काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय सहमतिको प्रयासमा रहेको बताएका छन् । बिहीबार बजेटको अर्द्धवार्षिक समीक्षाका क्रममा अर्थमन्त्री शर्माले सरकार राष्ट्रिय सहमतिको प्रयासमा रहेको स्पष्ट पारेका हुन् ।
सो क्रममा उनले प्रधानमन्त्री नै सहमतिको प्रयासमा लागेकाले निश्कर्ष निस्किन्छ कि भन्ने विश्वास आफूमा रहेको सुनाए ।
प्रस्तुत छ, एमसीसीबारे शर्माको भनाई जस्ताको तस्तैः
‘एमसीसी परियोजनाको हिसाबले ऊर्जा क्षेत्रमा कार्यान्वयन गर्ने भन्ने कुरा सबैलाई थाहा नै छ । तर, यो मुद्दा अलि बढी राजनीतिक हो । राजनीतिक दलहरुबीच छलफल भइरहेको छ ।
यसबारे एउटा निष्कर्श तिर लैजानुपर्छ भनेर राजनीतिक पार्टीहरुको बीचमा, दलहरुको बीचमा, राष्ट्रिय सहमतिमार्फत् रुपान्तरणका कुराहरु तिर नै अघि बढी रहेको छ । सरकारकै प्रयास त्यतातिर गइरहेको छ । सरकारकै प्रयास त्यतातिर गइरहेकाले मैले अर्थमन्त्रीको हिसाबले भन्नुपर्दा सरकारले गरिरहेको प्रयास, सम्मानीय प्रधानमन्त्रीले गरिरहेको प्रयास नै त्यतातिर गइरहेको हुनाले त्यो प्रयासबाट एउटा निश्कर्ष निस्किन्छ भन्ने एउटा विश्वासमा म छु । अहिले म अर्थमन्त्रीको हैसियतले मैले बुझेको र भन्नु पर्ने कुरा यही हो ।’
प्रतिक्रिया दिनुहोस्