खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । उक्त सडकखण्डको विभिन्न ठाउँमा अहिले सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान काटेर खानेपानी विस्तारको काम भइरहेको छ ।
ढलान गरिएको सडकमा पारिएको खाल्डाखुल्डीले सवारीसाधन तथा पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । ढलान गरेर सञ्चालनमा ल्याइएको दिक्तेल बजारको सडकमा प्रयोग गरिएका रड काटेर खानेपानी आयोजनाको काम गर्दा कतिपय ठाउँमा पैदलयात्रु तथा सवारीसाधन खाल्डोमा पर्दै आएका छन् ।
ढलान गर्दा बिच्छ्याइएको रड टुक्रा पार्दै खाल्डो बनाएर खानेपानी जडान गरेपछि पुनः ढलान गर्दा ठेकेदारले बिनारड गिट्टी, बालुवा र सिमेन्टमात्रै प्रयोग गरेकाले उक्त सडक जीर्ण बन्दै गएको हो । खानेपानी आयोजनाका कारण सडक जीर्ण बन्दै गएको विषयमा कसैको ध्यान नपुगेको नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले आरोप लगाए ।
“दिक्तेल बजारको सडक ढलान यसअघि नै गुणस्तरहीन थियो”, उनले भने, “अहिले निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका कारण सडक झन जीर्ण बनेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान नजाने हो भने ठूलो दुर्घटना हुने सम्भावना छ ।”
भत्काइएको सडक पुनः पुरानै अवस्थामा आउने गरी आयोजनाको काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । “पहिले पाइप विस्तार गर्दा जडान गरिएका केही ठाउँमा समस्या देखिएको छ”, उनले भने, “पुरानै अवस्थामा आउने गरी समस्याग्रस्त ठाउँमा काम गर्न ठेकेदार कम्पनीलाई भनिएको छ ।
नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभागको ५ करोडको लागतमा दिक्तेल बजारस्थित किराँत चोकबाट मानवअधिकार चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको थियो । क्रमागत योजनाअन्तर्गत मानवअधिकार चोकबाट हाटडाँडासम्मको बाँकी सडकमा अहिले ढलान भइरहेको छ ।
जिल्लाको सबैभन्दा ठूलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा सदरमुकामसमेत रहेको दिक्तेल बजारको धुलाम्मे सडक यसअघि पनि पटक–पटक ढलानको प्रयास गरिएको थियो । दिक्तेल बजारकै केही स्थानीयवासीको अवरोधका कारण विभिन्न निकायबाट यसअघि आएको करोडौँ रकम कामै नगरी फिर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्