काठमाडौं । विदेशी विनिमय सञ्चिति महिना दिनमै आधा खर्ब रुपैयाँले घटेको छ । चालु आवको मंसिर मसान्तसम्म १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ रहेको डलर सञ्चिति ४८ अर्ब २३ करोडले कम भइ पुस मसान्तसम्म ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ कायम भएको हो ।
असारको तुलनामा डलर सञ्चिति १६.७ प्रतिशतले कमी आएको हो । २०७८ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु.१३९९ अर्ब ३ करोड बराबरको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तको तुलनामा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । त्यसपछि मुलुकसँग औषधि आयात गर्ने पनि विदेशी मुद्रा हुने छैन ।
मंसिर मसान्तसम्म यस्तो पर्याप्तता ७.५ महिनाको थियो ।
रेमिट्यान्स निरन्तर घट्दा तथा व्यापार घाटा उच्च दरमा आकाशिँदा विदेशी मुद्रा सञ्चिति निरन्तर घटेको हो । नेपाल राष्ट्र बैंकले आयातमा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपनि विदेशी मुद्रा ढुकुटी ह्रास हुँदै गएको हो ।
विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु.४६८ अर्ब ४५ करोड कायम भएको छ । ा शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई रु.१०१५ अर्ब ५९ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५० अर्ब २१ करोड कायम भएको छ । २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।
२०७८ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ५४.८ प्रतिशत र २२.० प्रतिशत रहेका छन् ।
आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई रु.११८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो । ६ महिनामा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु.९९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो ।
६ महिनामा कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भई रु.८८० अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. ११० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ८३ अर्ब १ करोड बराबरको भएको थियो ।
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.८ प्रतिशत र ५२.२ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१.९ प्रतिशत, ०.६ प्रतिशत र ६७.५ प्रतिशत रहेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०७८ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क १०.५ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १२.३ प्रतिशतले बढेको छ । २०७७ पुस महिनामा ३.६ प्रतिशतले बढेको व्यापारको शर्त २०७८ पुस महिनामा १.६ प्रतिशतले घटेको छ ।
विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु.४६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १,६७,५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १,३०,२१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।
६ महिनामा चालु खाता रु.३५४ अर्ब ७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ ।
यसरी शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्