काठमाडौं । अब नोट जलाएर आगो ताप्न, सेकुवा पोलेर खान, खाना बनाउन पाइनुका साथै, उद्योग कलकारखानमा समेत इन्धनको रुपमा नोटलाई नै जलाउन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले पुराना नोटलाई बिक्रेटको रुप दिएर सोको प्रयोग बजारमा उल्लेखित प्रयोजनका लागि गराउने बनाएको हो ।
हालसम्म चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई राष्ट्र बैंकले परम्परागत तवरले भट्टीमा जलाएर नष्ट गरिरहेको थियो । यसरी नोट जलाएर खरानी बनाउँदा वातावरणलाई समेत नकारात्मक प्रभाव पर्ने भन्दै नोट जलन प्रक्रियालाई आधुनिकिकरण र यान्त्रिकरण गर्ने उद्देश्यले नेदरल्याण्डबाट नोट धुल्याउने मेसिन ल्याएको थियो ।
गत आर्थिक वर्षमै ल्याएको सो नोट धुल्याउने मेसिन बैंक नोट स्रेडिब एन्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) को शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । उनले शुक्रबार राष्ट्र बैंकको प्रादेशिक कार्यालय विराटनगरमा बीएसबीएस मेसिनको ‘स्विच अन’ गरेर औपचारिक शुभारम्भ गरेका हुन् ।
सोसँगै अब राष्ट्र बैंकले चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वःचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्दछ ।
नोटको बिक्रेट बनाउने बीएसबीएस मेसिनको शुभारम्भ गर्दै गभर्नर अधिकारीले बीएसबीएसमार्पmत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी दिए । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले जानकारी गराए ।
बजारमा चलनचल्तीका ब्रिकेट खुद्रामा प्रतिगोटा सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पाइन्छ । नोट धुल्याएर बनाइएको ब्रिकेटको प्रयोग सर्वसाधारणले समेत सोही मूल्य हाराहारीमा किनेर गर्न पाइने बताइएको छ । नोटबाट बनाइएको सो ब्रिकेटको राष्ट्र बैंकले प्रयोगमा पठाएसँगै हामी सर्वसाधारणले अर्बौं नोटबाट बनेको ब्रिकेट रुपैयाँमा खरिद गरिद गर्न सक्नेछौं । र, आवश्यकअनुसार आगो ताप्ने, सेकुवा पोल्ने लगायतकासामान्य घरायसी प्रयोजनदेखि ठूला कलकारखानामा समेत उपयोग गर्न सक्नेछौं ।
यसरी बनाइन्छ नोटको बिक्रेट
बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ ।
उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६.६ मि.मि. हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।
बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईंटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।
राष्ट्र बैंकको थापाथलीस्थित निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने योजना छ ।
बीएसबीएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसरी सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिब एण्ड ब्रिकेटिब सिस्टम (बीएसबीएस) वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राष्ट्र बैंकले राखेको छ ।
प्रतिक्रिया दिनुहोस्