका प्रस्ताव पारित हुँदैनन् ।
हिमालयन बैंकको साधारण सभामा उपस्थित ४३ प्रतिशत लगानीकर्ताले मात्रै मर्जरका पक्षमा मतदान गरेका थिए । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कर्मचारी सञ्चय कोष, १२.७१ प्रतिशत सेयर स्वामित्व रहेको एन ट्रेडिङ र ८.८९ प्रतिशत सेयर स्वामित्व रहेको छायाँ इन्टरनेसनलका लगानीकर्ताले मर्जरको विपक्षमा मतदान गरेका थिए । बैंकका ठूला लगानीकर्ताहरुको विपक्षमा मतदान गरेर आवश्यक मत नपुगेपछि मर्जर स्वतः भाँडिएको थियो ।
बहुमतमा मर्जर भाँडिएको स्वःघोषणा गरिएको भएपनि कानुनतः मर्जर प्रक्रिया अघि नबढ्नुको कारण खुलाएर डिमर्जरको प्रक्रिया थाल्नुपर्ने हुन्छ । तर, डिमर्जको प्रक्रियाको औपचारिक जानकारी राष्ट्र बैंकमा भने संयुक्त मर्जर कमिटीले नबुझाएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।
सोही कारण मर्जरको ‘अपडेट’ माग्दै लिखित स्पष्टिकरण मागिएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।
‘साधारण सभामा के भयो ? वा के भएन ? राष्ट्र बैंकले हेर्दैन, हाम्रो लागि अझै पनि हिमालयन र इभेष्टमेण्ट बैंक मर्जरको प्रक्रियामा छन्,’ कार्यकारी निर्देशक ढकालले सिंहदबारलाई भने, ‘मर्जरको अपडेट पठाउन एक साता अघि दुबै बैंकका मर्जर कमिटीलाई पत्र पठाएका छौं ।’
संयुक्त मर्जर कमिटीले मर्जर प्रक्रिया ढिलो हुनु वा डिमर्जर गराउनु पर्ने कारण प्रष्ट्याएपछि आवश्यक प्रक्रिया सुरु हुने उनको भनाइ छ ।
‘डिमर्जर गराउनको लागि संयुक्त मर्जर कमिटीले आवेदन दिनु पर्छ, सोभन्दा अघि मर्जर प्रकृया पुरा गर्नु नसक्नुको कारण पेश गर्नु पर्ने हुन्छ,’ ढकालले थपे ।
यता, हिमालयन बैंकको ठूला लगानीकर्ता कर्मचारी सञ्चय कोषका निमित्त प्रसाशक तथा बैंकका सञ्चालक जितेन्द्र धिताल भने नियमसंगत डिमर्जरको प्रक्रिया अघि बढाउन छलफल चलिरहेको जानकारी दिए । उनका अनुसार संयुक्त मर्जर कमिटीले १ साता भित्रै लिखित स्पष्टीकरण सहित डिमर्जको आवेदन दिने बताए ।
प्रतिक्रिया दिनुहोस्